
काठमाडौं । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत पत्रे खोलामा पक्की पुल निर्माणको काम ठेकेदारको लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र छ । १८ महिनामा निर्माण हुनुपर्ने पक्की पुल पाँच वर्ष बितिसक्दा पनि पिलर मात्र खडा भएको छ । ४० मिटर लम्बाइको पुल १८ महिनामा निर्माण सम्पन्न गर्न शंकरमाली निर्माण सेवासँग डिभिजन सडक कार्यालय घोराहीले ११ भदौ ०७१ मा सम्झौता गरेको थियो ।
समय थपियो, काम भएन
सम्झौता मितिमा पनि पुल निर्माणको काम हुन नसकेपछि निर्माण पक्षको मागअनुसार कार्यालयले एक वर्षका लागि ९ भदौ ०७४ सम्म समय थप गरेको थियो । थपेको समय गुज्रिएको पनि लामो समय भइसक्दासमेत पुल निर्माणको कामले गति लिएको छैन । निर्माण कम्पनीको चरम लापरबाहीका कारण पाँच वर्षमा दुईवटा पिलर आधा भाग मात्र उठाउने काम भएको छ ।
निर्माण कार्यमा ढिलाइ भएपछि डिभिजन सडक कार्यालयले छिटो काम सक्न निर्देशन दिए पनि उसले अटेर गर्दै आएको छ । निर्माण पक्षले पाँच वर्षमा करिब ४० प्रतिशतजति काम गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी लीलाबहादुर भण्डारीले बताए । ‘पुल निर्माणमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको छ,’ सूचना अधिकारी भण्डारीले भने, ‘निर्माण पक्षको लापरबाहीका कारण १८ महिनामा बन्नुपर्ने पुल पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।’
ठेकेदार सम्पर्कविहीन
सुरुमा नाकाबन्दी र पुलको डिजाइन परिवर्तनको कारण देखाउँदै निर्माणमा ढिलाइ गरेको निर्माण पक्ष एक वर्षदेखि सम्पर्कविहीन बनेको छ । ‘पुल निर्माणमा ढिलाइ हुनुको कारण सोध्दै कार्यालयले दशपटकभन्दा बढी ठेकेदार कम्पनीलाई पत्र काटेको छ,’ भण्डारीले भने, ‘तर, निर्माण पक्ष सम्पर्कमा आएको छैन ।’
३५ लाख जरिवाना
पुल निर्माणमा ढिलाइ गरेपछि गत आर्थिक वर्षमा कार्यालयले निर्माणलाई ३५ लाख हर्जना तिराएको थियो । तर, त्यति गर्दा पनि निर्माण कम्पनीले काम गरेको छैन । निर्माण पक्षले पुलको काम लामो समयदेखि नगरेको र गर्नलाई अग्रसरतासमेत नदेखाएपछि कार्यालय ठेक्का सम्झौता तोड्ने पक्षमा पुगेको छ । ‘अहिलेको ठेकेदारबाट पुल निर्माणको काम हुने सम्भावना छैन,’ भण्डारीले भने, ‘त्यसैले यो वर्ष सम्झौता तोडेर नयाँ पुल निर्माणको काम अघि बढाउने योजनामा छौँ ।’ ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामा जान समस्या रहे पनि कार्यालय बाध्यात्मक अवस्थामा पुगेकोसमेत उनले बताएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












