
काठमाडौं । आईसीसी टी–२० विश्वक्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ ।
आफ्नो पहिलो खेलमा नेपालले कमजोर आँकिएको कतारसँग ४ विकेटको अप्रत्यासित हार व्यहोरेको हो । छनौटमा वरियाताको आधारमा नेपाल सबैभन्दा बलियो टोली हो ।
नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो ।कतारलाई जीत दिलाउन इनमाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए भने कमरान खानले २२ रन बनाए ।त्यस्तै, नोउमान सरवारले नटआउट रहँदै १५ रन बनाएर टोलीलाई लक्ष्यसम्म पुर्याए ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो ।
नेपालका लागि ओपनरद्वय कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले उत्कृष्ट शुरुवात दिलाए पनि मध्यक्रम चल्न नसक्दा सस्तोमै समेटिएको थियो ।
ओपनिङमा आएका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरे पनि उनीहरु दुवै आउट भएपछि नेपालको ब्याटिङ धरासायी बन्यो । नेपालले केवल १२२ रनको स्कोर बनाएर कतारलाई १ सय २३ रनको सामान्य चुनौति पेश गर्यो ।
कप्तान र उपकप्तानले ५.६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । पारसले १७ बलमा २८ रन बनाएर आउट भए भने ज्ञानेन्द्रले २४ बलमा २३ रन जोडे । उनीहरु आउट भएपछि दिपेन्द्र सिंह ऐरीबाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । तेस्रो नम्बरमा आएका शरद भेषावकर १३ बलमा ७ रन बनाएर आउट भए भने सोमपाल कामी ११, बिनोद भण्डारी ३, करण केसी ४, सन्दिप लामिछाने ९ र अविनाश बोहरा शून्य रनमा आउट भएका थिए ।अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कतारका लागि इकबार हुसेनले २ तथा नुमान सरवार र तमुर सज्जादले २–२ विकेट लिए ।












