
काठमाडौं । एकता प्रक्रियाको काम टुंगो लगाउने विषयमा छलफल गर्न पूर्व माओवादी नेताहरूको बैठक बसिरहेको छ। आइतबार बिहान ७ बजेदेखि खुमलटारिस्थत प्रचण्ड निवसमा बैठक बसिरहेको एक नेकपा (पूर्व माओवादी) नेताले जानकारी दिएका छन्।
आइतबार दिउँसो १ बजे नेकपाको सचिवालय बैठक बस्नुअघि अनौपचारिक छलफल गर्न बैठक बसेको ती नेताले जनाएका छन् । एकता प्रक्रियामा टुंगो लगाउनु पर्ने जिल्ला इन्चार्जहरु, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चलगायतका विषयमा आजै सचिवालयले टुंगो लगाउने तयारी छ।
३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको छ। पूर्व माओवादीले पाएको भागवण्डामा छलफल गरी नाम तय गर्न बैठक बस्न लागेको ती नेताले बताए ।
पूर्व एमालेतर्फकाले बिहीबार साँझ, शुक्रबार र शनिबार आफ्नो पूर्ववत समूहमा छलफल गरेका थिए । पूर्व एमालेले पाएको संगठन विभागमा वामदेव गौतम, विदेशमा माधव नेपाल र नीति अध्ययनमा झलनाथ खनाललाई लैजाने सहमति भएको छ।
पूर्व माओवादीले पाएको अर्थ, प्रचारलगायत विभागका लागि नामको टुंगो यसै खुमलटारको छलफल लगाउने तयारी छ।
स्कुलिङ विभाग कसले लिने भन्नेमा भने विवाद जारी छ । ओलीले इश्वर पोखरेललाई र प्रचण्डले नारायणकाजी श्रेष्ठलाई अगाडी सारेका छन् । कुरा मिलिसकेको छैन ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्काशित छ ।












