२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँझो जग्गा भाडामा लिई तरकारी खेती



अ+ अ-
फाईल फोटो

परशुराम । डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका पाँच युवाले सामूहिक खेती गर्दै आएका छन् । पच्चीस वर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा रु २५ लाख आम्दानी गरेका छन् ।

स्थानीयवासी दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले ‘भागेश्वर एग्रिकल्चर एण्ड लाइभस्टक’ स्थापना गरी सामूहिक रुपमा तरकारी खेती गर्न थालेका हुन् । उनीहरूले १२ जनालाई रोजगारीसमेत दिएका छन् । यस क्षेत्रका अन्य युवा मिलेर बाँझो जग्गामा विभिन्न तरकारीका बीउ उत्पादन गर्दै आएका छन् । तराईमा बसाइँ सरेपछि गाउँको बाँझो जग्गाको उपयोग गरी मुनाफा हुन थालेपछि अन्य युवासमेत तरकारी खेतीतर्फ आकर्षित भएको रामचन्द्रले बताउनुभयो ।

अर्का सञ्चालक सदस्य सीताराम पहिलो पटक १०० क्विन्टल आलुको बीउ उत्पादन भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “रु दश लाख लगानी गरी यस वर्ष रु २५ लाख कमाइ भएको छ ।” बजारमा शुद्ध आलुको बीउको अभाव हुँदा बीउ उत्पादनमा जोड दिएको उहाँको भनाइ छ । सीतारामका अनुसार फार्मको मुख्य उद्देश्य बाँझो जमीनलाई खेतीयोग्य भूमिमा रूपान्तरण गरी गाउँको बेरोजगारी घटाउन प्रयास गर्नु हो । पहिलो चरणमा कम्पनीले बेरोजगार महिला र पुरुषलाई वर्षमआ झण्डै १२० दिन रोजगारी दिएको छ ।

आफू पनि रोजगार हुने र बेरोजगार युवालाई पनि काम दिन सकिने भएपछि युवाहरू यसरी सामूहिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । सञ्चालक सदस्य दत्तराजले भन्नुभयो, “कम्पनी गठन गरी व्यावसायिक खेती शुरु गर्दा धेरैले विश्वास गरेका थिएनन् । एकै वर्षमा लाखौँ रुपैयाँ मुनाफा भएपछि सबै आश्चर्यचकित भएका छन् ।”

सिँचाइ अभाव र खेतीबारे ज्ञान नहुँदा समेत युवाको प्रयास उदाहरणीय रहेको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्ट बताउनुहुन्छ । यहाँ उत्पादन भएको आलुको बीउ यस वर्ष सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा बिक्री भएको छ ।