२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षाकोठामा हुनुपर्ने बालबालिका आरनमा घोटिँदै



अ+ अ-

काठमाडौं । हुम्ला–सिमकोट गाउँपालिका–८ स्थित खोल्सीगाउँकी ११ वर्षीया उर्मिला सुनार कान्ति निम्न माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययन गर्छिन् । विद्यालयभन्दा धेरै समय उनको आरन पेसामै बित्छ । घरको आर्थिक अवस्था कमजोर भएकाले आमाबाबुलाई आरनको काममा उनले सहयोग गर्ने गरेकी छिन् । दैनिकजसो उनी सल्लाको बोक्रा संकलन गर्न खगाल गाउँको वनमा पुग्ने गर्छिन् ।

कापी–कलम किन्ने पैसा नहुँदा स्कुल जान नसकेको उनी बताउँछिन् । स्कुल जान छाडेपछि आमाबाबुसँग आरनको काममा सहयोग गर्दै आएको उर्मिलाले बताइन् । ‘विद्यालय जाऊँ भने कहिले कापी हुँदैन, कहिले कलम र लुगा हुँदैन, त्यसैले पढ्न मन भए पनि जान मन लाग्दैन,’ उनले भनिन् । उर्मिलाजस्तै खोल्सीगाउँका पाँच घरका बालबालिकाको समस्या उस्तै छ । खोल्सीगाउँकै रूपसिंह सुनारले आर्थिक अवस्था कमजोर भएकैले विद्यालय छाडेको गुनासो गरे । कक्षा ६ मा पढ्दा–पढ्दै उनीहरू बीचमै स्कुल जान छाडेका हुन् । ‘१० वर्षको उमेरमै बुबा बित्नुभयो । घरमा आमा र भाइबहिनी छन् । आफ्नो नाममा जग्गा पनि छैन, त्यही भएर आरन पेसा गरी परिवार खर्चको जोहो गर्न गरेको छु,’ सुनारले भने ।

पालो लगाएर आरनको काम
खोल्सीगाउँका पाँच घरधुरीले ६/६ दिन पालो लगाएर आरनको काम गर्ने गरेका छन् । आरनमा हँसिया, कोदालीलगायतका सामान बनाउने गरेका छन् । ‘प्रतिघरधुरी ३५ केजी खाद्यान्न दिन्छन्, त्यही खाद्यान्नले परिवारको खर्च चलाउँछु,’ स्थानीय धउले सुनारले प्रश्न गरे, ‘छोराछोरी छन्, गाउँको खेतमा उब्जनी हुदैन, यो काम नगरे कसरी बालबच्चा पाल्नु, आफू के खानु ?’

सिमकोट गाउँपालिका–८ का स्थानीय सबले सुनार, नाना सुनार, रूपसिंह सुनार, कालीबहादुर सुनार र कर्ण सुनारले नाम्खा गाउँपालिका–३ को खगालगाउँमा आरन चलाएर परिवारको खर्च जोहो गर्दै आएका छन् । आमाबाबु घरमा नबस्ने र आरनको कामका लागि हिँड्ने गरेपछि बालबालिका पनि विद्यालय छाडेर आमाबाबुसँगै बस्ने गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।