२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्त कमैयाको जमिनमा अरूकै घर



अ+ अ-

बाँके । रामचन्द्र थारूलाई मुक्त कमैयाका रूपमा सरकारले कोहलपुर नगरपालिका–११, लोकनगरमा जग्गा उपलब्ध गराएको थियो । अहिले त्यही जमिन अरूले हडप्न लागेपछि चिन्तित छन् ।

जग्गा पाएको केही वर्षसम्म उनी छाप्रो बनाएर आमाबुबासित त्यहीँ बसे । ‘आमा बिरामी भएपछि पुर्ख्यौली बस्तीमा लैजान भन्नुभयो,’ उनले भने, ‘म पनि उतै ज्याला–मजदुरी गरेर बसें । यता मेरो जग्गामा अरूले घर बनाएछन् ।’

सरकारले जग्गाको लालपुर्जा हातमै थमाउँदा छेदा थारू खुसी थिए । लोकनगरमा बसोबास तयारी गरिरहेका थिए । उक्त जग्गामा बसोबास गर्दै आएका व्यक्तिले १२ हजार रुपैयाँ दिएपछि मात्र बस्न पाइन्छ भनेर सुनाए । ‘त्यत्रो पैसा कहाँबाट ल्याउनू ?’ उनले भने, ‘डरले लालपुर्जा बाकसमा राखें । घर बनाउन आइनँ ।’ उनको जग्गामा पनि अहिले अरू नै घर बनाएर बसोबास गरिरहेका छन् । मुक्त कमैया अधिकारकर्मीहरिराम हरिजनका अनुसार यसरी भूमिहीन मुक्त कमैयाको जग्गामा आँखा लगाउने थुप्रै छन् ।

स्थानीय तुलसा थारूले आफ्नो जमिनमा अरूले घर बनाएको भन्दै खाली गराउन माग राखी वडा कार्यालयमा निवेदन दिएकी छन् । सरकारले मुक्त कमैयालाई एक लाख रुपैयाँ दिन्छ । उक्त रकम प्राप्तिका लागि सहयोग गर्छु भन्दै खेम भगौडियाले उनको जमिन भोगचलन गर्न अनुमति मागेका थिए । तर भगौडियाले पछि आएर जग्गा छोड्न मानेनन् । ‘मैले सोचें, एक–दुई महिनामा गइहाल्छ,’ उनले भने, ‘हेर्दाहेर्दै पक्की घर पो बनाउन लाग्यो ।’

थारूका अगुवा (बडघर) चिङका थारूको छेउमै छेदाको जग्गा छ । त्यहाँ पनि अरूले नै घर बनाएर बसेका छन् । छेदाले चिङ्काको मिलेमतोमा जमिन अरूलाई दिइएको आरोप लगाए । घर बनाउँदा भएको खर्च दिएपछि मात्रै जमिन छोड्छौं भनेको उनले बताए । ‘घर बनाएको खर्च मैले कसरी तिर्न सक्छु,’ उनले भने । पीडितका अनुसार चिङ्कासमेत भगुरु, मनोज, श्रीराम थारू र भगौडियालगायत केही व्यक्तिले जमिन कब्जा गराएका हुन् । चिङ्कालाई भेट्न तीनपटकसम्म उनको घर पुग्दा पनि सम्पर्क हुन सकेन ।

मालपोत कार्यालयको तथ्यांकअनुसार यहाँका ८ सय ३७ मुक्त कमैयालाई जग्गा वितरण गरिएको थियो । वडा कार्यालयले अनुगमन गर्दा अहिले घर बनाएर बसोबास गरिरहेका ६ सय ९ परिवार मात्र छन् । तीमध्ये मुक्त कमैया बस्तीमा जग्गा हडपेर बसोबास गरिरहेका १ सय ५८ जना छन् । वडा कार्यालयमा दर्ता नभएका ७० घरधुरी छन् ।

लोकनगरमा रहेका अधिकांश मुक्त कमैयाका घर खाली छन् । खाली जमिन र घरमा जग्गा दलालले मनपरी गर्दै आएको ६३ वर्षीय सोहनलाल थारूले बताए । उनको घरअगाडिको जग्गा खाली थियो । उक्त जग्गा पाएका मुक्त कमैया परिवार नआएपछि केही वर्ष उनले तरकारी खेती गरेका थिए । अचानक उक्त जमिनमा अपरिचितले घर बनाएर बसे । ‘अहिले लालपुर्जावाला मान्छे आएर घर खाली गर भन्दै जान्छ,’ सोहनलालले भने, ‘झगडा चलिरहेको छ ।’ जग्गा हडप्दै घरबनाएर बेच्ने परिपाटी यहाँ धेरै देखिएको उनले बताए ।

वास्तविक मुक्त कमैयाले घरसमेत बनाउन सकेका छैनन् । उनीहरू ज्याला–मजदुरी गर्दै भाडामा बसिरहेका छन् । ‘जमिन छ । खाली छ,’ उनले भने, ‘त्यही जमिनमा अरूले रजाइँ गरेका छन् ।’ कतिपय मुक्त कमैयाका नाममा लाजपुर्जा पाएका व्यक्तिले नै जग्गा भाडामा दिएर आयआर्जन गरिरहेका छन् ।

जग्गा खाली गराउन वडा कार्यालयमा ६ जनाको निवेदन परेको थियो । उक्त विवाद कोहलपुर नगरपालिकास्थित न्यायिक समितिले मिलाउन नसकेपछि अदालत पुगेको कोहलपुर–११ का वडाध्यक्ष कर्णबहादुर थापाले बताए । ‘नेताको बलमा जथाभाथी गर्ने धेरै छन्,’ उनले भनेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।