२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकट टरेपछि झुल्किए नेताहरु



अ+ अ-

विराटनगर । बाढी र डुबानको समस्या मत्थर भएपछि संघीय सरकारका मन्त्री र सांसद बुधबार आ–आफ्नो निर्वाचन क्षेत्रमा आइपुगेका छन् । सातासम्म निर्वाचन क्षेत्रका जनताले बाढी र डुबानको सकस सहँदा उनीहरू काठमाडौंमै थिए ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बुधबार आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ मा व्यस्त रहे । यो क्षेत्रमा विराटनगर महानगरका ४, ५, ६, ७, ९, ११ र १२ नम्बर वडा, बूढीगंगा गाउँपालिका सिंगो र सुन्दर हरैंचा नगरका केही वडा पर्छन् । उक्त क्षेत्रका अधिकांश घर अझै डुबानमा छन् । यहाँका विस्थापित परिवार मंगलबारदेखि घर फर्कन थालेका थिए ।

मन्त्री पण्डितले आफ्नो क्षेत्रका बाढीपीडित परिवारलाई एकरएक थान त्रिपाल, झुल, म्याट र टर्चलाइट वितरण गरेको सँगै रहेका वसिम आलमले बताए । बूढीगंगाका बाढी प्रभावित क्षेत्रमा पुगेका मन्त्री पण्डितले फोनमा भने, ‘देशभरिको बाढी व्यवस्थापनमा व्यस्त रहनुपर्दा आफ्नोक्षेत्रमा आइपुग्न ढिला भयो ।’

यो क्षेत्रका जनताले बाढीको सास्ती भोगिरहँदा आफू तत्काल आउन नपाए पनि स्थानीय जनप्रतिनिधि र पार्टीका कार्यकर्तालाई उद्धारमा खट्न र राहत उपलब्ध गराउन निर्देशन दिइरहेको उनले बताए । उनले भने, ‘मन्त्री भएपछि मुलुकभरिका पीडितको राहतको व्यवस्थापन गर्नुपर्छ । बल्ल फुर्सद भएर निर्वाचन क्षेत्रमा आइपुगेको छु ।’ आफ्नो निर्वाचन क्षेत्रका बासिन्दाले बाढी र डुबान समस्याको दीर्घकालीन समाधान गरिदिन आग्रह गरेको उनले बताए ।

उनको निर्वाचन क्षेत्रमा वर्षातमा पानीले निकास नपाउँदा र बूढी तथा केसलीया खोलाको बाढी बस्तीमा पसेर डुबानमा पर्दै आएको छ । अर्को बाढी प्रभावित क्षेत्र मोरङ २ का सांसद मीनेन्द्र रिजाल पनि बुधबारै आफ्नो क्षेत्रमा आइपुगे । संसद् बैठक, लेखा समितिको काम र पार्टीको केन्द्रीय समितिको बैठकका कारण आफ्नो क्षेत्र आउन ढिला भएको उनको भनाइ छ । बक्राहा र रतुवा खोलाको बीचमा पर्ने उनको क्षेत्र हरेक वर्ष बाढी प्रभावित हुने गरेको छ । उक्त क्षेत्रमा रंगेली नगरका केही वडासहित रतुवामाई र सुनवर्षी नगरपालिका पर्छन् ।

क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदी भने बाढी र डुबानका बेला आफ्नो क्षेत्रका पीडित परिवारको उद्धारमा सक्रिय भएर खटेका थिए । बुधबार कसेनी पुगेका मोदीले भने, ‘एक सातादेखि आफ्नै क्षेत्रमा खटिरहेको छु ।’ महानगरपालिकाका केही वडासहित कटहरी, ग्रामथान गाउँपालिका समेटिएको उनको क्षेत्र लोहन्द्रा र सिंघिया खोलाको बाढीले हरेक वर्ष डुबानमा पर्दै आएको छ । यो क्षेत्रमा यसपटक हजार परिवार प्रभावित भएको उनले बताए ।

अर्को बाढी प्रभावित क्षेत्र मोरङ ५ का सांसद शिवकुमार मण्डल चार दिनअघि आफ्नो क्षेत्र आइपुगेका छन् । महानगरका केही वडासहित जहदा, धनपालथान र रंगेली नगरका केही वडा पर्ने उक्त क्षेत्रमा सिंघिया, लोहन्द्रा, चिसाङ र बक्राहाको बाढीले डुबान गर्दै आएको छ । यसपटक बाढीले एक हजारभन्दा बढी परिवार प्रभावित भएको मण्डलले बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।