काठमाडौं। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गर्नुभएको छ ।
पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले यस्तो निर्णय गर्नुभएको हो ।
उहाँले राजदरबार हत्याकाण्डसम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढाइने बताउनु भयो ।
उहाँले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिससहित प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने समेत बताउनुभयो । गु
रुङले गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावट रोक्न सूक्ष्म अध्ययन गरी दोषीमाथि कारबाही सिफारिस गर्न सुरक्षा निकायमा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गर्ने घोषणा गर्नुभयो ।
उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप प्रभावकारी बनाउँदै, हाल प्रक्रियामा रहेका जघन्य अपराधका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउन निर्देशन समेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘जेनजी आन्दोलनसँग सम्बन्धीत घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानविन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने, २०५८ साल जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानविन अगाडि बढाउने, गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सुक्ष्म अध्ययन गरी कारबाही गर्न सुरक्षा निकायमा एसआईभिटी गठन गर्ने, नेपाल प्रहरीअन्तर्गत रहेको सिआईबीलाई थप प्रभावकारी बनाउने, हाल प्रक्रियामा रहेका जघन्य अपराधका सबै फाइलहरुलाई सिघ्र टुंगोमा पुर्याउन निर्देशन दिने, ब्यूरोमा रहेका आर्थिक, संगठित अपराध लगायतका मुद्दा अनुसन्धान गर्न मुद्दाको प्रकृति अनुरुप विशिष्टकृत समूह गठन गर्ने निर्णय गरेका छौँ ।’
मन्त्री गुरुङले कुनैपनि नागरिकमाथि चरित्रहत्या गर्ने किसिमको व्यवहारको समेत मन्त्रालयले गम्भीरताका साथ हेर्ने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल












