
काठमाडौं । वातावरण विभागले अत्यधिक प्रदूषण गर्ने ३४ अस्पताल र उद्योगलाई कारबाहीको सिफारिस गरेको छ । विभागले १८ निजी अस्पताल, आठ खाद्य उद्योग तथा उत्पादन कम्पनी, चार सिमेन्ट उद्योग, दुई डिस्टिलरी कम्पनी, एक क्रसर उद्योग र एक प्लाइउड कम्पनीलाई कारबाहीका लागि वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।
वातावरण संरक्षण नियमावली ०५४ अनुसार मापदण्ड पूरा नगरेपछि विभिन्न जिल्लामा रहेका अस्पताल र उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ । विभागका अनुसार ती संस्थाले गत वर्षको असारदेखि अहिलेसम्म एक वर्षको अवधिमा मापदण्डभन्दा धेरै प्रदूषण र फोहोर गरेका छन् । विभागले १७ अस्पताल तथा उद्योगलाई सचेत पत्र पठाएको छ भने ५१ निकायलाई बयानका लागि बोलाएको जनाएको छ ।
विभागले तोकेको मापदण्ड पूरा नगर्ने र वातावरणीय प्रभाव मूल्यांकन (आइई) पूरा नगरेका अस्पताल र उद्योगलाई ५० हजार रुपैयाँसम्म जरिवाना गरेको वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलले बताए । अस्पतालले कुहिने र नकुहिने फोहोर व्यवस्थापन नगरेमा, मानव स्वास्थ्यलाई हानि हुने गरी औषधि व्यवस्थापन नगरेमा कारबाही गर्ने व्यवस्था नियमावलीमा रहेको उनले बताए । अत्यधिक धुवाँ–धुलोलगायत प्रदूषण गरेमा पनि कारबाही गर्ने व्यवस्था छ ।
विभागले अहिलेसम्म चारवटा उद्योगलाई कारबाही गरेको छ जसमा हुलास स्टिल उद्योग बारा, चौधरी उद्योगग्राम नवलपरासी, धुलिखेल अस्पताल र क्युरेक्स फर्मास्युटिकल काभ्रे छन् । ती संस्थालाई ५० हजार रुपैयाँका दरले जरिवाना लिइएको विभागका सूचना अधिकारी पौडेलले जानकारी दिए ।
कारबाही सिफारिसमा परेका अस्पताल र उद्योग
- बिपी स्मृति अस्पताल वसुन्धरा काठमाडौं
- ग्रिनसिटी अस्पताल काठमाडौं
- विनायक अस्पताल तथा प्रसूतिगृह गोंगबु
- सहिद मेमोरियल अस्पताल कलंकी
- एभरेस्ट अस्पताल बानेश्वर
- हेल्पिङ हेन्डस सामुदायिक अस्पताल चाबहिल
- मेडिकेयर अस्पताल चाबहिल
- नोबेल हस्पिटल सिनामंगल
- ओम अस्पताल चाबहिल
- काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल सिनामंगल
- कान्तिपुर अस्पताल तीनकुने
- भेनस हस्पिटल बानेश्वर
- भरोसा क्लिनिक बानेश्वर
- सञ्जीवनी अस्पताल एन्ड भिएफ सेन्टर विराटनगर
- एम्स हस्पताल एन्ड क्यान्सर सेन्टर विराटनगर
- सुरक्षा हस्पिटल विराटनगर
- गोल्डेन हस्पिटल विराटनगर
- लाइभ केयर फर्मास्युटिकल भरतपुर
- जगदम्बा स्टिल उद्योग सिमरा बारा
- आरती स्ट्रिप उद्योग मोरङ
- प्रिमियर स्टिल्स उद्योग दुहबी सुनसरी
- रियलान्स स्चिनिङ उद्योग खनार सुनसरी
- प्रिमियर वायर उद्योग मोरङ
- क्वालिटी थाई फुड्स खाद्य उद्योग विराटनगर
- एसियन थाई फुड्स विराटनगर
- बाबा भेजिटेबल तेल खाद्य उद्योग इटहरी
- प्रगति टेक्स्टाइल क्रसर उद्योग खनार सुनसरी
- चण्डिका डिस्टिलरी रंगेली मोरङ
- माउन्ट एभरेस्ट ब्रुअरी डिस्टिलरी भरतपुर
- ओम प्लाइउड
- घोराही सिमेन्ट उद्योग दाङ
- सिजी सिमेन्ट उद्योग त्रिवेणी नवलपुर
- केपी सिमेन्ट उद्योग नौबिसे धादिङ
- युनाइटेड सिमेन्ट उद्योग नौबिसे धादिङ
- नयाँ पत्रिका दैनिकबाट












