२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराका रमेश सालीसँग सल्केपछि….



अ+ अ-

पोखरा । हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्‍यो । श्रीमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान् रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए ।

प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको योजनाबद्ध हत्या गरेको खुल्यो । हत्याको कारण थियो– सालीसँगको हिमचिम ।
रमेश पोखरा रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै मोबाइल पसल चलाउँथे । ८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीया लक्ष्मी घरमै बस्थिन् । श्रीमान्लाई हरेक बिहान पसलमै खाना पुर्‍याउँथिन् ।

उनलाई छालाको एलर्जी थियो । अनेक उपचार गर्दा पनि निको भएको थिएन । असार १ मा उनी रामबजारबाट हराइन् । भोलिपल्टै रमेशले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजतलास गरिदिन निवेदन दिए । उनले उक्त दिन श्रीमतीलाई पसल कुर्न भनी कालिकाचोकमा छोडेर आफू मोबाइलसम्बन्धी कामले साथी भेट्न गएको प्रहरीलाई बताए । डेढ लाख रुपैयाँसमेत श्रीमतीको साथमा भएको उनले जानकारी दिए ।

श्रीमती खोजिदिन प्रहरीलाई पटक–पटक आग्रह गरिरहे । सञ्चारमाध्यममा सूचना बजाउन लगाए । युट्युबमा अन्तर्वार्ता दिए । रोइकराइ गरे । असार ११ मा लक्ष्मीकी आमा पिठुमाया परियारले पनि खोजतलास गरिदिन प्रहरीमा निवेदन दिइन् । लक्ष्मीको माइती पक्ष, श्रीमान् र प्रहरी मिलेर खोज्नुसम्म खोजे ।

कुनै सुइँको नलागेपछि प्रहरी अनुसन्धान रमेशतिरै सोझियो । केही समयदेखि रमेशको हिमचिम लक्ष्मीको मामाकी छोरी अनु परियारसँग रहेको पत्ता लाग्यो । अनुसँगको सम्बन्धबारे वर्षदिन अघि लक्ष्मीले चाल पाएपछि त्यसैमा घरझगडा भएको बयान माइती पक्षले बयान दिए । त्यतिबेला लक्ष्मीले बहिनीलाई झपारेकी थिइन् ।

लक्ष्मीको हत्या योजना त्यतिबेलैदेखि बनेको कास्की प्रहरीले बताएको छ । बुधबार घटना विवरण र अभियुक्त सार्वजनिक गर्दै प्रहरीले एक वर्षदेखि रमेशले श्रीमती हत्याको तानाबाना बुनेको जानकारी दियो । ‘लक्ष्मीले आफ्नो बदनाम गरेको अनुले ठानिन्,’ कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले भने, ‘अनुले दिदीलाई साइड लगाइदिनुस् भनेर रमेशलाई भनेपछि हत्याको योजना बनेको देखिन्छ ।’ गोरखाको गण्डकी–७, घ्याल्चोककी १९ वर्षीया अनु र रमेशबीच अन्तरंग सम्बन्ध रहेको र रमेशले पटकपटक पैसा पठाएको अनुसन्धानक्रममा खुलेको थियो ।

भारतीय ‘कन्ट्र्याक्ट किलर’ प्रयोग
प्रहरीका अनुसार रमेशले भोजपुर नगरपालिका–५, बैंकरोड घर भई पोखराको महेन्द्रपुलमा मोबाइल पसल चलाउने सञ्जय शर्मालाई ‘एकजना महिलाको हत्या गर्नुपर्ने र त्यसबापत राम्रो रकम आउने’ बताए । अर्का साथी सर्लाही ईश्वरपुर–३, तीनघरिया घर भई पोखरा पृथ्वीचोकमा मोबाइल पसल गर्ने चित्तरञ्जन साहसँग पनि सल्लाह गरे ।

साहले १० लाख रुपैयाँमा भारतबाट मान्छे झिकाउने उपाय सुझाए । उनैले भारतस्थित आफ्नो मावलीतिरबाट ३ पेसेवर हत्यारालाई नेपाल झिकाए । जेठ ३० मा ३ भारतीय ‘कन्ट्र्याक्ट किलर’ पोखराको पृथ्वीचोकस्थित कोसी होटलमा बसे । होटलले उनीहरूको विवरण राखेन । त्यहाँ बस्ने व्यवस्था सञ्जय र चित्तरञ्जनले मिलाए ।

जेठ ३१ मा रमेशले सञ्जयलाई एक लाख रुपैयाँ दिए । उक्त दिन हत्या गर्ने ठाउँ रोज्न पोखरा–२२ पुम्दीभुम्दीको कर्कले जंगलमा रमेश, सञ्जय, चित्तरञ्जन र ३ भारतीय पुगे । सिद्धार्थ राजमार्गछेउको उक्त जंगलमा हत्या गर्ने योजना बनाएर फर्किए ।

असार १ को बिहान रमेश र सञ्जयले लेकसाइडबाट ग११प ८००३ नम्बरको स्कुटर भाडामा लिए । रमेश स्कुटर लिएर पसल पुगे । सञ्जयले नयाँबजारबाट ग१च २३६३ नम्बरको कार भाडामा लिए । चित्तरञ्जन र ३ भारतीयलाई गाडीमा राखेर कर्कलेतिर हुइँकिए । रमेशले पसलमा गएर श्रीमतीलाई खुट्टामा भएको एलर्जी निको पार्ने जडीबुटी खोज्न जंगलतिर जाने भन्दै फकाए ।

कर्कले पुगेर केहीबेर दुवैले जडीबुटी पनि खोजे । खोज्दाखोज्दै रमेशले आफूलाई पिसाब लागेको बताए । लक्ष्मीलाई अलि तलतिर गएर जडीबुटी खोज्न भने, आफू मास्तिर लागे । योजनाबमोजिम पहिले नै जंगलमा पुगेका भारतीयले लक्ष्मीको मुख र आँखामा सल बाँधेर चक्कुले घाँटी रेटी हत्या गरे ।

लासलाई जंगलमै छोडेर रमेश राजमार्गमा निस्किए । सञ्जयलाई ५ लाख रुपैयाँ दिए । बाँकी ४ लाख केही दिनपछि दिने वाचा गरे । हत्या गर्ने ३ भारतीय त्यही दिन भारततर्फ लागे । बाँकी रकम चित्तरञ्जनमार्फत पठाउने सहमति भयो । हत्याको केही समयपछि रमेशले आफ्नो घर र लक्ष्मीको माइतीतिर फोन गरेर श्रीमती हराएको जानकारी गराए ।

केरकारपछि खुल्यो पहिचान
प्रहरीको केरकारपछि रमेशले आफ्नै योजनामा श्रीमतीको हत्या गरेको स्विकार्नुका साथै संलग्नका बारेमा खुलाएका हुन् । उनैले हत्या गरेको ठाउँ देखाए । घटनास्थलमा प्रहरी पुग्दा लक्ष्मीको हाडखोर मात्रै थियो । उनका लुगा र कपालको क्लिपका आधारमा माइतीले शव पहिचान गरेका थिए ।

हत्याको मुख्य योजनाकार रमेश, गाडी, स्कुटर र हत्या गर्ने व्यक्तिको व्यवस्था गर्ने सञ्जय शर्मा, चित्तरञ्जनकुमार साह र अनु परियार पक्राउ परेका छन् । ३ भारतीय भने फरार छन् । प्रहरी उपरीक्षक दानबहादुर कार्कीले खोजतलास जारी रहेको बताए । लक्ष्मीका आफन्तले फरार अभियुक्तलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गरेको कान्तिपुर दैनिकमा प्रकाशित छ ।