२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !



अ+ अ-

दैलेख । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ। तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ। वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ।

कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो। गत असार १० गते ती दम्पतीलाई गाउँपालिकाले मृत्यु दर्ताको प्रमाणपत्र थमाएको थियो। लेखपढ नगरेका खत्री दम्पतीले उक्त प्रमाणपत्र के को हो भन्ने पत्ता पाएनन्। तर जब आफ्नै मृत्युदर्ताको प्रमाणपत्र भएको थाहा पाए, तब उनीहरू छाँगाबाट खसेजस्तै भए।

खत्री परिवार केही महिनाअघि बर्दिया बसाइँ सरेको थियो। बसाइ सराइँको प्रमाणपत्र नलिएका कारण उनीहरु वृद्धभत्ता बुझ्न दैलेख पुगेका थिए। गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले मृत्युदर्ताको प्रमाणपत्रमा रुजु गरेका छन्। तर उनको अन्यत्रै सरुवा भइसकेको छ। ‘गत मंसिरमा हाम्रो परिवार बसाइँ सरी बाँसगढी आएको थियो,’ पीडितकी छोरी नानकला अधिकारीले भनिन्, ‘वृद्धभत्ता मिलाइदिन भनेर बाआमाले गाउँपालिकामा कागजात पेस गर्नुभएको थियो। तर बाआमा वृद्धभत्ता बुझ्न जाँदा त गाउँपालिकाले उल्टै दुवै जनाको मृत्यु भएको प्रमाणपत्र पो थमायो।’

सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीको व्यक्तिगत विवरणमा २०७६ वैशाख १० गते मनिराम र २०७५ चैत २५ गते ज्योतिकलाको मृत्यु भइसकेको उल्लेख छ। ‘एकातिर जिउँदै भएका व्यक्तिलाई मरेको भनेर पीडा दिइएको छ, अर्कोतिर गाउँपालिकाले वृद्धवृद्धाको जिउने अधिकारमाथि हस्तक्षेप गरेको छ,’ अधिकारीले भनिन्। पीडित परिवारका अनुसार गाउँमा रहेका खत्री दम्पतीका छोरा रेशम खत्रीलाई बुबाआमाको मृत्यु भइसकेको भन्दै किरिया खर्चबापत दुई हजार रुपैयाँ दिन खोजिएको थियो। तर खत्रीले आफ्ना जिउँदा बुबाआमाको किरिया खर्च कसरी लिउँ रु भनेर प्रश्न गरेपछि गाउँपालिकामा खैलाबैला भएको थियो।

अधिकारीले आफ्ना बुबाआमाले फागुनसम्मको वृद्धभत्ता पाएको बताइन्। भगवतीमाई गाउँपालिका–४ का सचिव कृष्णबहादुर शाही र सामाजिक परिचालक ज्ञानबहादुर थापाका कारण यस्तो भएको पीडित परिवारको आरोप छ। ‘बाँचेका मेरा बुवाआमालाई मृत्युदर्ताको प्रमाणपत्र दिने अधिकार गाउँपालिकालाई कसले दियो ? ’ उनले आक्रोश पोखिन्।

गाउँपालिका अध्यक्ष दानबहादुर थापाले भने समस्या समाधान गर्ने आश्वासन दिएका छन्। अध्यक्ष थापाले गाउँपालिकाका सूचना प्रविधि अधिकृत देवेन्द्र सिंहबारे छानबिन गरिरहेको बताए। आफुले यस विषयमा ढिला गरी जानकारी पाएको उनको भनाइ रहेको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।