२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोराछोरी सहर र विदेशमा एक्लिँदै आमाबाबु !



अ+ अ-

काठमाडौँ । हरेक वर्ष आमाबाबुको मुख हेर्ने दिन धेरैको सामाजिक सञ्जालमा आमाबाबुको फोटो टाँसिएका भए पनि अचेल आमाबाबु भने एक्लिँदै गएका छन् । खास गरी बुढ्यौली लागेपछि बाबुआमा एक्लोपन, बेवास्ता, हिंसा र दुव्र्यवहारको सिकार हुनु परेको विभिन्न अध्ययनले देखाएको छ ।

रामेछाप बेथानकी माइली तामाङ (७९) का नाति नातिनीसहित छ सन्तान छन् तर उहाँ भने गाउँमा एक्लै बस्नुहुन्छ । छोरा बुहारी, नाति नातिनी सबै काठमाडौँ बस्छन् । वर्षको दुई चार दिनका लागि घर आएर फर्कन्छन् उहाँहरू ।

वर्षभरि एक्लै बस्ने उहाँका लागि कहिलेकाहीँ बिसन्चो हुँदा पानी खुवाउने साथी पनि कोही छैन । “छोरा बुहारी कामबाट फुर्सद पाउँदैनन्, नाति नातिनी पढाइबाट”, उहाँ भन्नुहुन्छ । रामेछापबाटै टेलिफोनमा उहाँले भन्नुभयो, “एक्लै पकाउने खाने गर्दै काल कुर्दै छु । काम गर्न नसकेपछि कति कोदो मकै फल्ने बारीहरू बाँझै छन् । ” यसरी छोराछोरी गाउँ छाडी सहर र विदेश जाँदा गाउँमा अचेल ज्येष्ठ नागरिक मात्र बाँकी रहेको उहाँले दुःखेसो पोख्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगले गएको चैतमा देशभरिका ज्येष्ठ नागरिक आश्रमको अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्यो । त्यस प्रतिवेदनमा एक दिवा सेवा केन्द्रमा भेटिएकी ज्येष्ठ नागरिकको गुनासोलाई यसरी लेखिएको छ, “घरको कुरा बाहिर भने इज्जत जान्छ । पति छउन्जेल दुःख थिएन, पीर थिएन, खान लाउन समस्या थिएन । गाउँमा परिवारको इज्जत पनि छ । छोरा बुहारी दुवै काममा जान्छन्, नाति नातिनी स्कुल । घरमा भए नि मसँग कोही बोल्दैनन्, सबै आआफ्नै धुनमा । मेरोजस्तै अवस्था छिमेकी दिदीको पनि छ । हामी घरमा खाना खाएर दिवा सेवा केन्द्र आउँछौँ । दिदी बहिनी कोठाको कुनामा बसेर दिनभरि रुन्छौँ, मनको बह पोख्छौँ । आँसु बगेपछि मन हलुका हुन्छ, घर फर्कन्छौँ । ”
एक्लिनुका कारण
ज्येष्ठ नागरिकहरू एक्लिँदै जानुलाई सामाजिक रूपान्तरणको प्रभावको रूपमा व्याख्या गर्नुहुन्छ, समाजशास्त्री सुनिता राई । श्रमशक्तिको विश्वव्यापी प्रवाहका कारण युवकहरू सहर र विदेश जान्छन् । सहर र विदेश पसेकाका पत्नीहरू पनि बालबच्चालाई राम्रो शिक्षा दिने नाममा सहर झर्छन् । त्यसपछि गाउँमै एक्लिने गरेका छन् ज्येष्ठ नागरिक । सहरमा भने अधिकांश मध्यमवर्ग घरबाहिर जागिर र व्यवसाय गर्छन् । घरमा हुँदा पनि टीभी, मोबाइल, सामाजिक सञ्जालमा झुन्डिरहने कारण ज्येष्ठ नागरिक मात्र हैन सबै नै एक्लिने प्रवृत्ति बढिरहेको समाजशास्त्री राई बताउनुहुन्छ । आफ्नो अनुसन्धानमा छोराछोरी शिक्षा र कामका लागि विदेशिने प्रवृत्तिका कारण पनि बाबुआमा एक्लिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको अध्ययनमा घरमा बेवास्ता, आत्मसम्मानमा चोट पुग्ने व्यवहार, दुव्र्यवहार भएपछि ज्येष्ठ नागरिकहरूले आश्रम रोज्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनका क्रममा ज्येष्ठ नागरिकले आफ्नो भावना छोराछोरीले नबुझेको, वृद्धभत्ता खोसेको, सरसफाइ नगरिदिएको जस्ता कारणले वृद्धाश्रम आउनु परेको बताएको आयोगकी मानवअधिकार अधिकृत रञ्जिता शाहले बताउनुभयो । कतिपयका आफ्नै सन्तानले नै आश्रममा छोडेर जाने गरेका छन् ।

नैतिक शिक्षा दिइनुपर्ने
पछिल्लो पुस्ताका छोराछोरीमा आमाबुवाप्रति माया र सम्मान जनाउने संस्कारमा कमी आएको अनुभव राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठको छ । अहिलेका बालबालिका अधिकांश समय शैक्षिक संस्था र साथीभाइसँग बिताउँछन् । विद्यालय शिक्षामा नैतिक शिक्षा विषयको पठनपाठन भने इतिहासमा सीमित भएको छ ।
यसकारण बालबालिकामा आमाबाबु, बाजेबज्यैलाई कसरी सम्मान गर्ने भने सिक्न नसकेको तर्क उहाँको छ । विद्यालय शिक्षामा नैतिक शिक्षा विषयलाई समावेश गरिनुपर्नेमा उहाँ जोड दिँदै श्रेष्ठ भन्नुहुन्छ, “आजका बालबालिका भोलिका आमाबाबु हुन्, त्यसैले उनीहरूलाई पनि आमाबाबुको सम्मान कसरी गर्ने भन्ने सिकाइराखे उनीहरूले अर्को पुस्तालाई सिकाउँछन् । ’’

दिवा सेवा केन्द्रमा रमाउँदै
कीर्तिपुर पाँगामा रहेको दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकहरू एक्लोपन मेटाउने थलो भएको छ । दिवा सेवामा भेटिनुभएका ८४ वर्षीय धर्म महर्जन राम्रोसँग कान सुन्नुहुन्न । त्यसकारण घरमा उहाँसँग कुरा गर्न झिँझो मान्ने गरेको उहाँले सुनाउनुभयो । ज्येष्ठ नागरिक सेवा केन्द्रमा आएपछि भने आफ्नै उमेरका साथीहरू जम्मा भएर मज्जाले गफ गर्नुहुन्छ । “यहाँ रमाइलो हुन थालेपछि धेरै वर्ष बाँच्न आँट आउँछ”, उहाँले प्रफुल्ल हुँदै भन्नुभयो । हरेक दिन १२ बजेदेखि ४ बजेसम्म उहाँजस्तै ५०–६० जना ज्येष्ठ नागरिक भेला भएर आपसमा गफ गर्ने, भजन गाउने, योग गर्ने गर्छन् । कीर्तिपुरकै यो पहिलो सेवा केन्द्र पाँगाका महिलाले चार वर्षअघि स्थापना गरेका थिए ।

समुदायकै सहयोगमा स्थापना भएको सेवा केन्द्रले महिनाको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र धार्मिक क्षेत्र भ्रमण पनि गराउँदै आएको केन्द्रका सचिव हरिदेवी महर्जनले बताउनुभयो । मन्त्रालय र स्थानीय तहहरूले समेत यस्ता सेवा केन्द्रलाई प्रवद्र्धन गर्न थालेपछि अहिले धेरै ठाउँमा यस्ता सेवा केन्द्र खुलेका छन् । सहरी क्षेत्रमा ज्येष्ठ नागरिकको एक्लोपन हटाउन सबै टोलमा यस्ता सेवा केन्द्र सरकारले नै खोलिदिनुपर्ने महर्जन बताउनुहुन्छ ।

सरकारको नीति र कार्यक्रम
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दिवा सेवा सञ्चालन, ज्येष्ठ नागरिकको ज्ञान सीपलाई अन्तरपुस्ता हस्तान्तरण गर्ने कार्यक्रम स्थानीयस्तरमा सञ्चालन गर्न अनुदान दिने गरेको मन्त्रालयका ज्येष्ठ नागरिक शाखा प्रमुख इन्दिरा श्रेष्ठले जानकारी दिनुभयो ।
मन्त्रालयमार्फत नै सातवटै प्रदेशमा ज्येष्ठ नागरिक ग्राम बनाउने काम भइरहेको छ । यस वर्ष दुई सयवटा स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने योजना रहेको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा छलफलमा छ । मुलुकी देवानी संहिता, २०७४ को दफा १२२ मा प्रत्येक छोराछोरीले आमाबाबुलाई आदर, सम्मान र हेरचाह गर्नुपर्ने व्यवस्था छ ।
ज्येष्ठ नागरिकको हकलाई नेपालको संविधानले पनि मौलिक हक (धारा ४१) को रूपमा व्यवस्था गरी ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसङ्ख्याको ८.१३ प्रतिशत अर्थात् २१ लाख ५४ हजार ज्येष्ठ नागरिक छन् ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै