२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षले गरे सचिवसँग बिहे



अ+ अ-

नेपालगन्ज । नेपालगन्ज उपमहानगर–२० स्थित बालविवाहविरुद्ध वडास्तरीय क्लबका अध्यक्ष गोविन्द विकले संस्थाकी सचिव गीता थापासँग विवाह गरे । दुवैको उमेर १७ वर्ष छ । भिनाजुको घरमा बस्दै आएकी गीता क्याम्पस जाने भन्दै गोविन्दसँग भागिन् । अहिले उनीहरू गाउँ छाडेर बसाइँ सरेका छन् ।

गोविन्द कक्षा १० र गीता उच्च माविमा अध्ययनरत थिए । जिल्लास्तरीय किशोरी क्लबकी अध्यक्ष बबिता खत्रीले पद सम्हालेको एक साता नबित्दै बिहे गरिन् । उनी १८ वर्षकी छन् ।

गत वैशाखमा बैजनाथ गाउँपालिका–६ की १५ वर्षीया जानकी पुन र १६ वर्षीय हीराबहादुर पुनले भागी विवाह गरे । कक्षा ९ मा अध्ययनरत जानकी किशोरी क्लबमा बसेर बालविवाहविरुद्ध जनचेतना फैलाउँदै आएकी थिइन् । तीन दिनपछि उनीहरूलाई प्रहरीको रोहबरमा परिवारको जिम्मा लगाइयो । गत असारमा बैजनाथ–३ की १५ वर्षीया बालिकाले आफूखुसी बिहे गरिन् । त्यसको १५ दिनपछि घरमा किचलो सुरु भयो । बालविवाहविरोधी अभियन्ताले घरै पुगेर छुटाए । ती बालिका पनि बाल क्लबमा सक्रिय थिइन् ।

बैजनाथ–१ की गीता बुढा १५ वर्षकी भइन् । उनी ८ कक्षामा पढिरहेकी छन् । त्यहीँका धनबहादुर शाही १९ वर्षका भए । दुवैले भागेर विवाह गरे । शाही वैदेशिक रोजगारीमा गएपछि परिवारले गीतालाई फर्काएर ल्यायो । बैजनाथ–६ मा सँगै एसईई परीक्षा दिएको एक जोडीले बिहेको तयारी गरेको थियो ।

मितिसमेत छिनिइसकेको अवस्थामा गाउँका सामाजिक अभियन्ताले थाहा पाए । उनीहरूले १६ वर्षीया ती किशोर–किशोरीको बिहे रोक्न प्रहरीलाई खबर गरे । प्रहरीले तत्काल बिहे नगर्ने सर्तमा उनीहरूलाई घर फिर्ता पठायो । बैजनाथ–१ चिसापानीकी १८ वर्षीया सुशीला बुढाले गत चैतमाविवाह गरिन् ।

अभिभावक सचेत भए पनि उमेर नपुग्दै बालबालिकाले भागेर बिहे गर्न थालेको बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले बताए । ‘क्लबमा सक्रिय बालबालिका र किशोर–किशोरी भाग्ने गरेका छन्,’ उनले भने, ‘जसलाई जे नगर भनेर सिकायो, त्यही काम गर्दा नराम्रो सन्देश गएको छ ।’

आफूखुसी बिहे गरेर गएकालाई छुटाउन मुस्किल हुने गरेको सरोकारवालाको अनुभव छ । ‘कानुनको सहारा लियो मर्ने र मार्ने धम्की दिन्छन्,’ सामाजिक अभियन्ता नेत्रकला शाहीले भनिन्, ‘बालविवाह रोक्न चुनौती छ ।’ उनका अनुसार १६ वर्षमुनिको विवाह रोक्न अभिभावकले साथ दिने गरेका छन् । ‘तर १६ वर्षभन्दा माथिको बालविवाहलाई अभिभावक रोक्न चाहँदैनन्,’ उनले भनिन् ।

अभियानमा लागेका बालबालिकाहरू प्रेममा परेर विवाह गरेको बताउँछन् । बालविवाहविरुद्ध लागेकी गीता थापाले चिनेको व्यक्तिसँग विवाह गरेकी हुन् । बिहे भएपछि श्रीमान् विदेश हिँडेका छन् । उनीचाहिँ माइतीमा बसेर पढिरहेकी छन् । ‘प्रेम भएपछि आफ्नै मर्जीले बिहे भएको हो, पछुतो छैन,’ उनले भनिन्, ‘उमेर पुगेर गरेको भए अझै राम्रो हुन्थ्यो, बुवाआमा दुःखी हुँदा नरमाइलो लाग्छ ।’ उनले २० वर्ष उमेर पूरा भएपछि केटाको घर गएर बस्ने योजना सुनाइन् । आफूले विवाह गरे पनि अरूलाई उमेर पुग्दै विवाह नगर्नसुझाव दिइन् ।

‘कसैले पनि सानो उमेरमा विवाह नगर्नुस् भन्न चाहन्छु । अब एकचोटि विवाह भएपछि छोड्न पनि सकिन्न,’ उनले भनिन्, ‘उनैसँग घरबार गर्छु । उमेर हेरेर प्रेम गरिएन अब भइसकेपछि छोड्न सकिएन ।’

एउटै वडाका धेरै बालबालिकाले बिहे गरेपछि चुनौती थपिएको बैजनाथ–१ का वडाध्यक्ष रूपबहादुर मल्लले बताए । ‘आर्थिक रूपमा विपन्न परिवारका र पढाइमा कमजोर विद्यार्थी भाग्ने गरेका छन्,’ उनले भने । वडा कार्यालयले वडा बाल क्लब सञ्जाल र मानवअधिकार तथा बालविकास मञ्चसँगको सहकार्यमा बालविवाह न्यूनीकरणका लागि विद्यालयस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । बालविवाहविरुद्ध अभियानमा लागेकाहरू आफैं बालविवाह गर्न थालेपछि चुनौती बढेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।