
नेपाली संगीतले आफ्नो विस्तार बढाउदै गएको छ । पछिल्लो समय सांगीतिक बजारमा गीत संगीतका बारेमा चोरीको आरोप लाग्ने क्रम पनि बढ्दै गएको छ । त्यही आरोपबाट पछाडी पर्न नसकेको गीत हो ‘इन्स्टाको फोटो’ । यस गीतलाई चर्चित संगीतकार तथा गायक कालीप्रसाद बास्कोटाले गाएका छन् ।
‘इन्स्टाको फोटो’ चोरी गरेको आरोप सेलाउन नपाउँदै कालीलाई पुनः अर्को चोरीको बात लागेको छ ।कालीको शब्द संगीतमा तयार भएको ‘समाचार’ बोलको गीतमा संगीत चोरीको आरोप लागेको हो ।१० महिना अगाडि आफूले फेसबुकमा सार्वजनिक भएको ‘बुझाई देउ न’ बोलको गीतको संगीतसँग ‘समाचार’ बोलको गीतको संगीत मिलेको दाबी बिक्की महतको छ ।
आफूले महानरीय प्रहरी परिसर, टेकुमा उजुरी समेत दिएको उनले बताए ।कालीप्रसाद बास्कोटाले भने यसबारे केही थाहा नभएको बताएका छन् । उनले भने, ‘गीत मिलेको छ भनेर मलाई एक दुई जनाले म्यासेज गर्नुभएको थियो तर, यसबारे मलाई केही जानकारी छैन । उहाँ मसँग कुरा गर्न आउनु भएको पनि छैन ।’उनले संगीत मिलेको दाबी पनि अस्वीकार गरे ।
यसअघि पनि कालीकै संगीत तथा स्वर रहेको ‘इन्स्टाको फोटो’ गीत उनले फ्रेन्च गीतबाट कपी गरेको पाइएको छ । फ्रान्सेली गायिका कार्ला ब्रुनीको स्वर रहेको गीतसंग ‘इन्स्टाको फोटो’ गीत मेल खान्छ । सो गीत सन् २००२ मा सार्वजनिक थियो ।
गीतको शब्द मात्र होइन कालीले उक्त गीतको संगीत पनि कपी गरेका छन् । दुवै गीतको इन्ट्रो म्युजिक पनि एकै छ । कार्ला ब्रुनीको गीतको भाव इन्स्टाको फोटो गीतमा समेटिएको छ । फ्रेन्च गीतको कोरसमा समेटिएको शब्द नै इन्स्टाको फोटोको मुख्य शब्दहरु बनाइएको छ ।












