२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भत्केपाटी-नगरकोट सडकखण्डमा गुणस्तरहीन काम



अ+ अ-

काठमाडौं । भक्तपुरको भत्केपाटी–नगरकोट (१५.६६ किमि) सडकखण्डमा गुणस्तरहीन काम गरेको पाइएको छ । संसद्को विकास तथा प्रविधि समितिले आइतबार सडकको अनुगमन गर्दै सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको निष्कर्ष निकालेको हो । समितिकी सभापति कल्याणीकुमारी खड्काले ठेकेदारले लापरबाही गरेको र आयोजनाले समेत पूर्वतयारी नगरी ठेक्का लगाएको पाइएको बताइन् ।

दुई वर्षमा काम सक्ने जिम्मा लिएको निर्माण कम्पनीले ६ वर्षमा पनि काम नसकेपछि चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गत २० जेठमा आवश्यक छानबिन गरी निर्माण कम्पनीलाई कारबाही गर्न माग गर्दै विकास समितिमा उजुरी गरेका थिए । ‘सडक निर्माणमा ठेकेदारले लापरबाही गरेकोबारे मन्त्रालय र मन्त्रिपरिषद्मा कुरा पुर्याएँ, तर सुनुवाइ भएन, अन्तिमपटक विकास समिति गुहारेको हुँ,’ उनले भने ।

नगर प्रमुखको उजुरीपछि समितिका सभापति खड्का र सदस्य सांसदहरू समेत गरी १४ जनाको टोलीले सडकको अनुगमन गरेको हो । टोलीमा सांसदहरू रामबहादुर विष्ट, जिपछिरिङ लामा, राजेन्द्र राई, यज्ञराज सुनुवार, टेकबहादुर बस्नेत, रंगमती शाही, गणेश पहाडी, आशा विक, मीनाक्षी झा, इन्दु शर्मा, कमला रोका, टेकबहादुर बस्नेत र भक्तपुरका सांसद महेश बस्नेतसमेत सहभागी थिए । भत्केपाटीबाट सडकको निरीक्षण गर्दै अघि बढेको टोलीले नगरकोट पुगेर स्थानीयवासी, निर्माण व्यवसायी र स्थानीय प्रशासनसँग त्रिपक्षीय छलफलसमेत गरेको थियो ।

सडक कालोपत्रे गर्न ढिलाइ हुँदा पानी पर्नासाथ सडक हिलाम्मे हुन्छ । घाम लाग्नासाथ फेरि धुलाम्मे बन्छ । आइतबार विकास समितिको टोलीले धुलो उडाउँदै सडक अनुगमन गरेको थियो । धुलो र हिलोले यहाँका बासिन्दालाई सधैँ सास्ती रहेको छ । पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक नबन्दा यहाँ आउने विदेशी पर्यटकले समेत दुःख पाइरहेका छन् ।

अझै बीचसडकमै छन् दर्जनौँ बिजुलीका पोल
विकास समितिले ३० महिनासम्म पनि सडक निर्माणको पूर्वतयारी नगरेको बताए पनि सडकका विभिन्न खण्डमा अझै बिजुलीका पोल बीच सडकमै राखिएका छन् । खरिपाटी खण्डमा भर्खरै कालोपत्रे गरिएको सडकमै बिजुलीका पोल छन् । पोल हटाउन समन्वय गरे पनि प्राधिकरणले अटेरी गरेका कारण समस्या भएको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । ‘हामीले हटाउन भनेका हौँ, तर विद्युत् प्राधिकरणले सुनेन, पछि हटाउन मिल्ने भनेपछि यत्तिकै कालोपत्रे गरिएको हो,’ उनले भने । कालोपत्रे नगरिएका ठाउँमा समेत बिजुलीका पोल सडकको बीचमै रहेका छन् ।

कार्यतालिका बुझाए म्याद थप हुन्छ : आयोजना प्रमुख
ठेकेदार कम्पनीले चौथोपटक एक वर्षका लागि म्याद थप गर्न आग्रह गर्दै आएको छ । तर, स्पष्ट आधार नदेखाएका कारण पुनः म्याद थप भएको छैन । आइतबार विकास समितिसँगको छलफलमा सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘हामी एक महिनाभित्र म्याद थप दिन्छौँ, पहिलेको भुक्तानी हुन बाँकी बजेट पनि दिन्छौँ, तर निर्माण कम्पनीले एक वर्षभित्र काम सम्पन्न गर्ने विस्तृत विवरण उपलब्ध गराउनुपर्छ ।’

एक्जिम बैंक भारतको ऋण सहयोगमा सरकारले सडक सुधार आयोजनाअन्तर्गत भक्तपुर–नगरकोट–सिपाघाट (३६ किमि) सडक निर्माणको योजना ०७० सालमा अघि सारेको थियो । तर, बजेट अपुग हुने भएपछि तत्काललाई कमलविनायकको भत्केपाटीदेखि नगरकोटसम्मको (१५.६६ किमि) सडक चौडा विस्तार गरी कालोपत्रे गर्न ठेक्का लगाएको थियो ।

आयोजनाले ०७१ असार २ (१६ जुन, ०१४) मा दुई वर्षभित्र काम सक्ने गरी भारतीय कम्पनी एआइपिएल र शैलुङ कन्स्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेको थियो । तर, भारतीय कम्पनीको समेत प्रतिनिधित्व गर्दै शैलुङले एक्लै काम गर्दै आएको छ । आयोजना र निर्माण कम्पनीबीच भएको दुईवर्षे सम्झौताको म्याद ०७३ असार ३ गते (जुन १७, ०१६) नै सकियो । त्यसयता निर्माण कम्पनीले नाकाबन्दी, भूकम्पलगायत कारण देखाउँदै पटक–पटक म्याद थप गराएको छ । कम्पनीले तीनपटकसम्म थप भएको म्याद गुज्रिँदासम्म पनि बल्ल ५५ प्रतिशत मात्रै काम गरेको छ ।

कालोपत्रे गुणस्तरहीन
सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले खबरदारी गरेपछि निर्माण कम्पनीले भत्केपाटीदेखि खरिपाटी क्षेत्रको करिब आठ सय मिटर सडक गत वैशाख अन्तिम साता कालोपत्रे गरेको थियो । तर, कालोपत्रे भएको तीन महिना पूरा नहुँदै कालोपत्रे उक्किन थालेको छ । विकास समितिका सांसदहरूले कालोपत्रे गुणस्तरहीन भएको भन्दै स्थलगत रूपमै आयोजनाको ध्यानाकर्षण गराएका छन् । कालोपत्रे निरीक्षणपछि सभापति खड्काले भनिन्, ‘अहिल्यै कालोपत्रे उक्किन थालेको छ, अब यसले कति थाम्छ ? यसको गुणस्तर पूरा गर्नुस् ।’

निर्माण कम्पनीले सडकको ड्रेन र मेसिनरी वालसमेत गुणस्तरहीन सामग्रीको प्रयोग गरी बनाएको सांसदहरूले बताएका छन् । तेलकोट खण्डमा करिब एक किमिसम्म पनि डेनको पानी बग्ने कल्भर्ट नबनाइँदा डेन भरिएर पानी सडकमै बग्ने र घरतिर पस्ने गरेको स्थानीय दिनेश लामिछानेले बताएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।