
काठमाडौं । चन्दननाथ नगरपालिका–२ की कृष्णा शाही १ साउनमा आठ महिने बच्चा काखमा च्यापेर जिल्ला प्रशासन कार्यालय आइपुगिन् । नागरिकता बनाउन आएकी उनलाई प्रक्रिया बुझ्न केही समय लाग्यो । काखको बच्चा रुन थालेपछि उनी प्रशासन कार्यालयमै रहेको स्तनपान कक्षमा छिरिन् । र, रोइरहेको बच्चालाई स्तनपान गराइन् । स्तनपान गराएपछि बच्चालाई सुताएर उनी नागरिकता बनाउने काममा लागिन् । केही समयभित्रै नागरिता बनेपछि उनी घर फर्किन् ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकमैत्री सेवा पाउँदा उनी खुसी देखिन्थिन् । ‘कुशल प्रशासक भएपछिकोे नतिजा नागरिकमैत्री प्रशासन बनेको हो । धेरै छिटो र कुनै झन्झटविना सेवा पाएँ,’ उनले भनिन् । ‘१ साउनबाट स्तपान कक्ष सञ्चालनमा आएको छ । प्रशासनमा सेवाग्राहीका रूपमा आउने गर्भवती र नवआमाका लागि यो सेवा सञ्चालनमा ल्याइएको हो,’ प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन्, ‘कार्यालयमा कार्यरत महिला कर्मचारीसमेत यो सेवाबाट लाभान्वित भएका छन् ।’ स्तनपान कक्ष भुइँतलामै सञ्चालन गरिएको छ । स्तनपान कक्षमा एकैपटक तीनजना आमाले स्तनपान गराउन सक्नेछन् । स्तनपान कक्षभित्र बच्चाका लागि विभिन्न खेलौना पनि राखिएका छन् ।
सेवाग्राहीलाई तातो र चिसो पानीको व्यवस्था
दुर्गा बञ्जाडे जुम्लामा सिडिओ बनेर आएको साढे चार महिना भयो । गत १५ फागुनमा उनी सिडिओ बनेर आएकी हुन् । यो अवधिमा उनले प्रशासन सुधारका थुपै्र काम गरेकी छन् । खासगरी प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि उनले छिटोछरितो सेवा दिने व्यवस्था मिलाएकी छन् । विगतमा सेवा लिन आउँदा सेवाग्राही कता जाने, कसलाई सोध्ने भन्ने अलमलमा पर्थे । तर, अहिले जिप्रकामा हेल्प डेस्कको व्यवस्था गरिएको छ । कामका लागि आउने हरेक सेवाग्राहीलाई नै सहायता कक्षमा बस्ने कर्मचारीले कुन कामका लागि आएको भनेर आफैँ सोधपुछ गर्छन् ।
अहिले प्रशासन कार्यालयमा ‘आराम तथा स्तनपान कक्ष’, प्रतीक्षालय, लैगिंकमैत्री शौचालय, सहायता कक्ष, चिसो र तातोपानीको व्यवस्था, दर्ता–चलानी सबै बाहिरै राखिएका छन् । जसले गर्दा सुत्केरी, गर्भवती आमादेखि सामान्य नागरिकलाई प्रशासनिक सेवा लिन सहज भएको छ । महिलाहरूको सहजताका लागि आराम तथा स्तनपान कक्ष, निरक्षर व्यक्तिहरूका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । कार्यालयमा आउने जुनसुकै सेवाग्राही सहायता कक्षबाट आफूले लिने सेवाबारे स्पष्ट हुने गरेका छन् ।
प्रशासन सेवा छिटोछरितो
जुम्लामा ४०औँ सिडिओका रूपमा आएकी बञ्जाडेले छोटो समयमा नागरिकले सहसुस गर्ने गरी प्रशासनिक सेवा दिएकी छन् । ७५ वर्ष उमेरका नागरिकले समेत विनाझन्झट नागरिकता पाएका छन् । बन्जाडेले आफूलाई नागरिकसँग भिजेर सेवा प्रवाह गर्ने पहिलो सिडिओका रूपमा जुम्लामा स्थापित गरेकी छन् । प्रशासनमा सेवा लिन आउँदा १३ प्रकारका निवेदनका ढाँचाहरू निर्माण गरी राखिएका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












