
पोखरा । समाजमा लोग्ने स्वास्नीबीच सम्बन्ध विच्छेद बढ्दो छ । जिल्ला अदालत कास्कीमा आर्थिक वर्ष २०७५/७६ मा सो प्रकृतिका झन्डै नौ सय मुद्दा दायर भएका छन् ।
जिल्ला अदालतका स्रेस्तेदार लोकनाथ पराजुलीले अघिल्लो वर्ष २ हजार ५ सय ८९ थान मुद्दा दर्ता भएको जानकारी दिए । तीमध्ये सम्बन्ध विच्छेदका मात्रै ८ सय ८१ मुद्दा परेका हुन् । उनका अनुसार सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदकै छन् ।
सम्बन्ध विच्छेदका मुद्दामध्ये करिब २० प्रतिशत पुरुष वादी र महिला प्रतिवादी बनाइएका छन् । २०७५ को भदौ १ देखि जारी मुलुकी देवानी संहिताले पुरुष सोझै अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न जान पाउने व्यवस्था भएको कारण मुद्दा बढेको हुन सक्ने अदालतको ठहर छ ।
महिनाअनुसार साउनमा समग्र मुद्दामा ३ सय ५१ थान, भदौमा १ सय ४६ थान, असोजमा १ सय ६० थान, कार्तिकमा २ सय थान, मंसिरमा १ सय ९१, पुसमा १ सय ९३, माघमा २ सय ९, फागुनमा २ सय ५८,
चैतमा २ सय ११, वैशाखमा १ सय ७९, जेठमा २ सय २७ र असारमा २ सय ६४ थान दायर भएको स्रेस्तेदार पराजुलीले बताए ।
यस्तै, करिब ६३ प्रतिशत अर्थात २ हजार ४ सय ६४ थान मुद्दा फछ्र्यौैट भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीले मुद्दाको प्रकृति र अवस्थाअनुसार कानुन आकर्षित हुने हुँदा सञ्चारकर्मीले रिपोर्टिङ गर्नेक्रममा सजगता अपनाउनुपर्ने सुझावसमेत दिए । अदालतले गरेको फैसला कार्यान्वयन गराउन सबैको उत्तिकै भूमिका हुने भन्दै सहयोगको आग्रह गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।












