२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को नतिजा : कसैको आएन जीपीए ४



अ+ अ-

काठमाडौँ । कक्षा १२ अर्थात् विद्यालय तहको अन्तिम परीक्षामा सर्वोत्कृष्ट जीपीए ४.०० कसैको पनि आउन सकेन । ३ हजार ६७ जना विद्यार्थीले उच्च तह ३.६१ देखि माथिको जीपीए ल्याएका छन् ।

उच्च तहको अंक ल्याउने समूहअन्तर्गत ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या शून्य रहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

कक्षा १२ को वैशाखमा सञ्चालित परीक्षाको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार गत वर्षमा जस्तै यसपालि मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या सबभन्दा बढी छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी थिए । गतवर्ष कक्षा ११ को परीक्षामा एक विद्यार्थीले मात्र उत्कृष्ट ४.०० जीपीए ल्याएका थिए ।

कक्षा १२ मा उच्च जीपीए (३.६१–४.००) ल्याउने विद्यार्थीको संख्या भने अघिल्लो वर्षको तुलनामा बढेको छ । अघिल्लो वर्ष नियमिततर्फका २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थीले परीक्षा दिएकामा उक्त समूहको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १ हजार १ सय ६९ जना मात्र थियो ।

यस पटक ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ छ । ३१ हजार ६२ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना छन् । यो मध्यमस्तरको जीपीए हो । १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १.२१ देखि १.६० प्राप्त गर्नेको संख्या १९ हजार ५ सय ८५ छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबभन्दा कमस्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना छन् । बोर्डले ९ वटा समूहमा ग्रेडअनुसार नतिजा सार्वजनिक गरेको हो ।

४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य रहे पनि समग्रमा नतिजा सुधारोन्मुख रहेको परीक्षा नियन्त्रक शर्माले दाबी गरे । ‘गत वर्ष पनि कक्षा १२ मा ४ जीपीए ल्याउने विद्यार्थी थिएनन्,’ उनले भने । कम जीपीएबाट माथिल्लो जीपीए ल्याउने परीक्षार्थीको संख्या उच्च रहेको उनको भनाइ छ । गत वर्ष पनि मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या नै अधिक थियो ।

ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ जना विद्यार्थीले परीक्षा लेखेका थिए । उनीहरूले केही विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिएकाले नतिजामा तथ्यांक समावेश गरिएको छैन । आंशिकतर्फ ४१ दशमलव ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ५७ हजार १ सय ७० परीक्षार्थीले आंशिकतर्फ परीक्षा दिएकामा २३ हजार ९ सय १५ जना उत्तीर्ण भएका हुन् ।

अघिल्लो वर्ष आंशिकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका थिए । साधारण धारतर्फका सबै संकाय विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, संस्कृत र प्राविधिक धारतर्फको नतिजा एकैसाथ प्रकाशित गरिएको हो । ‘यस वर्षको नतिजा केही सुधारोन्मुख देखिएको छ, उल्लेख्य सुधार भने हुन सकेको छैन,’ अर्यालले भने, ‘तुलनात्मक समीक्षा गर्न बाँकी नै छ ।’

मुलुकभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा परीक्षा भएको थियो । मनाङ जिल्लाबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट सबैभन्दा बढी एक लाख ३४ हजार एक सय १५ जनाले परीक्षा दिएका थिए । परीक्षा सकिएको ७५ औं दिनमा बोर्डले सबै विषय र संकायको परीक्षाफल एकै दिन प्रकाशित गरेको हो । विगतमा संकायअनुसार छुट्टाछुट्टै दिन परीक्षाफल प्रकाशित गरिन्थ्यो । २०७५ सालको परीक्षाको नतिजा ८१ दिनमा सार्वजनिक गरिएको थियो । बोर्डले २०७४ देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्दै आएको छ ।

सोमबारको नतिजाअनुसार ग्रेडवृद्धि परीक्षा दिन पाउने मापदण्ड र समयतालिका छिट्टै टुंगो लगाएर सार्वजनिक गरिने बोर्डले जनाएको छ । नियमिततर्फ ३३, ग्रेडवृद्धितर्फ ९ र आंशिकका १२ गरी कुल ५४ परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक फेरिए
एसर्ईईको ग्रेडवृद्धिरपूरक परीक्षा आउन २१ दिन बाँकी रहेका बेला परीक्षा नियन्त्रक फेरबदल गरिएको छ । परीक्षा नियन्त्रक सहसचिव विष्णुप्रसाद अधिकारीलाई शिक्षा मन्त्रालय तानेर उपसचिव रामराजा खकुरेललाई जिम्मेवारी दिइएको हो ।

बोर्डअन्तर्गत परीक्षा नियन्त्रक कार्यालय कक्षा १० ले एसईईको व्यवस्थापन गर्दै आएको छ । बोर्डकै कक्षा ११ र १२ को परीक्षा हेर्न उपसचिवस्तरका कृष्ण शर्मा जिम्मेवारीमा छन् । एसईई परीक्षाका लागि भने सहसचिवस्तरका कर्मचारी खटाएको भन्दै अधिकारीलगायत शिक्षा सेवाका कर्मचारी असन्तुष्ट थिए ।

नियन्त्रक अधिकारीले त्यही विषयमा असन्तुष्टि राख्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलसामु आफूलाई जिम्मेवारीबाट मुक्त गर्न आग्रह गरेका थिए । मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले अधिकारीलाई मन्त्रालय डाकेर शिक्षक सेवा आयोगमा कार्यरत खकुरेललाई जिम्मेवारी दिन बोर्डलाई आग्रह गरिएको जानकारी दिए ।

साविकको उच्च माध्यमिक शिक्षा परिषद्लाई बोर्ड बनाएर परीक्षा नियन्त्रण कार्यालयलाई समेत गाभिएको थियो । परिषद् र कार्यालयका कर्मचारीबीच तालमेल नमिल्दा बेलाबेला विवाद हुँदै आएको छ । भदौ १ गतेदेखि एसईईको ग्रेडवृद्धिरपूरक परीक्षा हुँदै छ । यस पटक ‘सी वा सी’ भन्दा कम ग्रेड प्राप्त गरेका जति पनि विषयमा पूरक परीक्षा दिने व्यवस्था गरिएको छ । यसअघि ‘सी वा सी’ भन्दा थोरै ग्रेड ल्याएका दुई विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिने प्रावधान थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै