
विराटनगर । अविरल वर्षा र बाढीले मोरङ–सुनसरीका औद्योगिक करिडोरका अधिकांश उद्योग डुबेका छन्। पानी पसेर डुबान भएपछि ७० प्रतिशतभन्दा बढी उद्योग बन्द भएका छन्।
मोरङ र सुनसरीका अधिकांश उद्योग कोसी राजमार्ग, विराटनगर–रंगेली र दुहवी–इनरुवा सडकखण्ड आसपासमा छन्। यहाँ सानाठूला गरेर ६ सय उद्योग सञ्चालनमा रहेको उद्योगीले जानकारी दिएका छन्। सडक जलमग्न भएसँगै सडकभन्दा तलको सतहमा रहेका उद्योग डुबानको चपेटामा परेको मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवनकुमार सारडाले जानकारी दिए। ‘सडकमै दुई फिटसम्म पानी जमेको छ। उद्योग सडकभन्दा होचो भू–भागमा छन्’, उनले भने, ‘सडकभन्दा तल रहेका कारण सबै जसो उद्योगमा पानी पसेको छ। अधिकांश उद्योगले उत्पादन बन्द गर्नु परेको छ।’ यसबाट उद्योगमा करोडौं नोक्सानी भएको छ। पानीले सबै कच्चा पदार्थ नष्ट गरेको र मेसिन पनि बिगारिदिएको छ। उनले तत्काल उद्योग खोलेर चलाउन सक्ने अवस्था नरहेको जानकारी दिए। पानी पसेको मेसिन चलाउँदा विद्युत् सर्ट भएर दुर्घटना पनि हुन सक्ने सम्भावना हुन्छ। केही मात्रामा ठूला उद्योग चालु अवस्थामा रहे पनि दैनिक उत्पादन ३० देखि ३५ प्रतिशत मात्रै रहेको सारडाको भनाइ छ।
उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले आर्थिक वर्षको अन्त्यमा उद्योग बन्द गर्नुपर्ने अवस्था आउनु दुःखद् भएको बताए। ‘औद्योगिक क्षेत्रमा पानी निकासी गर्न व्यवस्थित नाला छैन। यसले गर्दा वर्षाका बेला उद्योगभित्र पानी पस्ने गरेको छ’, उनले भने, ‘त्यसमाथि पनि निरन्तरको वर्षाले पानीको निकास झनै कठिन बनाएको छ। यो समस्या धेरै पहिलेदेखि कै हो।’ डुबानका कारण मजदुर आउन नसक्दा पनि कतिपय उद्योग बन्द गर्नु परेको उनले बताए।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले मोरङको कटहरी गाउँपालिकामा सञ्चालन गरेको बाबा जुटमिल पनि शुक्रबारदेखि बन्द छ। उद्योगभित्र पानी पूरै जमेको र सडकमा बिजुलीका खम्बा पनि ढलेर विद्युत् आपूर्ति बन्द छ।
माछा बगाउँदा लाखौं क्षति
बाढीले सुनसरीको बर्जु गाउँपालिकामा रहेको विराट लक्ष्मी कृषि माछा फार्मका माछा बगाएको छ। विराटनगरका दुई युवाले सञ्चालन गरेको माछा फार्ममा बाढी पसेको छ। सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर फुटेर ढल र लेदोसहित आएको बाढीले फार्ममा पालिएका माछा बगाउँदा २७ लाखभन्दा बढीको क्षति भएको फार्म सञ्चालक प्रतीक ढकालले बताए।
सात बिघा क्षेत्रफलमा रहेका ११ वटा पोखरीमा लेदोसहितको बाढी पसेको छ। ढकालका अनुसार माछाका साना भुरा १२ लाख, ठूला ६ लाख तथा माछाका दान र भुसी गरेर ९ लाख ६० हजार बराबरको क्षति भएको छ। ‘२०७४ सालमा बाढीले पनि फार्ममा ठूलो क्षति गरेको थियो’, उनले भने, ‘फेरि यस वर्ष पनि त्यही घटना दोहोरियो।’ विराटनगर महानगरपालिकासहित कटहरी र जहदा गाउँपालिकामा बाढीले माछा पोखरीमा ठूलो क्षति पुर्याएको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।












