२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिलैमा घर, लान्छ भन्‍ने डर



अ+ अ-

इटहरी । तीन दिन भयो इटहरी–४ स्थित गैरीगाउँका बासिन्दाले आँखा झिमिक्क गर्न नपाएको। निरन्तरको वर्षा अनि घरछेउमै उर्लिरहेको बूढीखोलाले तीन सयभन्दा बढी घरपरिवार बाढीले बगाउने हो कि भनेर राम्ररी गाँस हाल्नसमेत सकेका छैनन्। दिनभरि बाढीको रमिता हेर्ने स्थानीयका आँखा रातमा पनि खोलाभन्दा अन्यत्र जाँदैनन्। परिवारका सदस्य जागै रहन्छन्। पालैपालो फुत्त खोलाछेउ पुग्छन् अनि पानी बढेको वा घटेको सूचना ल्याउँछन्। त्यसैअनुसार सबै सतर्क रहन्छन्।

दुई वर्षअघि साउन २७ गते राति बस्तीका सबै बासिन्दा खाना खाएर सुतेका थिए। राति एक्कासी बाढी आयो। मध्यरात उर्लिएको बाढी त्यही बस्तीका ६ जनाको ज्यान लिएर सामसुम भएको थियो। परिवार गुमाउनेहरू अझै त्यहीं बसिरहेका छन्। त्यो बाढीमा ४ घण्टा पौडिएर बाँचेकी सानुमाया राई भन्छिन्, ‘अन्त कहाँ जानु ? बाढी कतिखेर आउँछ थाहा हुँदैन।’

११ वर्षदेखि गैरीगाउँमै बसिरहेकी शान्ति सदाले भनिन्, ‘दिउँसो र राति पालैपालो खोला हेर्छौं।’ शुक्रबारदेखि उनी घरमा बस्नै सकिनन्। भाँडाकुँडा र केही लुगा बोकेर हिँडिन्। ‘आउँदैन हौ बाढी’, छिमेकीले भन्दै थिए। तर उनको डर छिमेकीको भरभन्दा दह्रो देखिन्थ्यो, ‘मास्तिर बहिनीकोमा जान्छु, राति उतै बस्छु’, उनले भनिन्।

उनीहरूको बस्ती बूढीखोला किनारको ऐलानी जग्गामा छ। कुनै समय त्यही जग्गाबाट खोलो कुद्थ्यो। खोलाले धार परिवर्तन गरेर छाडेको त्यो जमिन इटहरी चोक र महेन्द्र राजमार्गनजिक थियो। दलहरूका नेताले उनीहरूलाई जग्गा बाँडेपछि उनीहरू त्यहाँ बस्न थालेका हुन्।

बाढी आउने भनेको वर्षमा २÷३ दिन मात्र हो। त्यसैले दुई वर्षअघिको बाढीबाट पीडित पनि त्यो ठाउँ छाडेर जान सक्दैनन्। बरु खोलो बढ्नेबित्तिकै सुरक्षित स्थानमा गएर सुत्छन्। त्यसैले बाढीको वितण्डाबारे सुनेर पनि थातथलो गैरीगाउँमै बनाउन नयाँ मानिस आइरहेको छ ।

गैरीगाउँवासी पालैपालो फुत्त खोलाछेउ पुग्छन् अनि पानी बढेको वा घटेको सूचना ल्याउँछन्।

१० महिनाअघि ७ लाख रुपैयाँमा घर किनेकी एलिना राई पनि खोला देखेर त्रसित छन्। अझ ठूलो डर त दुई वर्षअघिको घटना सुनेर लाग्छ उनलाई। ‘पहिला बाढी आएको थिएन, अचेल मात्र हो, त्यो पनि वर्षमा २/३ दिन त हो’, उनी तम्तयार छन्, भन्छिन्, ‘पानी हेरिरहन्छौं, अलि बढ्यो भने अरूतिरै जान्छौं।’

गैरीगाउँमा बस्ने सबै सुकुम्बासी होइनन्। कतिले वर्षौंदेखि जग्गा ओगटेका छन्, अन्तै बस्छन्। कतिले आफन्त ल्याएर राखेका छन्, कतिले अरूबाट किनेर टहरो बनाएर राखेका छन्। धेरैले वर्षामा बाढीको तयारीसमेत गरिसकेको वडाध्यक्ष चन्द्र भट्टराई बताउँछन्। ‘कतिले अन्तै डेरा लिएका पनि छन्’, उनी भन्छन्, ‘बाढीको सामना गर्न सबै तयार छन्, वडा र नगरपालिकाले पनि तयारी गरेको छ।’

उनका अनुसार बूढीखोला नियन्त्रण गर्न यस वर्ष एक करोडभन्दा बढी रकम खर्च भइसकेको छ। ‘यो पटक त्यस्तो बाढी नआउला भन्ने अनुमान छ’, उनी भन्छन्, ‘तर पानी २/३ दिन लगातार परिरह्यो भने फेरि पनि डुबाउन सक्छ।’,समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ।