
उदयपुर । उदयपुरमा उत्पादित अर्गानिक हरियो करेला खाडी मुलुकमा निकासी हुन थालेको छ । भारतबाट विषादी युक्त तरकारी आयतले गर्दा नेपालमा उत्पादन भएको हरियो तरकारीले बजार नपाएर किसानहरू पीडित छन् । उत्पादनले भाउ नपाएपछि बेलाबेला तरकारी सडकमा फालेर सडकमा विरोध जनाउने किसानहरूका लागि गुणस्तरीय तरकारी उत्पादन गरे स्वदेशमा मात्र नभई विदेशमा पनि राम्रो बजार लिन सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ, उदयपुरको हरियो करेला ।
प्रदेश १ को उदयपुर जिल्लास्थित बेलका नगरपालिका– २ को सप्तकोशी किनारास्थित कोसीटप्पुमा उत्पादन भएको आर्गानिक तिते करेला खाडी मुलुक कतारमा निर्यात सुरु भएको छ । पहिलो पटक ५० कार्टुन करेला कतार निर्यात भएको थियो । दोश्रो पटक ९० कार्टुन तिते करेला कतार पठाउने तयारी भइ रहेको छ । नेपालको गुणस्तरीय एवं अर्गानिक हरियो तरकारीलाई ब्लाक डायमन्ड अर्गानिक प्रा।लि।ले कतार पठाउन थालेको हो ।
एक वर्षदेखि नेपालको अर्गानिक तरकारीलाई कतार पठाइ रहेको प्रालिले यस वर्षदेखि उदयपुरको बेलका नगरपालिकामा उत्पादन भएको तरकारीलाई पठाउन थालेको छ । प्रालिले नेपाल सरकारको रोहवरमा कतार सरकारसँग अर्गानिक तरकारी निर्यात गर्ने सम्झौता नै गरेको छ । सोही अनुसार हाल दैनिक तीन टन तरकारी कतार पठाइ रहेको प्रालिका निर्देशक नारायण कार्कीले जानकारी दिए । कतार पठाउन थालेको एक वर्ष भयो, माग धेरै छ, नेपालमा उत्पादन कम छ,’ उनले भने, ‘विषादीरहित अर्गानिक तरकारी पठाइ रहेका छौं । कम्पनीका प्रतिनिधि बिसन विष्टका अनुसार प्रालिले बेलका नगरपालिका– २ कोशी टप्पुको ६ बिघा जग्गामा तरकारी खेती लगाएको छ ।
बेलका नगरपालिका उदयपुरको पूर्वी भेगको सुनसरीसँग सिमाना जोडिएको नगरपालिका हो । यहाँ अहिले प्रा।लि।ले आफैंले अर्गानिक तरकारी उत्पादन गरि रहेको छ । किसानले उत्पादन गरेको तरकारी खरिद गरेर प्रा।लि।ले कतार पठाउन बेलका नगरपालिका, कृषि समूह र प्रा।लि।बीच त्रिपक्षीय सम्झौता पनि भएको छ । सम्झौता अनुसार बेलका नगरपालिका–२ र ३ मा कृषि समूहलाई सो प्रा।लि।ले प्रविधि, बीउबिजन, सिँचाइ लगायत सबै कुरामा लगानी गरि दिएको छ ।
किसानले उत्पादन गरेको तरकारी प्रा.लि.ले निश्चित मूल्यमा खरिद गर्ने सम्झौता गरेको छ । बजारमा भाउ घटबढ भए पनि किसानलाई कुनै असर नगर्ने गरी सम्झौता गरिएको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थापाले बताए । ‘हामीले एक वर्षका लागि त्रिपक्षीय सम्झौता गरेका छौं, किसानको उत्पादनको रेट फिक्स तोकेका छौं,’ नगर प्रमुख थापाले भने, ‘प्रा.लि.ले प्रविधि दिन्छ, ऋण पनि दिन्छ, तालिम दिलाउँछ र पछि उसको लगानी पनि कटाएर किसानलाई मूल्य दिन्छ ।
बालुवालाइ माटो बनाउदै
नगर प्रमुख थापाका अनुसार यस वर्ष नगरपालिकाले उत्पादन आधार वर्ष मनाएको छ । जस अन्तर्गत किसानहरूको क्षमता अभिबृद्धि गर्न तालिम दिने, अर्गानिक उत्पादनमा बढाउने र बजारीकरण गर्न नगरपालिकाले समन्वय गरि रहेको छ । उनका अनुसार ५ सय हेक्टरमा चक्लाबन्दी गरेर मकै उत्पादन गरिएको छ । सो मकै पाल्पाको श्रीनगर कम्पनीले खरिद गर्ने सम्झौता भएको नगर प्रमुख थापाले बताए । ‘बालुवा भएको ठाउँलाई माटो बनाउने प्रविधि अपनाएर जनतालाई कृषि उत्पादनमा लाग्न प्रेरित गरेका छौं,’ उनले भने, ‘पहिला हरिण, बँदेल मारेर मासु बेच्थ्यो यहाँ, रक्सी पार्ने र अफिम खेती पनि हुने ठाउँ हो यो, अहिले यहाँ अर्गानिक तरकारी खेती उत्पादन हुँदै छ ।
बेलका नगरपालिकाले ६ हजार बिगाहामा ७ करोड लगानी गरि आधुनिक कृषि परियोजना सञ्चालन गर्दैछ । उदयपुरको बेलका नगरपालिकाले ६ हजार बिगाहा जमिनमा ७ करोड रुपैयाँ लगानीमा नमुना आधुनिक कृषि फर्म बिस्तार परियोजना सुरु गरेको छ । परियोजनाबाट उत्पादित सबै अन्नबाली, फलफूल तरकारी अर्गायानिक हुने जनाएको छ । सो परियोजना मध्येबाट हरियो तितेकरेलाको उत्पादन सुरु भएको हो । कोशी नदीले धार परिवर्तन गरेर पूर्व हानिएपछि बेलकातिर पर्ने श्रीलंका टप्पुका नदि उकास ऐलानी पर्ती जमिनलाई उपयोग गर्न परियोजना सुरु गरेको हो ।
पहिलो चरणमा परियोजनाले २ करोड रूपैयाँ लागतमा सय बिगाहामा उन्नत जातको घाँस र मकै उत्पादनका लागि श्रीलंका टप्पुका पटेरघारी सम्याएर तार घेराबेरा, आधुनिक कृषियन्त्र प्रयोग भई काम भएको नगरपालिकाका कृषि इन्जिनियर बुद्धिनाथ तिम्सिनाले बताए । उनले भने, ‘बाहिरबाट देख्दा बालुवाको बगर भए पनि श्रीलङका टप्पुको जमिन उर्बर भएकाले सामान्यतया सबै खाले अन्नबाली, फलफूल तरकारी उत्पादन गर्न सकिने भएकाले नगरपालिकाले परियोजनामा लगानी गरेको हो ।
उनका अनुसार स्थानीय कृषि सहकारी, समुदाय र कृषकलाई बढी फाइदा दिने उद्देश्यले नगरपालिकाले कृषि पूर्वाधार विकास तथा यान्त्रिक प्रवर्द्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नगरपालिकाले विभिन्न खाले यान्त्रिक उपकरण र औजार खरिद गरि काम गरेको हो । परियोजना सफल बनाउनका लागि जमिन सम्याउने ट्याक्टर, आलु रोप्ने पोटेटो प्लान्टर, पोटेटो डिगर, माटो फुर्रर बनाउने डिस्क ह्यारो, खनजोत गर्ने कल्टिभेटर, रोडाभेटर, पावरह्यारो, गहुँ छर्ने मेसिन, मल र बीउ एक साथ छर्ने जिरो टिल सिड लगायतका उपकरण रहेका छन ।
कोशीको बगरमा जो पायो त्यसले अस्थायी टहरा बनाउने, आफू खुसी सिमाना तोकेर आफ्नो भएको दाबी गर्ने, सरदर प्रतिबिघा ५ लाख रुपैयाँसम्ममा बिक्री वितरण गर्ने जस्ता भूमाफियाको दबदबा बढ्न थालेपछि नगरपालिकाले ऐलानी पर्ती नदि उकास जमिन सुरक्षा गर्दै आधुनिक कृषि परियोजना सुरु गरेको हो । बेलका नगरपालिकाका कृषि सल्लाहकार नारद निरौलाका अनुसार किसानलाई सामूहिक खेतीबाट आम्दानी लिन सक्ने बनाउने, समूह र सहकारीका रूपमा सेयर आह्वान गर्ने, नगरपालिकालाई निश्चित कर तिर्ने गरी खेती गर्ने वातावरण तयार गर्ने परियोजनाको उद्देश्य रहेको छ । तत्कालका लागि ३० बिगाहामा सुडान र टिओसेन्टी जातको बहुवर्षीय भुइँघाँस र ७० बिगाहामा रामपुर कम्पोजिट जातको मकै खेती गरिएको जनाइएको छ ।
कृषि परियोजनामा आवश्यक पर्ने मलका लागि गाईबस्तु पाल्नु पर्ने हुन्छ । तिनका लागि चाहिने उन्नतजातको घाँसको खेती सुरु गरेका हुन् । उनले भने, ‘घाँस खेतीका माध्यमबाटै कृषि पर्यटन र कृषि अध्ययन केन्द्रको विकास गर्न परियोजनाको अर्को उद्देश्य छ । यस अघि नै बेलकामा डाले घाँसको श्रोतकेन्द्र सञ्चालनमा आइ सकेको जनाएका छन । अब भुइँघाँसका लागि सिड ड्रिल उपकरण प्रयोगमा ल्याउने तयारीमा रहेको बताए । श्रीलङ्का टप्पुमा कृषि परियोजनामा चाहिने सिंचाइका लागि सोलार सिस्टमबाट पानी उत्पादन गरेर अन्नबालीमा प्रयोग गर्ने जनाएका छन ।
बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापा (स्वास्तिक) ले बेलकामा स्थानीय कृषक समुदाय, सहकारी र अन्य विभिन्न समूहले सामूहिक चक्लाबन्दी खेती गर्ने, व्यवसायिक पशुपालन गर्ने, अर्गायानिक फलफूल तरकारी उत्पादित गरी आय आर्जनमा टेवा दिने र कृषि पर्यटन प्रवर्द्धनका साथै मुलुककै प्रमुख कृषि अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ परियोजना सञ्चालन गरिएको बताए ।
छ हजार गाई बस्तु अटाउने कान्जिहाउस
उनले भने, ‘चाँडै नै छ हजार गाईबस्तु राख्ने कान्जिहाउस तयार हुँदैछ । ती गाईबस्तुको प्राङ्गारिक मल प्रयोग गरेर २ सय ३० बिगाहामा परीक्षणका रूपमा अर्गायानिक खेती गर्न नर्सरी तयार हुँदैछ । उनले परियोजनाको सुरुवातसँगै डिपिआर पनि सुरु भइ रहेको बताए । अतिक्रमण गरेर बसेका मध्ये पहिचान भएका पुराना बासिन्दालाई र कोशी कटानबाट विस्थापित भएकाहरूका लागि सोही ठाउँमा पानी, विद्युत, स्वास्थ्य, विद्यालय र यातायात सुविधा सहितको एकीकृत बस्ती निमाण गर्ने तयारी नगरपालिका रहेको नगर प्रमुख थापाले बताए ।
उनले भने, ‘बेलकातिर पर्ने श्रीलङ्का टप्पुमा करिब ५–७ सय घर छन । ती सबैलाई व्यवस्थापन गर्नेछौं । व्यवसायिक कृषि खेतीमा उनीहरू नै सबै भन्दा बढी सहभागी हुनेछन । प्रदेश मन्त्रालयले चिस्यान केन्द्र र पोष्ट हार्वेिस्टङ सेन्टर समेत स्थापना गर्न बजेट पारित गरि सकेको नगर प्रमुख थापाको भनाई रहेको छ । ६ हजार बिगाहामा आधुनिक ब्यवसायी कृषि खेति प्रारम्भ भएपछि प्रदेश कै नमूनाको नमूना कृषि बनाउने योजना रहेको छ नगर प्रमुख थापाले बताएको राजधानी दैनिकमा प्रकाशित छ ।












