
काठमाडौं । खराब मौसमका कारण डोल्पाको जुफाल विमानस्थल तीन दिनदेखि बन्द छ । उडान हुन नसकेपछि प्रदेश सरकारले पठाएको पीयूषलगायतका औषधि नेपालगन्जमै रोकिएको छ । बिरामीको चाप बढ्दै गएकाले जिल्लामा मौज्दात औषधि पनि सकिन थालेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।
विमानस्थल आसपास क्षेत्र हुस्सुले छोपिएकाले कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण कार्यालय जुफालले जनाएको छ । जहाज नआएपछि सर्वसाधारण विमानस्थलमै अलपत्र परेका छन् । नेपालगन्जबाट उडान भर्दै आएका तारा, गोमा, नेपाल एयरलाइन्सका उडान नभएपछि दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या भएको छ ।
डोल्पाको ठुलीभेरी नगरपालिकामा एक सातादेखि फैलिएको टाइफाइडको प्रकोप नियन्त्रणबाहिर छ । जिल्ला अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्न थालेको छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा २५ जना बिरामीको उपचार भइरहेको छ । जिल्ला अस्पतालका अनुसार डाक्टर, नर्स र कर्मचारी गरी डेढ दर्जन टाइफाइडले थला परेका हुन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












