२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिकेन बन्दा, ट्याक्टर लगाएर नष्ट



अ+ अ-

चितवन । किसानले लगाएको तरकारी नबिकेपछि जोतेर नष्ट गर्ने क्रम जिल्लामा शुरु भएको छ । तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन् ।

पछिल्लो समय किसानले तरकारीको मूल्य नपाएपछि पनि खेतबारी जोत्न थालेका छन् । सोमबार पूर्वी चितवनका चार किसानले एकसाथ तरकारी खेतीमा ट्याक्टर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नपाएपछि खैरहनी नगपालिका–१ ज्यामिरेका इन्दिरा भुसाल, सूर्यप्रसाद भुसाल, नवराज भुसाल र कृष्ण सापकोटाले बन्दाकोभी र मुलाखेतीमा ट्याक्टर लगाउनुभएको हो । केही दिनअघि सोही नगरपालिका–६ तुलसीपुरका कृषक पुरन महतोले बन्दा जोतेर नष्ट गर्नुभएको थियो ।

कृषक नवराज भुसालले चार किसानले २४ कट्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको बन्दा नष्ट गरेको बताउनुभयो । बन्दा प्रति किलोग्राम रु एकमा पनि नउठेपछि ट्याक्टर लगाएर नष्ट गरेको उहाँले बताउनुभयो । भुसालले १० कट्ठामा लगाएको बन्दामध्ये सात कट्ठाको जेनतेन बिक्री भए पनि तीन कट्ठामा लगाएको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेको बताउनुभयो ।

यसैगरी इन्दिराले छ कट्ठा, सूर्यप्रसादको चार कट्ठा र कृष्णको ११ कट्ठामा लगाएको बन्दाकोभी ट्याक्टर लगाएर नष्ट गर्नुभएको हो । बजारमा बन्दाकोभीको मूल्य प्रतिकेजी रु २० हाराहारी भए पनि धेरै उत्पादन भएपछि कृषकको तरकारी नउठेको हो ।

सो क्षेत्रका तरकारी किसानको संस्था ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्णदत्त भुसालका अनुसार ३६५ कृषक सहकारीमा आबद्ध भएर तरकारी खेती गर्दै आएका छन् । उहाँका अनुसार १२ बिघा जतिमा लगाएको बन्दा नष्ट गरिसकिएको छ । अझै ६० बिघा जतिमा बन्दा रहेको उहाँले बताउनुभयो । गत वर्ष त्यस सहकारीका सदस्यले रु एक करोडको बन्दा बिक्री गरेको भुसालले जानकारी दिनुभयो ।

सो क्षेत्रमा लगाइएको बन्दासँगै मुला, भेन्टा, केराउलगायतले पनि मूल्य नपाएको उहाँले बताउनुभयो । त्यहाँका कृषकले झण्डै ३०० बिघामा तरकारी खेती गरेका छन् । खेती गर्दा खर्च बढी हुने तर मूल्य नपाएर जोत्नु पर्दाको पीडा किसानले व्यहोरिरहनुपरेको भुसालले बताउनुभयो ।