२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी



अ+ अ-

कास्की। पर्यटनको राजधानी पोखरा महानगरपालिका, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको भरतपुर महानगरपालिका र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धनको साझा उद्देश्यसहित ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा त्रिपक्षीय समझदारी भएको छ ।

पोखरामा आज आयोजित कार्यक्रममा देशका तीन प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यका बीचमा पर्यटन क्षेत्रको दिगो विकास, सांस्कृतिक संरक्षण तथा प्रवर्द्धन तथा राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा संयुक्त रूपमा प्रवर्द्धन गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

सो समझदारी–पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले हस्ताक्षर गर्नुभएको छ ।

समझदारीअनुसार तीन वटै स्थानीय तहले संयुक्त रूपमा पर्यटन ब्रान्डिङ, एकीकृत पर्यटन प्याकेज विकास, वार्षिक ट्राभल मार्ट आयोजना तथा अन्तरप्रदेशीय पर्यटन ‘कनेक्टिभिटी’ विस्तारमा सहकार्य गर्ने उल्लेख छ । यसैगरी तीनै गन्तव्यलाई समेट्ने गरी एकीकृत पर्यटन प्याकेज विकास गर्ने विषयसमेत समेटिएको छ ।

समझदारीअनुसार प्रत्येक वर्ष पालैपालो रूपमा ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला (ट्राभल मार्ट)’ आयोजना गर्ने, आवश्यकताअनुसार व्यवसायदेखि–व्यवसाय (बीटूबी) तथा सरकारदेखि–सरकार (जीटूजी) बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने विषय समेटिएको छ ।

प्रत्येक महानगर तथा नगरपालिकाले आफ्नो वार्षिक नीति कार्यक्रम तथा बजेटमा सिल्भर ट्रयाङ्गलको प्रवर्द्धन र विकासलाई समावेश गर्ने, सिल्भर ट्रयाङ्गल सहकार्यको नेतृत्व प्रत्येक वर्ष पालैपालो प्रणालीमा तीनै स्थानीय तहले गर्ने उल्लेख छ ।

यसैगरी तीनै गन्तव्यको प्रचारका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गर्ने तथा प्रत्येक सहरमा अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजना पनि रहेको छ ।

पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग संयुक्त समन्वय गर्ने विषय पनि समावेश गरिएको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले समझदारीबाट तीन वटै पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकासमा सहयोग पुग्ने बताउनुभयो ।

“पोखरा, भरतुपर र लुम्बिनी देशका प्रमुख पर्यटकीय गन्तव्य हुन् । यी गन्तव्यहरूलाई एउटै पर्यटन सर्किटमा जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र पर्यटकको बसाइ अवधि  बढाउने उद्देश्यले यो अवधारणा अघि सारिएको हो”, आचार्यले भन्नुभयो । रासस