२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको पत्रबारे प्रराष्टमन्त्री ज्ञवालीले गरे यस्तो खुलासा, के सरकारले दोषीमाथि कारबाही गर्छ ?



अ+ अ-

काठमाडौं । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग नयाँ पत्रिका दैनिकका पर्शुराम काफ्ले र शुरोजङ्ग पाण्डेले लगिएको अन्तरवर्ताको अंश ।

तपाईं चीनबाट भर्खरै फर्किनुभयो । नेपालमा आमजिज्ञासा छ कि राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण कहिले हुन्छ र रेलमार्ग कहिले बन्छ ? यस सम्बन्धमा तपाईं र समकक्षीबीच के कस्तो छलफल भयो ?
मैले बेइजिङमा राज्यपरिषद् सदस्य विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटघाट गरेँ । अन्य नेतासँग पनि भेटवार्ता गरेँ । नेपालमा चिनियाँ उच्च नेतृत्वको भ्रमण र चीनसँग जोडिएका कनेक्टिभिटीप्रति ब्यग्र चासो छ । यसबारे चिनियाँ नेतृत्वले बुझेको छ । मेरो अघिल्लो औपचारिक भ्रमणका क्रममा नेपाल चीन सम्बन्धको महत्वपूर्ण पाटोका रूपमा हिमालय सीमापार बहुपक्षीय सम्पर्क सञ्जालको ढाँचा तय भएको थियो । कनेक्टिभिटीको ढाँचालाई प्रधानमन्त्रीको चीन भ्रमणले थप स्पष्ट पार्दै अहिले यो एजेन्डा बिआरआईको अनुसूचीमा परेको छ ।

कनेक्टिभिटीअन्तर्गत ९ वटा परियोजना अघि सारेका छौँ । यीमध्ये केही राजमार्ग, केही विशेष आर्थिक क्षेत्र, विश्वविद्यालयसँग जोडिएका विषय र प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग छन् । रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । सम्भाव्यता अध्ययनको चरणमा प्रवेश गरेका छौँ । यो वर्षबाट सम्भाव्यता अध्ययन सुरु हुन्छ, र सम्भवतः डिपिआर बन्ने कार्यको सुरु हुन्छ । यो प्राविधिक, आर्थिक र नवप्रवर्तनको हिसाबले पनि ठूलो योजना हो । यसमा नेपाल र चीन प्रतिबद्ध छन् । हिमाल छिचोलेर रेलमार्ग बन्ने विषयमा म पूर्ण विश्वस्त छु । चिनियाँ नेतृत्वको पनि दरिलो विश्वास छ । चिनियाँ नेतृत्वलाई स्वागत गर्न हामी आतुर छौँ । लामो समय भएको छ । नेपाल सम्बन्ध उचाइमा भएको यो वेला भ्रमण गर्नु उपयुक्त छ भन्नेमा चिनियाँ नेतृत्व पनि विश्वस्त छ भन्ने लाग्छ । दुई देशका कूटनीतिक संयन्त्र सम्पर्कमा रहेर संवादमा छन् ।

चीनका राष्ट्रपति तीन महिनापछि दक्षिणी छिमेकी भारतको वाराणसी आउँदै छन् । त्यसवेला उनको भ्रमण गराउने कोसिस भइरहेको छ कि ?
हाम्रो तर्फबाट नेपालको चाहना प्रकट गरिरहेका छौँ । हामी चिनियाँ नेतृत्वलाई नेपालमा स्वागत गर्न, दुई देशको सम्बन्धलाई नयाँ चरणमा प्रवेश गराउने शुभमुहुर्तका रूपमा त्यो भ्रमणलाई उपयोग गर्न चाहन्छौँ भन्ने सन्देश पठाएका छौँ । उहाँहरूले स्पष्ट जवाफ दिइसक्नुभएको छैन । तर, हामी आशावादी छौँ ।

चीनसँगका परियोजना कार्यान्वयन कुन गतिमा हुँदै छ ?
नयाँ नाका खोल्ने कुरा अघि बढेको छ । परियोजनाको सूची आदानप्रदान भएको छ । चालू दुई नाकाबाहेक पारबहन र यातायात प्रोटोकलअन्तर्गत अन्य नाका खोल्ने विषयमा पनि छलफल अघि बढिरहेको छ । बिआरआईअन्तर्गतका केही परियोजनामा अनुदान सहयोग, केहीमा सहुलियतपूर्ण ऋण, केहीमा प्रत्यक्ष वैदेशिक लगानी र केहीमा एआइआईबाट लगानीको अपेक्षा गरेका छौँ ।

चिनियाँ रेलमा नेपालले चाहेको लगानी ढाँचा के हो ?
विस्तृत परियोजना प्रतिवेदनले लगानी यकिन भएपछि मात्रै लागत तय हुन्छ । त्यसपछि मात्रै लगानी ढाँचामा छलफल हुने हो । यो नेपालका लागि अपरिहार्य छ । नेपालको व्यापार र पारबहन विविधीकरण अनि विश्वको गतिशील अर्थतन्त्रसँग नेपाल जोड्ने सन्दर्भमा यो अत्यन्त दुरगामी परियोजना हो । नेपालले यसमा आफ्नो लगानीको हिस्सा लगाउनुपर्छ । पूर्ण अनुदानको अपेक्षा गर्नु आवश्यक छैन । हामीसँग धेरै लगानी गर्ने सामथ्र्य नभए पनि रेलवे हाम्रा लागि भएकाले नेपालले आफ्नो तर्फबाट योगदान गर्न तयार हुनुपर्छ ।

नेपाल–भारत सम्बन्धमा प्रवेश गरौँ । अहिले दुई देशबीचको सम्बन्ध कुन अवस्थामा छ ?
नेपाल–भारत सम्बन्ध बहुआयामिक छ र यसका सूक्ष्म पक्ष धेरै छन् । धेरै पक्षमा एकदमै राम्रो सम्बन्ध हुँदाहुँदै कतिपय पक्षमा समस्या देखापर्नु स्वाभाविकै हो । नजिक राखिएका भाँडामा घर्षण पैदा हुनु स्वाभाविक छ । अहिले राजनीतिक तहमा खुला, सीधा सम्पर्क छ । दुई देशका सबै संयन्त्र सक्रिय छन् । परराष्ट्रसचिवहरूबीच भिडियो कल कन्फरेन्स भएको छ ।
परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको तयारी भइरहेको छ । नेपाल–भारतबीच परस्पर अन्तरनिर्भरता, विश्वास, पारस्परिक लाभमा आधारितबाहेक सम्बन्धको विकल्प छैन । यो दुई नेतृत्वको विश्वास हो । दुई देशका परियोजनाले गति लिएका छन् । हुलाकी राजमार्गका दुई सेगमेन्ट उद्घाटनका लागि तयार छन् । वीरगन्जको एकीकृत जाँच चौकी उद्घाटन भइसकेको छ । विराटनगरको एकीकृत जाँच चौकी उद्घाटनको तयारीमा छ । कुर्था–विजल्पुरा–जयनगर रेल सुरुवातको चरणमा छ । पञ्चेश्वरमा अझै सहमति जुट्न बाँकी छ । आन्तरिक जलमार्गमा कुरा भइरहेको छ । बढीमा दुई वर्षभित्र जलमार्ग सञ्चालनको बिन्दुमा हामी आइपुग्नेछौँ । यो नेपालको पारबहनका क्षेत्रमा ठूलो फड्को हुनेछ । फेरि म भन्छु, थप छलफल गर्नुपर्ने थुप्रै ठाउँ छन् । कूटनीतिक सक्रियता निरन्तर हुनेछ ।

राजनीतिक सम्बन्धले सम्बन्धका अरू आयामलाई दिशानिर्देश गर्ने रहेछन् ।इपिजी प्रतिवेदन बुझ्न अझै विलम्ब भएको छ । राजनीतिक तहमा सम्बन्ध सुदृढ नभइसकेको सन्देश होइन यो ?

इपिजी प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र नरेन्द्र मोदीजीको समझदारीमा गठन भएको हो । अहिले कार्यान्वयन गर्ने ठाउँमा दुवैजना आउनुभएको छ । दुवै नेता बलियो बहुमतमा हुनुहुन्छ । दुवै नेता इपिजीको प्रतिवेदन बुझ्ने र एक्काइसौँ शताब्दी अनुकूल सम्बन्ध अघि बढाउनेमा प्रतिबद्ध र सकारात्मक हुनुहुन्छ । तर, सम्बन्धका विविध आयामका सम्बन्धलाई नेतृत्वले चाहेभन्दा फरक ढंगले लैजाने सोच छन् । भारतको एक अर्ब ३० अर्ब सबैको एउटै सोच विश्व राजनीति र छिमेकबारे एउटै सोच हुँदैन । नेपालमा पनि कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धिजस्तो फरक बुझाइ छ । राजनीतिक नेतृत्वले सम्बन्धको सीधा कमान्ड सम्हालेको मन नपराउनेहरूले अस्थायी भ्रम फिँजाउन सक्छन् । तर, दुवै देशले, नेतृत्वले असल सम्बन्ध चाहेका छन् । अन्यथा हुँदैन ।

इपिजी रिपोर्ट कार्यान्वयनबारे हाम्रो राजनीतिक नेतृत्वले बोलिरहेको छ, भारत त अहिलेसम्म मौन छ नि ?

हामीलाई आजसम्म दिइएको आधिकारिक प्रतिक्रिया भनेको निर्वाचनको व्यस्तताका कारण प्रधानमन्त्री मोदीले इपिजीको प्रतिवेदन बुझ्न पाउनुभएन । गत नोभेम्बर डिसेम्बरतिर लौ अब त ढिलो भो कि भनेर कुरा गर्दा त्यस्तो जवाफ आएको हो । इपिजी प्रतिवेदनमा के छ भन्ने कुरा आठजना सदस्यबाहेक अरूलाई थाहा छैन । उहाँहरूले प्रधानमन्त्रीद्वयलाई ब्रिफिङ गर्नुभएको होला, तर पूरा विवरण उहाँहरूले पढिसक्नुभएको छैन । २१औँ शताब्दी सुहाउँदो सम्बन्धको फेमवर्क निर्माणमा इपिजी गठन भएको हो । नेपाल–भारत सम्बन्धका अनेकौँ जटिलतालार्ई इपिजी सदस्यहरूले सर्वसम्मत रूपमा टुंग्याउनुभएको छ । भलै, इपिजीले सरकारको प्रतिनिधित्व गर्दैनथ्यो । तर, दुवैतर्फकाले आफ्नो सरकारको मनोविज्ञान र जनताको चाहना प्रतिबिम्बित गरेका छन् । म आशावादी छु, यो बुझ्ने र कार्यान्वयन गर्ने प्रक्रिया प्रारम्भ हुन्छ ।

दोस्रो कार्यकालको प्रारम्भमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माल्दिभ्स र श्रीलंका भ्रमण गरे, विदेशमन्त्री एस जयशंकरले भुटान गए । नेपाल प्राथमिकतामा नपरेको हो कि भन्ने टीकाटिप्पणीलाई के भन्नुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन । भारतका राष्ट्रपतिलाई हाम्रा राष्ट्रपतिले र प्रधानमन्त्रीलाई प्रधानमन्त्रीज्यूले निमन्त्रणा दिनुभएको छ । प्रधानमन्त्री मोदीले मलाई लुम्बिनी आउनु नै छ भन्नुभएको छ । प्रधानमन्त्रीज्यूले दिल्लीमा भेटेरै प्रधानमन्त्री मोदीजीलाई निमन्त्रणा दिनुभएको छ । नेपाल उहाँहरूको प्राथमिकतामा नपर्ने कुरै हुँदैन । मलाई विश्वास छ, उपयुक्त समयमा भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन्छ । जुनसुकै तहबाट भ्रमण हुन्छ । यो वर्ष (सन् २०१९ भित्र) भारतबाट महत्वपुर्ण उच्चस्तरीय भ्रमण हुन्छ भन्ने मलाई विश्वास छ ।

भारतबाट अमेरिकातिर लागौँ, हिन्द–प्रशान्त रणनीति कार्यान्वयनका क्रममा अमेरिकाले नेपालबाट बिआरआईको विरोध गरिरहेको छ, चीनले व्यापार युद्धबारे नेपालबाट अमेरिकाको विरोध गरिरहेको छ । नेपालमा भइरहेको ठूला शक्तिको प्रतिस्पर्धाको असरबारे नेपाल कत्तिको सचेत छ ?

विश्व प्रणाली अनिश्चित भइरहेका छन् । शक्ति सम्बन्धमा परिवर्तन आइरहेको छ । विश्व राजनीति, विश्व अर्थतन्त्र, विश्व सुरक्षाको अनि नवप्रवर्तनको गुरुत्व एसियामा सर्दै जाँदा यो क्षेत्रमा एक प्रकारको प्रतिस्पर्धा र स्टेस हामी सबैले अनुभूति गरिरहेका छौँ । नेपाल जुन भूअवस्थितिमा छ, त्यसकारण सबैको चासो स्वाभाविक छ । हामीले यसलाई अन्यथा ठान्दैनौँ ।

शक्ति राष्ट्रको चसो हाम्रो अवसर पनि हो । हामी सबै देशसँग मिलेर विकासका लागि हामीले द्वन्द्व वा संक्रमणका कारण गुमेको विकासको अवसर फर्काउन चाहन्छौँ । छिटो आर्थिक विकासमा जान चाहन्छौँ । नेपाललाई जबर्जस्ती कतै तान्न कोसिस नहोस् भनेर स्पष्ट भनेका छौँ । सैनिक अर्थ दिने गठबन्धन, निश्चित कसैका विरुद्ध लक्षित र खास खालको मोर्चाबन्दीसँग जोडिएको गठबन्धनमा नेपाल जाँदैन । नेपालबारे हाम्रा मित्रहरूमा पनि अस्पष्टता छ भन्ने मलाई लाग्दैन । सके विश्व शान्ति र न्यायका पक्षमा बढीभन्दा बढी योगदान नै गर्छौँ । नभए कुनै पनि देश र मानव समुदायको अहित चाहँदैनौँ । नेपालको यस्तो प्रस्ट घोषित नीति र प्रतिबद्धतालाई कसैले पनि कमजोरी ठान्नुहुँदैन ।

बिआरआई महत्वपूर्ण परियोजना हो, जसले सबैको साथ लिएर समावेशी विकासको लक्ष्य लिएको छ । कनेक्टिभिटीका सन्दर्भमा हामी बिआरआईसँग जान चाहन्छौँ । हिन्द–प्रशान्त रणनीति अमेरिकी विदेश र रक्षा मन्त्रालयको नीति हो, त्यसअन्तर्गत उसले संसारलाई हेर्छ । त्यो आफैँमा गठबन्धन वा सम्झौता होइन । कसैले सम्झौतामा हस्ताक्षर गर्ने भन्ने हुँदैन । विकास, खुलापन, कनेक्टिभिटीजस्ता विषयहरू नेपालका हितमा छन् भने ती पक्षबाट लाभ लिन नेपाल संकोच गर्दैन । तर, हाम्रो अविचलित नीति हो कि मित्रराष्ट्रहरूसँगको सम्बन्धमा तनाब उत्पन्न हुने खालको गठबन्धनमा जाँदैनौँ ।

केही समयअघि सार्वजनिक भएको अमेरिकी रिलिजियस रिर्पोटमा नेपालले अमूक धर्मलाई पक्षपात गरेको उल्लेख छ । यसबारे के भन्नुहुन्छ ?

त्यो प्रतिवेदनको टिप्पणी सही होइन । सबैले बुझ्नुपर्छ, एउटा धर्मप्रति आस्था राख्ने समुदायको अत्याधिक बहुमत हुँदाहुँदै पनि नेपाल लोकतान्त्रिक मूल्यबाट अभिप्रेरित भएर धर्मनिरपेक्ष घोषित भएको हो । नेपाली समाज अत्यन्त उदार भएकै कारण धर्मनिरपेक्षताको संवैधानिक प्रबन्ध भएको हो । यहाँ कुनै धर्मप्रति आस्था राख्न रोकावट छैन । संविधानले बलजफ्ती धर्म परिवर्तनलाई गैरकानुनी मानेको छ । हामी स्पष्ट छौँ, गरिबी, अज्ञानता या अन्य प्रलोभनबाट हुने धर्म परिवर्तन गैरकानुनी हो । नेपालजस्तो सहिष्णु, उदार, लोकतान्त्रिक र बहुलवादी समाजमा धार्मिक स्वतन्त्रतामाथि प्रश्न र अन्यथा टिप्पणी गरिनु बिलकूल अवस्तुवादी र पूर्वाग्रही सोच हो ।

विदेश नीतिबारे देशभित्रै एकमत छैन । पछिल्लोपटक भारतबाट आयातित तरकारीको विषादी परीक्षण प्रकरणमा सरकार पछि हटेपछि विपक्षीले चर्को आलोचना गरेको छ । के भन्नुहुन्छ ?

राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका प्रश्न, बाह्य सम्बन्ध सञ्चालनका पक्ष, दलीय सोच, मान्यताभन्दामाथि उठेर साझा सोच र मान्यताका साथ अघि बढ्नुपर्छ । यसमा दलगत चस्मा लगाएर हेर्नुपर्ने कारण छैन । दुई देशबीचको सम्बन्ध कहिल्यै पनि सडक या सदनको राजनीतिक हतियार बन्नुहुन्न भन्ने हाम्रो प्रस्ट मान्यता छ । सम्बन्धहरूमा समस्या आउँदा कूटनीतिक माध्यमबाटै समाधान गर्ने हो । पछिल्लो विषय (तरकारीमा विषादी)मा त सबैले सरकारलाई धन्यवाद दिनुपर्ने हो ।

किनभने, सरकारले पहिलोपटक पहल गरेको हो । हामीले नेपालको खाद्य अधिकारलाई संविधानमा मौलिक अधिकारका रूपमा स्थापित गरेका छौँ । संसद्बाट खाद्यसम्बन्धी ऐन पास गरिसकेका छौँ । त्यसले स्वच्छ, पोषणयुक्त, विषादीरहीत र पर्याप्त खाद्यन्न उपलब्ध गराउन सरकारलाई निर्देशित गरेको छ । पछिल्लो समय कृषिजन्य उत्पादनमा विषादी प्रयोग हुँदै आएको छ ।

नेपालभित्र पनि यो समस्या छ । काभ्रे, धादिङका किसानहरूमा अत्याधिक विषादीले क्यान्सरको प्रकोप बढेको पत्रपत्रिकामा समाचार छापिएका छन् । केही समयअघि मैले अमिर खानको एउटा इपिसोड–हेरेको थिएँ । उहाँले विषादीका दुष्प्रभावहरू देखाउनुभएको छ । यो कुनै एक देशको मात्र होइन, विश्वव्यापी समस्या हो । सरकारले लिएको नीति कुनै देशप्रति लक्षित पनि छैन ।

हामी देशभित्र र बाहिरबाट आउने सबैमा परीक्षण गर्छौँ । हाम्रा उत्पादनहरूमा पनि परीक्षण गरियोस् । मित्र राष्ट्रहरूमा पनि विषादीको नकारात्मक प्रभाव नपरोस् । यो हाम्रो घोषित नीति हो । तर, हाम्रो कमजोरी पनि देखियो । पहिलो, अन्तरमन्त्रालय समन्वय र हाम्रो ठ्याक्कै क्षमता कति हो भन्ने यकिन अभाव । दोस्रो, हामीले पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय दायित्व ।

परीक्षण गर्नु पहिले सम्बन्धित देशलाई पूर्वजानकारी दिनुपर्ने, सम्बन्धित देशसँग छलफल गर्ने, सम्बन्धित देशको प्रयोगशालाको ल्याबको पनि अध्ययन गर्ने विषयमा समन्वय अभाव देखियो । मनसाय राम्रो थियो, तर तयारी नपुग्दै सुरु गर्न खोज्दा अन्योल सिर्जना भयो । तर, यसलाई राजनीतीकरण गर्न खोज्नु हास्यस्पद छ । अझ नेपाली कांग्रेसले नै मुद्दा बनाउन खोज्नु त झन् लाजमर्दो विषय हो । किनभने, यस कुराको हेक्कासमेत नभएको कांग्रेसलाई अचानक कुम्भकर्ण ६ महिनामा निद्राबाट ब्युँझेजस्तो भयो । तरकारीमा विषादी जाँच्नुपर्दो रहेछ भन्ने कुरा त बल्ल उहाँहरूलाई सरकारको निर्णयबाट थाहा भयो ।

प्रधानमन्त्रीले नै भारतबाट भएको पत्राचारबारे जानकारी भएन भनेर अनभिज्ञता प्रकट गर्नुले यस प्रकरणमा सरकारकै कमजोरी र अपरिपक्वता छताछुल्ल भएन र ?
अलिकति त्यस्तो देखियो । म मन्त्रालय विशेषलाई भन्दा पनि समन्वयको अभाव नै मुख्य कारण ठान्छु । भारतीय दूतावासले असार १४ गते पत्र पठाएको छ । मैले चेक गर्दा परराष्ट्र मन्त्रालयबाट १७ गते सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको देखिन्छ । तर, त्यसअघि नै पत्र सार्वजनिक भएको छ । त्यो पत्र कसरी सम्बन्धित ठाउँमा नपुग्दै सार्वजनिक गरियो भन्ने निश्चय नै गम्भीर विषय छ । कतै दुई देशबीचको सम्बन्धलाई नै प्रभाव पार्ने, अथवा सरकारलाई अप्ठ्यारोमा पार्ने हिसाबले त कसैले यसलाई प्रयोग गरेन भन्ने आशंका पनि छ ।

मेरो तर्फबाट भन्नुपर्दा सरकारका सबै अंगहरूबीच पर्याप्त समन्वय हुनुपर्ने यसबाट शिक्षा लिएका छौँ । तर, फेरि म तपाईंहरूको लोकप्रिय पत्रिकामार्फत आश्वस्त तुल्याउन चाहन्छु, यो नागरिकहरूलाई स्वस्थ, पोषणयुक्त खाद्य उपलब्ध गराउनु सरकारको दायित्व हो, कानुन र संविधानले तोकेको अभिभारा हो । त्यससम्बन्धी हाम्रा आवश्यक क्षमता छिटोभन्दा छिटो विस्तार गरेर सम्बन्धित राष्ट्रहरूलाई हाम्रा आधारभूत मापदण्डबारे जानकारी दिएर, पूर्वपरामर्श गरेर अघि बढ्छौँ

यस प्रकरणमा छानबिन गरेर सरकारले दोषीमाथि कारबाही गर्छ ?

आन्तरिक रूपमा हामीले छलफल गरिरहेका छौँ । प्रधानमन्त्री स्वयंले यसलाई गम्भीरतापूर्वक लिनुभएको छ । प्रधानमन्त्रीलाई संसदीय दलको बैठक बसुन्जेलसम्म पनि त्यस सम्बन्धमा कुनै जानकारी रहेनछ । तर, संयोगवश म त्यतिवेला मुलुकबाहिर थिएँ । मित्रराष्ट्र भारतले गम्भीरतापूर्वक उठाएको विषयको पत्र पुगेका ठाउँबाट प्रधानमन्त्रीले पहिलो जानकारी पाउनुुपथ्र्यो । जहाँजहाँबाट कमजोरी भएको छ, त्यो गम्भीर छ । यस सम्बन्धमा हामीले आन्तरिक छलफल गरिरहेका छौँ ।

विषादी प्रकरणपछि भारतसँग कुनै असमझदारी छ कि छैन ?

असमझदारी हुनुपर्ने कुनै कारण छैन । किनभने, कुनै पनि देशले आफ्नो व्यापारका सन्दर्भमा निश्चित क्राइटएरियाहरू बनाउने काम गर्छ । उहाँहरूले पूर्वसूचना नभईकन किन गरियो भन्ने चासो प्रकट भएको पत्रमा उल्लेख छ ।

परराष्ट्र मामिला सञ्चालनमा प्रधानमन्त्री नै बढी सक्रिय हुनुहुन्छ । सरकारका कतिपय निर्णयहरू परराष्ट्रमन्त्रीले क्याबिनेट बैठकमा मात्र थाहा पाउने स्थिति छ, राजदूत नियुक्तिलगायतका महत्वपूर्ण निर्णयमा त तपाईंलाई नै बाइपास गरिएको भन्ने सुनिन्छ । वास्तविकता के हो ?

म यस्ता चर्चा सुनेर कहिलेकाहीँ एक्लै हाँस्छु । हाम्रा कतिपय मिडियाकर्मी साथीहरू सूचनाको स्रोतको पहुँचबाट कति टाढा र खोज अनुसन्धानको गहिराइबाट कति टाढा हुनुहुन्छ भन्ने ठान्दछु । परराष्ट्र मन्त्रालयका सन्दर्भमा यो सर्वथा निराधार टिप्पणी हो । राज्य सञ्चालनमा प्रधानमन्त्री सर्वोपरि भएकामा कुनै शंका रहेन । त्यसमाथि परराष्ट्रजस्तो संवेदनशील र हिजो आफैँ परराष्ट्र मन्त्रालय सम्हालिसकेको व्यक्ति भएको नाताले बाह्य सम्बन्धको विविध पक्षहरूका बारेमा उहाँको गहिरो चासो हुनु स्वाभाविक हो । ती चासाहरू प्रकट हुन्छन्, छलफल हुन्छन् । छलफल र परामर्शबाटै ती विषयहरू प्रस्तावका रूपमा क्याबिनेटमा आइपुग्छन् । त्यसैले, परराष्ट्रमन्त्रीले थाह नपाई प्रस्ताव आउँछ भन्ने कुरा त उपन्यास लेख्न मात्र काम लाग्छ । कहिलेकाहीँ छलफल हुँदा सुरुमा उहाँ र मेरा बीचमा एउटै धारणा नबनेको पनि हुन सक्छ । यो स्वाभाविक हो । तर, छलफलबाटै अन्तिममा टुंगिन्छ ।

हामीले बहुपक्षीयताको चर्चा गरिरहँदा सार्क सम्मेलन हुन नसकेर कोमामा पुगेको भन्न थालिएको छ । नेपाल सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा छ । भारत र पाकिस्तानको तनाबले सार्क सम्मेलन हुन सकेको छैन । सार्कलाई सक्रिय तुल्याउन नेपालले अहिले के भूमिका निर्वाह गरिरहेको छ ?

नेपाल बलियो क्षेत्रीय सहकार्यको पक्षमा छ । हामी सार्क र बिमस्टेक दुवैको पक्षमा छौँ । हामी दुवैलाई आपसमा तुलना गर्दैनौँ, एकअर्काका प्रतिस्पर्धी ठान्दैनौँ । अथवा, एकलाई बलियो बनाएर अर्कोलाई निषेध गर्नुपर्छ भन्ने मान्यता राख्दैनौँ । दुवैका आफ्ना ब्युटी छन् । सार्क हाम्रो ब्युटी हो । दक्षिण एसियाभन्दा त्यसले वेग्लै भाव बुझाउँछ, र यो तुलनात्मक रूपमा पुरानो र संस्थागत भइसकेको संरचना पनि हो । यद्यपि, दक्षिण एसियामा क्षेत्रीय सहकार्य अपेक्षित बलियो र प्रभावकारी बन्न सकेको छैन ।

हिजो सार्क हुँदै पनि यस्तो टिप्पणीमुक्त थिएन । बिमस्टेक अझ नयाँ संस्था हो, त्यसको प्रभावकारितामाथि पनि थुप्रै प्रश्नहरू छन् । तर, दुवैलाई सक्रिय र प्रभावकारी बनाउनुबाहेकको अर्को कुनै विकल्प छैन । हामी सार्क र बिमस्टेकलाई सँगै लिएर जाने पक्षमा छौँ । सार्कका संयन्त्रहरू अहिले पनि सक्रिय छन् । हुन नसकेको सम्मेलन मात्र हो । बिमस्टेकको हामी अध्यक्ष राष्ट्र थियौँ, अध्यक्ष राष्ट्रले सम्मेलन आयोजना गरेर हस्तान्तरण गर्ने प्रावधान रहेकाले हामीले सम्पन्न गरिसक्यौँ, तर सार्कको भावी अध्यक्षले सम्मेलन आयोजना गर्नुपर्ने हुन्छ । त्यसैले, अहिले चाहेर पनि हामीले सम्मेलन गर्न सक्दैनौँ । तर, हामी उपयुक्त समयको पर्खाइमा छौँ । बलियो सहकार्य, आर्थिक समृद्धि, बलियो क्षेत्रीय सहकार्य र सम्बन्धले नै सार्कका १ अर्ब ८० करोड जनताको भाग्य र भविष्यलाई बदल्न सक्छ भन्ने लाग्छ । त्यसकारण हामी आशावादी छौँ ।

अब देशभित्रको चर्चा गरौँ । सरकारको कामबारे तपाईंको मूल्यांकन के छ ?

पहिलो वर्ष हामीले समृद्धिको जग बसालेका छौँ । एक वर्षभित्र १६ वटा मौलिक अधिकारसहित करिब ६० वटा नयाँ कानुन, सयौँ पुराना कानुन संशोधन, दर्जनौँ नयाँ नियमावलीहरू बनायौँ । लगानीमैत्री वातावरणका लागि संरचना निर्माण गर्नु सामान्य विषय थिएन । सरकार बन्दा संघीयता कागजमा थियो, त्यसलाई धर्तीमा आफ्नै खुट्टामा उभिने बनाउन र चलायमान बनाउन गरिएका कामहरू पनि सामान्य होइनन् । वित्तीय हस्तान्तरण, कर्मचारी समायोजनको विषयलाई अन्य संघीय मुलुकसँग तुलना गर्दा हुन्छ, एक वर्षमा एक लाखभन्दा बढी कर्मचारीको समायोजन हुने कुरा यति सामान्य ढंगले हुने कुरा होइन । बाह्य सम्बन्धमा हासिल भएका उपलब्धि, जनताको जीवनस्तर जोडिने गरी सामाजिक सुरक्षा, रोजगारीको कार्यक्रमलगायतका कामलाई हेर्दा आधारभूत रूपमा हामी ठीक बाटोमा छौँ ।

यति हुँदाहुँदै पनि हाम्रा केही सीमाहरू प्रकट भएको यथार्थ हो । जनताका असाध्यै ठूला अपेक्षा छन् । दुईतिहाइ छ, केले रोक्छ रु स्वाभाविक प्रश्न हो । अहिलेको समस्या, जनताको अपेक्षा र हाम्रो डेलिभरीको बीचमा भएको दूरीले हामीलाई अझ राम्रोसँग काम गर भनेर घचघच्याइरहेको छ । दोस्रो, हाम्रा सबै संरचनाहरू–पार्टी संरचना, नागरिक संरचना र अहिलेको सरकार खास गरी प्रधानमन्त्रीको सोचको बीचमा एउटा ठूलो ग्यापजस्तो देखिन्छ । गाडीको इन्जिन त हामीले टोयटा अथवा मर्सिटिजको हाल्यौँ, तर बडी थोत्रो छ । इन्जिनको स्पिडसँग हाम्रो बडीले लगाम मिलाउन सकेको छैन ।

प्रधानमन्त्रीले काठमाडौंको खाल्टो पुर्न तीनपटकसम्म भन्नुपर्छ भने समस्या कति संरचनामा छ भन्ने बुझिन्छ । जो रातारात परिवर्तन भइहाल्ने पनि होइन । हामीले वस्तुपरक मूल्यांकन गर्नुपर्दा एकखालको संरचनामा हुर्किँदै आएकाले नयाँ भाका टिप्न समय लागिरहेको अवस्था छ । तेस्रो, हाम्रा कतिपय निर्णयहरूमा पर्याप्त पूर्वपरामर्शको अभाव खट्कियो, जसले सरोकारवालाहरूको असन्तुष्टिमा प्रकट हुन र विभिन्न पक्षले कहिलेकाहीँ त्यसलाई उपयोग गरिएको पनि देखियो । त्यसप्रति हामी गम्भीर भएका छौँ, र पाठ सिकेर अघि बढ्ने कुरा गरिरहेका छौँ ।

म भन्छु, प्रधानमन्त्रीलाई दशवटा कुरामा आलोचना गर्नुस् । तर, देशमा विकासको बहस कसले सुरु गर्यो ? हिजो त हामी जात, धर्मका कुरा गथ्र्यौँ, आपसमा प्रतिस्पर्धा, द्वन्द्वका कुरा मात्र गथ्र्यौँ । बहसलाई विकासतर्फ केन्द्रित गरेर, विकासबाटै सरकारको पर्फमेन्स नाप्ने ठाउँमा कसले पुर्‍यायो रु यस्तो प्रतिकूलताभित्र पनि ७ प्रतिशत वृद्धिदर हासिल गर्ने कुरा ठट्टा त होइन नि रु एकोहोरो आलोचना, निन्दा र भत्र्सनाको स्थितिभित्र आग्रह, कुण्ठा मिसिएका छन् । त्यसलाई त हामी पचाएरै अघि बढ्छौँ । तर, जसले असल विचारले सरकारले गरेको कामको वस्तुनिष्ठ आलोचना गर्नुहुन्छ, त्यसलाई हाम्रो स्वागत छ ।

प्रधानमन्त्री परिवर्तन हुने, सरकार पुनर्गठन हुनेजस्ता चर्चाले पनि सरकारलाई अप्ठ्यारोमा पारिरहेको हो ?

मन्त्रिपरिषद् पुनर्गठन त सामान्य कुरा हो । हामी मन्त्रीहरू प्रधानमन्त्रीको टिममा छौँ । राम्रो काम गर्ने रहने र गर्न नसक्नेहरू जाने हो । तर, नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टीलाई दिएको मतको एक मात्र अन्तर्य हामीले सारेको स्थिरता र समृद्धिमै हो । यसलाई कमजोर पार्ने गरी कुनै पनि कुरा जनताको भावनाविपरीत हुन्छ । त्यसकारण अस्थिरतालाई प्रश्रय दिने काम कसैले पनि गर्नुहुन्न र कसैले बल पुर्‍याउनुहुन्न ।
नयाँ पत्रिका दैनिकवाट