
भोजपुर । अधिकांश स्थानीय सरकारसँग सडक, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारमा बजेट खर्चिन जनताको माग छ । तर, भोजपुर नगरपालिकाका जनताले भने यी सबै सुविधा नदिए पनि बाँदर भने धपाइदिन जनप्रतिनिधिसँग अनुरोध गरेका छन् ।
स्थानीयको माग सम्बोधन गर्दै नगरपालिकाले चालू आर्थिक वर्षका लागि बाँदरआतंक नियन्त्रण गर्ने शीर्षकमा ५० लाख विनियोजन गरेको छ । ‘बाँदरले सतायो भन्दै धेरै जनता आउनुहुन्छ । सडक, खानेपानी बरु चाहिएन, बाँदर धपाइदिनुपर्यो भन्नुहुन्छ । बाँदरले भातको भाँडो नै बोकेर हिँडेको गुनासोसमेत आएको छ । जनता बसाइँ सर्न थालेका छन्,’ मेयर कैलाशकुमार आलेले भने, ‘जनताको माग सम्बोधन गर्नु हाम्रो कर्तव्य हो । त्यसैले बाली संरक्षण शीर्षकमा यस वर्ष ५० लाख विनियोजन गरेका छौँ । किसानलाई अनुदान दिनुभन्दा अहिलेलाई बाली संरक्षण गर्नुपर्ने आवश्यकता देखियो ।’
हालै सम्पन्न नगरसभामा वडाका जनप्रतिनिधिले समेत बाँदर समस्यालाई प्रमुखताका साथ उठाएको आलेले जानकारी दिए । उनले भदौबाट बाँदरखोर ९पासो० बनाएर बाँदर समात्ने अभियान सुरु गर्ने बताए । ‘बाँदर समातेर राष्ट्रिय निकुञ्जमा लगेर छोड्ने योजना बनाएका छौँ । त्यसका लागि निकुञ्जसँग स्वीकृतिको पहल भइरहेको छ,’ उनले भने, ‘कानुनअनुसार बाँदर मार्न मिल्दैन । त्यसैले समातेर निकुञ्जमा छोड्नुको विकल्प रहेन ।’
बाली जोगाउन दैनिक १३ घन्टा बारीमै
भोजपुर नगरपालिका–४ का मानबहादुर खड्काको बिहान ६ बजेदेखि साँझ ७ बजेसम्मको वास बारीमै हुन्छ । जेठ पहिलो सातादेखि उनको यो रुटिन चलिरहेको छ । बारीमा उनको काम हुन्छ, बाँदर लखेट्ने ।
उनी मात्रै होइन, भोजपुर नगरपालिका ३ र ४ का पाँचवटा गाउँका बासिन्दा मकै जोगाउन दिनभर बाँदर गोठालो बन्नुपरेको छ । तैपनि बाँदरले सताउन नछाडेपछि कतिपयका बारी खाली बनेका छन् । ‘केही समय गोठालो गरियो । तर, सकिएन र छोड्यौँ,’ स्थानीय नवराज कार्कीले भने, ‘कोदो रोप्दा पनि उखेलेर सिध्यायो ।’
यी गाउँमा पाँच-सात वर्षअघिसम्म बाँदरको समस्या थिएन । अहिले भने आतंक नै मच्चाएको छ । मकै मात्र होइन धान, अलैँची, सुन्तलालगायत खाद्य तथा नगदेबाली सखाप पारेपछि किसान चिन्तित बनेका छन् ।
‘मकै जोगाउन सकिएन, धानको गुभा च्यात्न थालिसक्यो, अलैँचीको कोपिला सखाप बनायो,’ स्थानीय मचीन्द्रबहादुर बस्नेतले गुनासो गरे, ‘आगामी वर्षदेखि मकै नरोप्ने निष्कर्षमा पुगेको छु । यही अवस्था रहे बसाइँ हिँड्नुपर्ने अवस्था छ ।’
बाँदरले बारीमा मात्रै सताएको छैन, घरघरै पसेर अन्न खाइदिएको छ । नगरपालिकाका १२ वटा वडामध्ये ११ वटामा बाँदरआतंक छ । ७ नम्बर वडामा मात्रै बाँदरले दुःख नदिएको मेयर कैलाशकुमार आलेले बताए ।
घाँससमेत बाँकी नराखेपछि ट्याम्के–मैयुङमा मारियो चार सय बाँदर
भोजपुर नगरपालिकाको छिमेकी गाउँपालिका ट्याम्के–मैयुङमा बाँदरका कारण बसाइँसराइ बढेपछि बाँदर मार्ने अभियान नै सञ्चालन गरिएको छ । ‘खाद्यबाली, नगदेबालीदेखि गाईवस्तुलाई खुवाउने घाँससमेत सखाप पारेपछि बाँदर मार्ने अभियान चलाएका छौँ,’ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले भने ।
उनका अनुसार एक वर्षयता बाँदरघर ९पासो०मा पारेर मार्ने अभियान चलाइएको छ । हालसम्म करिब चार सय बाँदर मारिएको राईको दाबी छ । ‘कानुनले बाँदर मार्न दिँदैन । तर, पाइँदैन भनेर जनताको दुःख टुलुटुलु हेर बस्न सकिएन । जनताको अग्रसरतामा अभियान चलाइएको हो,’ उनले भने, ‘खोरमा हालेर र भरुवा बन्दुक प्रयोग गरेर बाँदर मार्ने गरेका छौँ ।’
केही महिनाअघि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिको बैठकमा समेत बाँदर मारिएको विषय उठेको थियो । तर, अध्यक्ष राईले ‘देश रहे जनता रहने र जनता रहे जनप्रतिनिधि’ भन्दै कानुनअनुसार कारबाही भोग्न तयार रहेको, अभियान भने नरोकिने बताएका थिए । ‘हो, मैले सबैका अगाडि कानुनअनुसार पक्रन, कारबाही गर्न भनेको हुँ । जनताको उठीवास लागिसक्यो, म अभियान रोक्दिनँ पनि भनेको हुँ,’ उनले भने । बाँदर नियन्त्रणका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा एक लाख बजेट विनियोजन गरेको थियो । अबको दुई वर्षभित्र बाँदर उन्मूलन गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले बताए । समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












