२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा सयौ जनालाई कारवाही गरिने



अ+ अ-

काठमाडौं । एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १ सय ५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ । समितिले गत असार ३ मा १ सय २८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो । गत सोमबार सोलुखुम्बू, रौतहट र दैलेख जिल्लाका २३ जनाविरुद्ध पनि कारवाही गरेको विज्ञप्ति जारी गरेको छ । चुनावमा बागी उम्मेदवार, उनीहरूको प्रस्तावक र सर्मथकविरुद्ध कारवाही गर्न जोड गरिएको छ ।

कांग्रेसमा आन्तरिक अनुशासन नाजुक रहेको टीकाटिप्पणी भइरहँदा समितिले पछिल्लो समय कारवाही तीव्र पारेको हो । स्थानीय तहको निर्वाचनलगत्तै सभापति शेरबहादुर देउवाले पार्टीभित्रबाटै चुनावमा व्यापक असहयोग भएको भन्दै रमेश रिजालको नेतृत्वमा अनुशासन समिति गठन गरेका थिए । समितिले प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि उजुरी संकलन गरे पनि कारवाही प्रक्रिया नथाल्दै रिजालले राजीनामा दिएका थिए ।

त्यसपछि गएको चैतमा कांग्रेस केन्द्रीय समितिले भीष्मराज आङदेम्बेको संयोजकत्वमा अनुशासन समिति पुनर्गठन गरेको थियो । आङदेम्बेले आएका उजुरीको अध्ययनपश्चात् स्पष्टीकरण सोधिएको र त्यसपछि मात्र कारवाही प्रक्रिया थालिएको बताए । ‘हामीले त्यत्तिकै कारवाही गर्ने निर्णय गरेका छैनौं’, उनले भने, ‘एक चरणको स्पष्टीकरणपछि मात्र पार्टीको अभिलेखबाट अहिले नाम हटाउन हामीले निर्देशन दिन थालेका हौं ।’

समितिले यतिबेला निष्काशनभन्दा पनि नाम किटान गरेर उनीहरूको अभिलेख पार्टीबाट हटाउन निर्देशन दिएको छ । आङदेम्बे नेतृत्वमा समिति गठन गर्दा पार्टीभित्र असन्तुष्टिका स्वर उर्लिएका थिए । सभापति शेरबहादुर देउवाविरोधी पक्षले अनुशासनको आडमा सभापतिले विरोधी नेतालाई पेल्न सक्ने अनुमान गरेका थिए । त्यसपछि सभापति देउवा र देउवाविरोधी नेताबीच समितिका निर्णय सर्वसम्मत तरिकाले गर्ने सहमति गरी समिति गठन गरिएको थियो ।

तर असार ३ मा एकैचोटी समितिले सयभन्दा धेरै नेता कार्यकर्ताविरुद्ध कारवाही गर्ने निर्णय गर्दा समिति सदस्य उमाकान्त चौधरीले आफूलाई कुनै जानकारी नदिएर निर्णय गरेको आरोप लगाएका थिए । सभापति विरोधी पक्षका चौधरीले केन्द्रीय समिति बैठकको निर्णयविपरीत संयोजक आङदेम्बेले निर्णय गरेको आरोप लगाएका थिए । समितिले गएको सोमबार पनि २३ जनाविरुद्ध गरेको कारवाहीको निर्णय समितिका कतिपय सदस्यलाई थाहै नभएको उनले बताए ।

समिति सदस्य हृदयराम थानीले आफू सुर्खेतमा रहेको बताए । ‘समितिले के निर्णय गरेको छ त्यो थाहा भएन’, उनले भने, ‘यद्यपी समितिमा संयोजकले यस्ता निर्णय गर्न पाउनु हुन्छ भनेर हामीले भनेका थियौं ।’ गएको चैतसम्म मिति नै तोकेर ७७ वटै जिल्लाबाट समितिले उजुरी संकलन गरेको थियो । चुनावलगायत पार्टीका अन्य विषयमा अनुशासन अनुगमन गर्ने जिम्मा पाएको समितिले १२ सयभन्दा बढी उजुरी संकलन गरेको जनाएको थियो ।

समितिले त्यसपछि उजुरी अध्ययन गरेर स्पष्टीकरण सोधेको थियो । समितिका कामबारे कांग्रेसभित्र फेरि पक्ष र विपक्षमा टीकाटिप्पणी हुन थालेका छन् । समितिले कांग्रेसको पहिलो चरणको जागरण अभियान अनुगमन गर्ने निर्णय र पार्टी नेतृत्वबारे अनावश्यक टीकाटिप्पणी नगर्न निर्देशन दिएपछि सभापतिविरोधी पक्षले सार्वजनिक तवरमै विरोध गरेको थियो । अहिले कांग्रेसले बनाउन लागेको पार्टी नियमावलीको सन्दर्भमा समेत यो मुद्दा उठेको छ । सभापतिविरोधी पक्षले आचारसंहिता र अनुशासनको दायरा देखाएर पार्टीभित्र स्वतन्त्र बहसको परम्परा कमजोर बनाउन नहुने माग गरेको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै