२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहमा कर्मचारी पदस्थापना सुरु भएसँगै सेवाप्रवाह प्रभावित हुने संकेत



अ+ अ-

काठमाडौं । कर्मचारी पदस्थापना सुरु भएसँगै स्थानीय तहको सेवाप्रवाह प्रभावित हुने संकेत देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को सुरुवातसँगै समायोजनका क्रममा संघ, प्रदेश र स्थानीय तहमा पदस्थापना भएका कर्मचारी समायोजन तोकिएका स्थानमा नै जाने क्रम सुरु भएसँगै यसको मार स्थानीय तहमा देखिने भएको हो । कर्मचारी अपुग रहेको अवस्थामा स्थानीय तह सम्हाल्दै आएका कर्मचारी अन्य स्थानमा जाने र नयाँ कर्मचारी आउने क्रममा स्थानीय तहका दैनिक प्रशासनिक कार्यलगायत सेवाप्रवाहसमेत प्रभावित हुने देखिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव भुपाल बराल समायोजन भएका कर्मचारी खटाएका स्थानमा जाने र स्थानीय तहमा पदस्थापना भएका कर्मचारी सम्बन्धित स्थानीय तहमा आउने र नयाँ कर्मचारी भर्नाको प्रक्रिया सुरु भएकाले समस्या नहुने बताउँछन् । सहसचिव भुपालले भने, ‘भएका कर्मचारी समायोजन भएका स्थानमा जाने र सो स्थानमा समायोजनमा परेका नयाँ कर्मचारी आउने भएकाले समस्या हुँदैन ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनपछि असार मसान्तसम्म कार्यरत स्थानमा नै रहन निर्देशन दिएका थियो । मन्त्रालयले बजेट निर्माणलगायतका महŒवपूर्ण कार्यक्रम प्रभावित हुने देखिएपछि कार्यरत स्थानमा नै रहन निर्देशन दिएको थियो । मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले बजेट निर्माणलगायतको प्रक्रिया सुरु हुने महŒवपूर्ण समय रहेकाले उनीहरूलाई असार मसान्तसम्म कार्यरत स्थानमा नै रहन निर्देशन दिइएको थियो । ‘असार मसान्तसम्मको समयसीमा सकिएको र स्थानीय तथा प्रदेश तहमा बजेटका कामसमेत सकिएका छन् । अब समायोजनमा तोकिएका स्थानमा नै जानेछन्’, सहसचिव तामाङले भने ।

कर्मचारी समायोजन ऐनअनुसार समायोजन भएको २१ दिनभित्र पदस्थापना भएका कर्मचारी सम्बन्धित क्षेत्रमा पुग्नुपर्नेहुन्छ । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विशेष परिस्थितमा समस्या उत्पन्न हुने तथा कार्यसम्पादन प्रभावित हुने भन्दै कार्यरत स्थानमा नै रहन निर्देशन दिएको थियो ।

मन्त्रालयका अनुसार यसअघि स्थानीय र प्रदेश तहमा समायोजन भएका कर्मचारीको पदस्थापना गरिसकिएको छ भने संघअन्र्तगत समायोजनमा परेका कर्मचारीको पदस्थापना भने हुन बाँकी छ । दुवै तहमा कर्मचारी पदस्थापना सकिएसँगै संघमा समायोजन भएका कर्मचारीको पदस्थापनाको तयारी सुरु गरिने मन्त्रालयले जनाएको छ ।

सरकारले समायोजन सम्पन्न भएसँगै स्थानीय तहमा आवश्यक कर्मचारीको विवरण माग गर्दा ५१५ स्थानीय तहले १३ हजार ६४५ को संख्यामा कर्मचारी आवश्यक रहेको माग मन्त्रालयलाई पठाएका थिए । सोही आधारमा मन्त्रालयले लोकसेवालाई आवश्यक कर्मचारी भर्नाका लागि आग्रह गरेको थियो । मन्त्रालयको आग्रह स्वीकार गर्दै आयोगले फास्ट ट्र्याकमार्फत गुणस्तरमा कुनै कमी नआउने गरी ९ हजार १६१ को संख्यामा कर्मचारी भर्नाको आह्वान गरेको थियो ।

मारमा दुर्गम क्षेत्रका स्थानीय तह

कर्मचारी पदस्थापनको प्रक्रिया सुरु भएसँगै यसको मार भने दुर्गम क्षेत्रका स्थानीय तहमा पर्ने भएको छ । कर्मचारी अभावमा दैनिक कार्य सम्पादनसमेत गर्न स्थानीय तहमा समायोजन भएका कर्मचारी नै नआउने समस्या देखिएका छन् । केही स्थानीय तहबाट मन्त्रालयले खटाएको स्थानमा कर्मचारी नै नपुगेको गुनासो आउने गरेका छन् । भएका कर्मचारी पनि जाने र नयाँ कर्मचारी नआउने अवस्थाले यी स्थानीय तहमा कर्मचारी अभावको सिर्जना हुने देखिन्छ ।

केही स्थानीय तहले असार मसान्तसम्ममा पारित गरिसक्नुपर्ने र बजेटमार्फत प्रक्रियागत खर्चको व्यवस्था गर्नुपर्नेमा कर्मचारी अभावका कारण बजेट निर्माण हुन नसकेको मन्त्रालयलाई जानकारी गराएका छन् । यस्तै, सुगम क्षेत्रका स्थानीय तहमा कर्मचारी समायोजनपछि पदस्थापना भएका कर्मचारीसमेत आवश्यक नरहेको भन्दै फिर्ता पठाएका थिए । यसरी स्थानीय तहबाट फिर्ता कर्मचारीलाई मन्त्रालयमा नै हाजिरी गरेर राखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा हाजिरी गर्ने कर्मचारी ८० भन्दा बढीको संख्यामा रहेको मन्त्रालय स्रोतले जानकारी दिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।