
काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं भ्यु टावर निर्माणको ठेक्का पाएको निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालसहित चारजनाविरुद्ध हुन्डी कारोबार (विदेशी मुद्रा अपचलन) गरेको आरोपमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले भेटवालसहित राजकुमार विष्ट, शिव विष्ट र निशा गुरुङविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
हुन्डी गरी विदेशी विनिमय अपलचन गरेको अभियोगमा उनीहरूविरुद्ध विभागले चार करोड ६० लाख ४२ हजार रुपैयाँ बिगो दाबी गरेको छ । विभागले प्रतिवादी कायम गरेको गुरुङले भेटवालसँगको मिलेमतोमा सिंगापुरबाट आफन्त, साथी तथा अन्य व्यक्तिसँग मिलेर भ्यु टावरमा लगानी गर्ने नाममा रकम संकलन गरेकी थिइन् । त्यस्तो रकम विष्टद्वयको सहयोगमा भेटवालसँग मिलोमतो गरी प्रयोग तथा विभिन्न व्यक्तिलाई वितरण गरेको विभागको दाबी छ ।
गुरुङसमेत सञ्चालक रहेकी अभिताभ मल्टिप्रपोज प्रालिलगायत फर्मले कुनै कारोबार नगरेको देखाएर आन्तरिक राजस्व कार्यालयमा शून्य विवरण पेस गरेको थियो । तर, ती फर्महरूको बैंक खातामा व्यावसायिक आम्दानी भनी ठूलो मात्रामा नगद बारम्बार जम्मा गर्ने र निकाल्ने गरेको विभागको अनुसन्धानले देखाएको छ । विभागले गुरुङ संलग्न संस्थामा कार्यरत राजकुमार विष्टको साथबाट बरामद भएको रकम र चेक तथा भौचरबाट यसको भेउ पाएको थियो । विष्टबाट बरामद गरेको विभिन्न व्यक्तिको नामका खातामा जम्मा गरेको भौचरमा उल्लेख भएको रकमको स्रोत नखुलेको विभागले जनाएको छ ।
सिंगापुरमा रकम संकलन गरी विनाइजाजत गैरकानुनी बाटोबाट उक्त रकम भेटवालमार्फत भ्यु टावरमा लगानी गरेको तथा रकम विभिन्न व्यक्तिलाई वितरण गरेको विभागको दाबी छ ।
आरोपीबाट बरामद गरेको २६ लाख १५ हजार नेपाली रुपैयाँ, तीन थान चेकमा उल्लेखित ३४ लाख रुपैयाँ र प्रहरीले पेस गरेको एक सय चार थान विभिन्न बैंकका भौचरमा उल्लेख गरिएको चार करोड २७ हजार रुपैयाँसहित विभागले प्रतिवादीविरुद्ध चार करोड ६० लाख रुपैयाँ बिगो कायम गरेको हो ।
प्रतिवादीविरुद्ध विभागले विदेशी विनिमय ९नियमन गर्ने० ऐन, २०१९ बमोजिम बिगोको तीन गुणा सजाय, तीन वर्ष कैद सजाय र बरामद दशीसमेत जफत गर्न मागदाबी गरेको छ ।
ठेक्का लिएको काम छाडेर हुन्डी
भेटवाल सञ्चालक रहेको जलेश्वर स्वच्छन्द बिकोईले ०७२ मा भ्यु टावरको जिम्मा लिए पनि हालसम्म एक प्रतिशत पनि काम सम्पन्न गर्न सकेको छैन । काठमाडौं महानगरपालिकाले उक्त कम्पनीसँग पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी २२ चैत ०७१ मा २९ तलाको भ्यु टावरका लागि सम्झौता गरेको थियो । तर, अनेकौँ विवादबीच उक्त भ्यु टावर निर्माण अनिश्चित छ ।
त्यही कम्पनीले केही समयअघि खुलामञ्चमा अवैध सटर बनाई भाडामा दिने योजना बनाएको थियो । तर, चौतर्फी विरोधपछि काठमाडौं महानगरले सटर भत्काइदिएको थियो । निर्माण कम्पनीका सञ्चालकमाथि नै मुद्दा दायर भएपछि काठमाडौं भ्यु टावर अनिश्चित भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












