२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाडमुनिको भागमा सिरिन्ज घोपिएको भन्दै २१ वर्षीया युवती आत्तिँदै गएपछि…



अ+ अ-

काठमाडौँ । बुधबार दिउँसो राजधानीकी २१ वर्षीया युवती आत्तिँदै टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगिन् । ढाडमुनिको भागमा सिरिन्ज घोपिएको शंकामा उनी अस्पताल पुगेकी थिइन् ।

चिकित्सकले चेकजाँच गर्दा सानो रातो डाबर मात्रै भेटियो । सिरिन्जले घोपे जस्तो कुनै लक्षण थिएन । बसमा यात्रा गर्दा पछाडिको सिटबाट कसैले तिखो वस्तुले घोचेजस्तो लागेको उनले बताइन् । उपचारमा संलग्न डा. रिना देवकोटाका अनुसार उनलाई सिरिन्ज आक्रमणको ‘फोबिया’ ले समातेको हो । चिकित्सकको परामर्शपछि मात्रै उनी ढुक्क भएर घर फर्किन् ।

त्यस्तै, एक साताअघि ४५ वर्षीया महिला पनि नाडीमा रातो डाम लिएर आत्तिँदै अस्पताल पुगिन् । मन्दिरमा लाइन बस्दा पछाडिबाट कसैले सुई रोपिदिएजस्तो लागेपछि उनी अस्पताल पुगेकी थिइन् । चिकित्सकले ‘कसले के हानेको हो मान्छे देख्नुभयो?’ भनेर सोध्दा उनले यस्तो कोही नदेखेको बताइन् । चेकजाँच गर्दा उनको नाडीमा आफैंले कोतरेका घाउ र रगत थियो । उनी पनि यस्तै फोबिया देखिएको डा. देवकोटा बताउँछिन् ।

यी दुई पात्रजस्तै दिनहुँ ३/४ जना सिरिन्ज आक्रमणको ‘फोबिया’ बाट पीडित भएर महिला र किशोरी टेकु अस्पतालमा पुग्ने गरेका छन् । पछिल्लो डेढ महिनाको अवधिमा मात्रै यस्तै फोबिया लिएर ३० जना महिला अस्पताल पुगे । ‘आएजति एक जनामा पनि सिरिन्ज रोपिएको लक्षण भेटिएन । तिखो वस्तुले हल्का घोचेजस्तो लागेकै आधारमा उनीहरू अस्पताल आउँछन्,’ डा. देवकोटाले भनिन् । उनीहरू कसैमा रगत बग्ने, सुन्निने र घाउ हुनेजस्ता सिरिन्ज रोपिँदा देखा पर्ने लक्षण समस्या नभएको उनले बताइन् ।

सिरिन्ज आक्रमणका त्रासले एचआईभी र हेपटाइटिस संक्रमण सरेको डरका कारण आत्तिएर अस्पताल पुग्ने गरका छन् । यसरी पुगेकामध्ये कसैलाई पनि उपचारको आवश्यक परेको छैन । अस्पतालले परामर्श मात्रै गरेर पठाइदिने गरेको छ । बसमा यात्रा गर्दा, बाटोमा हिँड्दा थोरै मात्रै तिखो वस्तुले घोचिहालेमा महिला र किशोरी अस्पताल पुगिहाल्ने गरेका छन् ।

अस्पतालकी नर्सिङ इन्चार्ज मञ्जु अधिकारीका अनुसार सामान्य ठेस लाग्दासमेत सिरिन्ज आक्रमणकै शंकामा उनीहरू अस्पताल पुग्छन्, आत्तिन्छन् । ‘विशेष गरी मिडियामा सिरिन्ज आक्रमणको समाचार आउन थालेपछि यस्तो फोबिया बढेको छ । धारिलो वस्तुले घोचेकी एचआईभी नै सरिहाल्यो भन्ने डर छ उनीहरूमा,’ उनले भनिन् ।

आत्तिनु पर्दैन
डा. देवकोटाका अनुसार संक्रमित सिरिन्जले अरूलाई घोप्ने कुरा आममानिसले सोचेजस्तो सामान्य र सजिलो छैन । उनले भनिन्, ‘संक्रमित व्यक्तिले आफ्नो शरीरबाट रगत निकालेर १५ सेकेन्डभित्र सिरिन्जका माध्यमबाट अरूको शरीरमा लगाए मात्रै रोग सर्छ । यसरी मिलाएर कसैले सिरिन्ज आक्रमण गर्न त सम्भवै नै छैन ।’

यदि कोही संक्रमितले कुनै अर्को व्यक्तिमा रोग सार्नका लागि आफ्नै रगत सिरिन्जमा भरिहाले पनि रोगका कीटाणु हावाको सम्पर्कमा आउनेबित्तिकै मरिहाल्छन् । सिरिन्ज आक्रमण भई नै हालेमा पनि एचआईभी र हेपटाइटिसको संक्रमण सर्ने सम्भावना अत्यन्तै न्यून (करिब शून्य दशमलब १५) हुने बताउँदै उनले थपिन्, ‘रगत र सिरिन्जमा काम गर्ने प्रोफेसनल व्यक्तिबाहेक अन्य व्यक्तिमा सिरिन्जका माध्यमबाट एचआईभी सरेको विश्वमै एउटा पनि रेकर्ड छैन । त्यसैले डराउनु पर्दैन ।’

सिरिन्ज आक्रमण भए के गर्ने ?
सिरिन्ज आक्रमण भई नै हालेमा कत्ति पनि नआत्तिन डा. देवकोटाको सल्लाह छ । उनी भन्छिन्, ‘सुई लाग्नेबित्तिकै रोपिएको ठाउँमा साबुन पानी लगाएर पाँच मिनेटसम्म खुला धारामा पखाल्ने । यसो गर्दा रोगका भाइरस पखालिएर जान्छन् ।’

घाउ लागेको ठाउँमा चुस्ने, कोतर्ने या निचोर्ने गर्दा संक्रमण हुन सक्ने हुँदा यसो नगर्न सल्लाह दिँदै उनले थपिन्, ‘सिरन्ज लाग्नेबित्तिकै भाइरस शरीरमा पस्न पाउँदैन । घाउ कोतर्ने चलाउने गर्दा भाइरस छिर्ने बाटो खोलिएर शरीरमा पस्न सहज हुन्छ । साथै, सिरिन्ज घोपिँदा सक्दो चाँडो नजिकको अस्पतालमा पुगेर उपचार खोज्नुपर्ने उनले बताइन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।