२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविमा नेपाली पढ्ने घटे



अ+ अ-

काठमाडौँ । घण्टाघरस्थित त्रिचन्द्र बहुमुखी क्याम्पसमा कुनै बेला नेपाली विषयमा स्नातकोत्तर पढ्नेको निकै भीड हुन्थ्यो । यसपालि भर्ना खुलेको तुल टाँग्दासमेत पर्याप्त विद्यार्थी आएका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।

‘वार्षिक परीक्षा प्रणाली रहेसम्म विद्यार्थी चाप थेगिनसक्नु थियो,’ क्याम्पस प्रमुख प्रदीप न्यौपाने भन्छन्, ‘मानविकीमा कक्षामा कम बस्ने, आफैं अध्ययन गर्ने जागिरेहरू पढ्थे । सेमेस्टर प्रणाली लागू भएयता कक्षामा हाजिरी अनिवार्य छ । त्यसैले विद्यार्थी कम छन् ।’

त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा धेरै पढिने विषय थियो– नेपाली । आईए, बीए र एमए तीनै तहमा खचाखच विद्यार्थी हुन्थे । त्यसैले विश्वविद्यालयमा सबभन्दा धेरै नेपाली विषयकै प्राध्यापक छन् । देशभरिका अधिकांश मानविकी क्याम्पसमा ‘मेजर नेपाली’ राखिएका छन् । त्यसमा नेपालीमा स्नातकोत्तर तह पढाउने क्याम्पस झन्डै दुई दर्जन छन् ।

त्रिविले नयाँ शैक्षिक सत्र २०७५ का निम्ति शनिबार स्नातकोत्तर नेपाली विषयको प्रवेश परीक्षा लिएको छ । मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राध्यापक शिवलाल भुसालले दिएको जानकारीअनुसार देशभरिमा नेपाली विषयमा प्रवेश परीक्षा फाराम भर्नेको संख्या जम्मा १ सय ९५ छ ।

कुनै समय नेपाली र अंग्रेजी धेरै चलेका विषय भएको उल्लेख गर्दै डिन भुसाल भन्छन्, ‘नेपाली विषयमा अपेक्षा गरेभन्दा ज्यादै न्यून विद्यार्थीले फाराम भरेका छन् । नेपालीमा विद्यार्थी घट्नुको प्रमुख कारण कक्षा ११ र १२ मा मेजर नेपाली विषय नहुनु हो ।’ त्यसले गर्दा स्नातक तहमा समेत नेपाली पढ्नेको संख्या कम रहेको उनी बताउँछन् ।

भुसालका अनुसार शनिबार ३६ विषयको प्रवेश परीक्षा लिइएको छ । जसमा संस्कृत, हिन्दी र भाषाविज्ञानमा ६–६ जनामात्र सहभागी भएका छन् । मैथिली भाषामा १५ र नेपालभाषामा १७ जना छन् । बौद्ध अध्ययन र नृत्यमा १०–१० जना, ललितकला संगीतमा १७ र मूर्तिकलामा २८ जना छन् । भूगोलमा ३६, इतिहासमा ३८, पुस्तकालय विज्ञानमा ३०, संस्कृतिमा २८, लैंगिक अध्ययनमा ५५, खेलकुद विज्ञानमा १५ जना सहभागी छन् ।

सबभन्दा धेरै समाजशास्त्रमा २ हजार ३ सय ७७ जनाले प्रवेश परीक्षा दिएका छन् । अर्थशास्त्रमा १ हजार ३ सय ५७, ग्रामीण विकासमा १ हजार ४७, अंग्रेजीमा ७ सय ४६, राजनीतिशास्त्रमा ४ सय ३१, मनोविज्ञानमा २ सय ८६ विद्यार्थी सहभागी छन् । जनसंख्याशास्त्रमा १ सय ५४, पत्रकारितामा १ सय ३१ जनाले प्रवेश परीक्षा दिएका छन् । सेमेस्टर प्रणालीका सबै कार्यक्रम डिन कार्यालयअन्तर्गत सुचारु छन् ।

डिन भुसालका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, सामाजिक कार्य, परामर्श मनोविज्ञान, द्वन्द्व, शान्ति र विकास, रणनीतिक अध्ययन, सुरक्षा, शान्ति र विकास, पर्यटन र आतिथ्य विषयमा यसअघि नै प्रवेश परीक्षा लिइसकिएको छ । त्रिविले पाठ्यक्रम समयानुकूल परिमार्जन गर्न नसक्दा कतिपय महत्त्वपूर्ण विषय ओझेल पर्दै गएको विज्ञले औंल्याएका छन् ।