
तानसेन । तत्कालीन माओवादी आक्रमणबाट क्षतिग्रस्त बनेको पाल्पा दरबार अतिक्रमणको चपेटामा परेको छ। सरकारी तथा संस्थानका कार्यालय खडा हुँदै जाँदा दरबारको अस्तित्व नै संकटमा परेको हो। ऐतिहासिक पाल्पा दरबार पर्यटनको मुख्य आकर्षण हो। यसलाई पुरानै हालतमा फर्काउन स्थानीयले माग गरेका छन्।
राणा प्रताम शमशेरले विस १९८१ मा पाल्पा दरबारको निर्माण गर्दा पेरिफेरीमा भगवती मन्दिरबाहेक कुनै संरचना थिएन। २०१५ सालसम्म पनि यस्तै अवस्था थियो। त्यसपछि भने फाटफुट संरचना थपिन थाले। अहिले पाल्पा दरबार संग्रहालयको रुपमा सञ्चालनमा आएको छ। संग्रहालयको अस्तित्व नै समाप्त हुनेगरी अन्य किसिमका संरचना निर्माणको कारण दरबारको क्षेत्र खुम्चिँदै गएको छ।
पाल्पाका राजनितिक दल, जनप्रतिनिधि, बुद्धिजिवी, सरोकारवाला निकाय, नागरिक अगुवाहरुले दरबारलाई पुरानै अवस्थामा फर्काउनु पर्ने माग गरेका छन्। अहिले दरबार क्षेत्र साघुरिँदै एउटा भवनमा मात्र सिमित भएको छ। भवनको उत्तरतर्फ जिल्ला समन्वय समितिको कार्यालय, बाल संघठन, मातपोत कार्यालयका कर्मचारी निवास, नेपाली सेनाको जग्गा रहेको छ।
भवनको पश्चिमतर्फ नेपाल विधुत् प्राधिकरण, नेपाल टेलिकमको कार्यालय छ। दरबारको दक्षिणतर्फ जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनको भवन रहेको छ। हाल दरबारको उत्तरतिर राष्ट्रिय अनुसन्धान कार्यालयको स्थायी भवन निर्माण सुरु भएको छ। अध्ययन बिना नै पुरातात्विक मापदण्ड विपरित अन्धाधुन्ध रुपमा अर्को सरकारी निकायका भवनहरु बन्दै गएकोले स्थानीयले दरबारको अस्तित्व बचाउन माग गरेका हुन्।
पाल्पा दरबार २०६२ साल माओवादी आक्रमणमा जलेर पूर्ण रुपमा नष्ट भयो। जलेको दरबार पुनर्निर्माण हुँदै हाल पाल्पा दरबार संग्रहालयको रुपमा सञ्चालनमा आएको छ। पाल्पा दरबार संग्रहालय हाल प्रदेश सरकार मातहतमा सञ्चालित छ। दरबार परिसरमा अन्धाधुन्ध रुपमा पक्की संरचनाका भवन निर्माणको क्रम बढ्दै गएपछि दरबारको जग्गामा कुनै पनि नयाँ संरचना बनाउन नदिन सरोकारवालाले प्रशासनसँग अनुरोध गरेका छन्।
‘दरबार परिसरमा छिरेर बस्दा आनन्द महशुस हुन्थ्यो, सुन्दर बगैंचा, स्वच्छ वातावरण, मन्दिरको आनन्द थियो तर आज नाम मात्रको दरबार भएको छ’ स्थानीय संस्कृतिविद् निर्मल श्रेष्ठले भने, ‘अहिले भवनले भरिएको छ, दरबारको अवेशष खोज्नुपर्ने स्थिति आएको छ।’ प्रदेश सांसदहरु डा।पुरनमान बज्राचार्य, वसन्त घर्ती, वीरबहादुर रानाले प्रदेश ५ को एकमात्र संग्रहालय भन्ने तर जथाभावी रुपमा स्थायी संरचना निर्माण गर्ने, सवारी साधन पार्किङ्ग स्थल बनाउने, विभिन्न निर्माण सामग्री संग्रह स्थल बनाउँदै लगिएकोमा चिन्ता व्यक्त गरे।
स्थाीय प्रकृतिका संरचनाको अन्य स्थानमा व्यवस्थापन गर्दै दबारलाई पुरानै अवस्था फर्काउन प्रदेश तहबाट गर्नुपर्ने काममा सक्रिय रहने प्रदेश सांसदले प्रतिबद्धता जनाए। जिल्लास्तरका राजनीतिक दलका नेता जनप्रतिनिधि, व्यवसायी सबैले दरबारलाई पुरानै अवस्थामा फर्काउनुपर्ने धारणा व्यक्त गरेका छन्। प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले कर्मचारीहरुले सरकारको निति नियम र कानुन कार्यान्वयन गर्ने भएकोले सोही अनुसारको काममा क्रियाशिल हुने बताए।
दरबार संग्रहालय तानसेन नगरपालिकाको संरक्षणमा रहने गरी सञ्चालनमा आएको छ। हाल संग्रहालयमा मगरी, नेवारी तथा नेपाल अंग्रेज युद्धमा नेपाली सेनालाई घिउ तताएर खुवाएको कराई, तथा विभिन्न पुराना सामग्री राखिएको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।












