२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ प्रजातिका माछा भित्रिएसँगै रैथाने माछा लोप हुँदै



अ+ अ-

पोखरा । नयाँ प्रजातिका माछा भित्रिएसँगै पोखरा र आसपासका तालतलैया एवं जलाशयमा रैथाने जातका माछा लोप हुँदै गएका छन् ।

पछिल्ला वर्षमा मिचाहा प्रजातिको माछा टिलापियालगायतका माछा फष्टाउँदै जाने र रैथाने माछा लोप हुँदै जाने क्रम बढेको हो । टिलापियाको बढ्दो क्रमले रैथानेका साथै अन्य जातका माछालाई पनि प्रभावित पारेको बेगनास ताल जलाहारी समुदायका अध्यक्ष ज्ञानबहादुर जलाहारीले बताउनुभयो ।

“बेगनास ताल र आसपासका ताल एवं जलाशयमा रेवा, फगेटा, काँडे, बिग हेड, बाम, कत्ले, शहर र भित्तेजस्ता रैथाने जात मिचाहा प्रजातिको अतिक्रमणमा परेका छन्”, उहाँले भन्नुभयो । टिलापियाको अन्य माछामा भन्दा प्रजनन क्षमता बढी हुने भएका कारण पनि पछिल्ला समयमा ताल तथा जलाशयमा यसको सङ्ख्या निकै बढेको मत्स्य व्यवसायी बताउँछन् । रैथाने जातका शहर, बामजस्ता माछाको माग बढी हुने गरे पनि यी विस्तारै हराउँदै गएको जलाहारीले बताउनुभयो ।

उहाँका अनुसार बेगनासमा सर्वसाधारणले अत्यधिक रुचाइएको शहर माछा प्रतिकिलो रु ८०० मा बिक्री हुने गरेको छ । टिलापिया ठूलो प्रतिकिलो रु २७० मा बिक्री हुन्छ भने सानो रु २३० मा । त्यस्तै भ्याकुर रु ५००, ग्रास÷रघु÷नैनी÷कमन जातका माछा रु ४०० प्रतिकिलो बिक्री हुन्छ । यहाँ पाइने भित्ता माछा रु २८० प्रतिकिलोमा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

मिचाहा प्रजातिको टिलापिया फुल पारेर मुखमा राखी भुरा निस्केपछि छाड्ने अनौठो माछा हो । यसले सामान्यतः तीनदेखि आठ पटकसम्म फुल पार्छ । एकै पटक ५०० सम्म भुरा निकाल्ने भएकाले पछिल्ला समयमा ताल तथा जलाशयमा यसको सङ्ख्या ह्वात्तै बढेको मत्स्य व्यवसायी बताउँछन् । मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख अग्नी नेपालले पोखरामा फेवातालमा मात्रै करीब ३० प्रजातिका माछा पाउने गरेको जानकारी दिनुभयो ।

माछाका प्रजातिमध्ये काँडे, शहर, बाम, कत्ले प्रजातिका माछा हराउँदै गएको उहाँले बताउनुभयो । “हराएका प्रजातिमध्ये केही फाट्टफुट देखिए पनि रज वामजस्ता माछा अहिले पाउन छोडिएका छ”, उहाँले भन्नुभयो ।

केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष फेवातालबाट ५३ टन माछा निकालिएको छ भने रूपातालबाट ५८ टन माछा निकालिएको छ । त्यस्तै बेगनासबाट १६ टन माछा निकालिएको छ । लेखनाथका खास्टेलगायतका तालमा सहकारीमार्फत माछापालन भइरहेको प्रमुख नेपालले जानकारी दिनुभयो ।

स्थानीय मत्स्य व्यवसायीका अनुसार बेगनास तालमा मात्रै विभिन्न ४६ रैथाने प्रजातिका माछा पाइनेमा पछिल्ला वर्षमा यो सङ्ख्या वर्षेनी घट्दो क्रममा छ । वरपर रहेका अन्य माछालाई तर्साउने बानी रहेको टिलापियाले अन्य माछाको आहारा खाने भएकाले यो अन्य प्रजातिका लागि घातक भएको उनीहरूको तर्क छ ।

बेगनास ताल आसपासका ४२ घरपरिवारमध्ये लगभग ८० प्रतिशतले मत्स्य व्यवसाय सञ्चालन गर्दै आएका छन् । पछिल्ला समयमा अन्य प्रजातिको माछाको प्रजनन तथा उत्पादन पनि बढी हुने भएका कारण उनीहरूको ठूलो सङ्ख्याले रैथाने प्रजाति हराउँदै गएको बेगनास रूपा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दीनानाथ ढकालले बताउनुभयो ।

“शहरजस्ता माछा कम उत्पादन हुने तर बजारमा माग अत्यधिक हुने भएकाले पनि यी प्रजाति लोप हुँदै गएको हुनसक्छ”, उहाँले भन्नुभयो । बेगानास रूपा क्षेत्रमा पाइने वाम माछा विगतमा स्थानीयले औषधिका रूपमा समेत प्रयोग गर्ने गरेको जानकारी दिँदै उहाँले यस्ता प्रजातिको संरक्षणमा चासो दिनुपर्ने उल्लेख गर्नुभयो ।




भर्खरै