२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० लाख कुम्ल्याउन युवती प्रयोग गरेपछि…



अ+ अ-

काठमाडौं । व्यापारीलाई प्रेमजाल (हनी ट्रयाप) मा पारेर ४० लाख रुपैयाँ फिरौती माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको नयाँदिल्ली बस्दै आएकी युवती प्रयोग गरेर बिर्तामोडका एक व्यापारीलाई बन्धक बनाई फिरौती माग गरिएको थियो । ५ साउनभित्र रकम दिने सर्तमा छुटेका व्यापारी प्रहरीकहाँ पुगेपछि फिरौती माग्नेहरू फन्दामा परेका हुन् । प्रहरीले व्यापारीको नाम गोप्य राखेको छ ।

‘पीडित व्यापारी हामीलाई भेट्न त आए, तर निकैबेरसम्म केही बताउनै सकेनन्,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले भने, ‘आउनेबित्तिकै उनले पानी मागेर पिए । निकै आत्तिएका थिए । हामीले डेढ घन्टासम्म काउन्सिलिङ गरेपछि मात्र उनले कुरा खोले ।’ पक्राउ परेका सबैलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ का मेराज खान र सुजन विक, इलाम फाकफोकथुम गाउँपालिका–१ की रितु फियाक लिम्बू र भारतको किसनगञ्ज घर भएका प्रकाश दास छन् । खान बिर्तामोडको भद्रपुर रोडस्थित मामा–भान्जा ग्यारेजका सञ्चालक हुन् । दास सोही ग्यारेजका कामदार हुन् । विकले भारतको दार्जिलिङबाट सञ्जु क्षेत्री नामबाट आधार कार्डसमेत बनाएका छन् । उनीहरूको साथबाट प्रहरीले बा।१५च ७३३९ नम्बरको कार, लागुऔषध स्कुफ तीन सय एमएल, प्रोप्रानोल १५ चक्की, नाइट्रोसन ६ चक्की र कालो प्लास्टिकको पेस्तोलजस्तो देखिने एउटा वस्तु बरामद गरेको छ ।

नक्कली फेसबुक आइडी खोली प्रेमको नाटक
घटनामा प्रयोग भएकी रितु फियाकले यही अपराधका लागि आफ्नो नाम परिवर्तन गरेर जया खान नामको फेसबुक आइडी बनाइन् । भारतको दिल्लीमा बस्दै आएकी उनलाई व्यापारी फसाउनकै लागि सुजन विकले बिर्तामोड बोलाए । सुजन र रितु प्रेमी–प्रेमिका हुन् । दिल्लीबाट बागडोग्रा हुँदै झापा प्रवेश गरेकी रितुले दिदीको घरमा बसेर व्यापारीसँग सम्पर्क बढाइन् ।

रितुलाई सुजनले नै व्यापारीको मोबाइल नम्बर दिएर योजना सुनाए । रितुले व्यापारीसँग निरन्तर चार दिनसम्म भिडियो तथा फोनमा कुराकानी गरिन् । भिडियो कलमा अनुहार देखेपछि व्यापारी उनीसँग भेट्न सहमत भए । रितुले सुजनकै निर्देशनमा व्यापारीलाई एउटा घरको कोठामा लगिन् । घरको चौथो तलामा रहेको फ्ल्याट पक्राउ परेकामध्येका प्रकाश दासले पाँच महिनादेखि भाडामा लिएका थिए । कोठामा कुनै पनि सरसामान छैन ।

रितु र व्यापारी कोठामा भएका वेला सुजन मुखमा मास्क लगाएर हातमा छुरी लिएर पुगे । व्यापारीले आफूले चिनेको मेराज खानलाई बोलाए । रितुलाई सुजनको निर्देशनमा प्रकाश दासले चारपानेस्थित दिदीको घरमा स्कुटरमा छाडिदिए । त्यसपछि तीनजनाले व्यापारीलाई ५० लाख रुपैयाँ मागे । बार्गेनिङ हुँदा ४० लाख रुपैयाँ ५ साउनमा दिने सहमति भएपछि व्यापारी छुटे । रितुले जया खान नामको फेसबुक आइडी बनाएको एक साता मात्र भएको थियो ।

जनही १७ वर्षसम्म कैद सजाय हुन सक्ने
प्रहरीले उनीहरूलाई अपहरण तथा शरीर बन्धक बनाई आर्थिक लाभ उद्योग र लागुऔषधसम्बन्धी मुद्दा चलाएको छ । उनीहरूलाई जनही १७ वर्षसम्म कैद र एक लाख ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ । व्यापारीलाई धम्की दिँदा प्रयोग भएका मोबाइल नम्बर, कल डिटेल विश्लेषण, फेसबुक, इमोलगायत सामाजिक सञ्जालबाट प्राप्त सूचना, प्रतिवादीहरूबीचको लिंक अध्ययन, प्रतिवादीमध्येका मेराज खानको निगरानीलगायत विधि प्रयोग गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

यस्तो छ घटना विवरण
प्रहरीका अनुसार बिर्तामोडमा व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायीलाई जया खान नाम बताउने २० वर्षीया युवतीले गत २८ असारदेखि फोन र इमोबाट नियमित सम्पर्क गर्न थाल्छिन् । साउनको पहिलो दिन व्यापारीलाई भेट्न बोलाइन् । साँझ साढे सात बजे युवती र व्यापारी कुमारी बैंक छेउमा भेट्छन् । युवतीले व्यापारीलाई साथीको कोठामा जाऔँ भन्दै बैंक छेउको गल्ली हुँदै एउटा घरको माथिल्लो तलाको कोठामा लग्छिन् ।

उनीहरू कोठामा रहेका वेला राति १० बजे केही अपरिचित व्यक्ति हतियारसहित पस्छन् । उनीहरूले व्यापारीलाई कपडा खोल्न लगाएर भिडियो खिच्छन् । युवतीसँग नांगै भेटिएको भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाइदिने धम्की दिँदै ४० लाख रुपैयाँ फिरौती माग्छन् । फिरौती रकमका लागि व्यापारीलाई उनीहरूले ५ साउनसम्मको म्याद दिँदै रकम नदिए ज्यान मार्नेसम्मको धम्की दिन्छन् ।

उनीहरूले युवतीलाई भने छाडिदिन्छन् । व्यापारीलाई मेराज खानको रोहबरमा पाँच साउनसम्ममा पैसा लिने गरी मुक्त गरिन्छ । व्यापारी र मेराज खानबीच पहिलेदेखि नै चिनजान थियो । व्यापारी मुक्त भएकै दिनदेखि उनीहरूले विभिन्न मोबाइल नम्बरबाट फोन गरी पैसा नदिए ज्यान मार्ने धम्की दिन्छन् ।

पीडित व्यापारीले तीन साउनमा इलाका प्रहरी कार्यालयमा लिखित उजुरी दिएपछि विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले पाँच साउनमा चारआलीबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका चारैजनालाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेश मैनालीले बताएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।