२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा पहिलोपटक अक्सिजन उत्पादन शुरु



अ+ अ-

काठमाडौँ: अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(जुम्ला अस्पताल)बाट सुर्खेत, नेपालगञ्ज-काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ । 

प्रतिष्ठानले पहिलो पटक आफ्नै कारखानाबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरेसँगै अक्सिजनको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको हो । प्रतिष्ठानले पछिल्लो समय चिकित्सा शिक्षा र सेवाका लागि जुम्लामा गरेको कामलाई अति महत्वपूर्ण उपलब्धि मानिएको छ । 

कर्णाली प्रदेशमा नै गत वर्षदेखि सुर्खेत क्षेत्रीय अस्पतालले अक्सिजन उत्पादन गर्न थालेको थियो । दम, फोक्सो, छाती तथा शल्यक्रियाका बिरामीका लागि अक्सिजन अति आवश्यक हुन्छ । 

यसअघि प्रतिष्ठानले रक्त सञ्चार सेवा केन्द्र, आधुनिक चिकित्सा विज्ञानलाई आवश्यक पर्ने सबै प्रयोगशाला तथा सघन उपचार कक्ष सञ्चालनमा ल्याइसकेको छ । अति आवश्यक पर्ने सिटीस्क्यान उपकरण जडान अन्तिम चरणमा रहेको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले करीब रु दुई करोड २३ लाखको लागतमा अक्सिजन प्लान्टका उपकरण स्थापना गरी गत आइतबारदेखि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अब जुम्ला अस्पतालले अक्सिजनको अभावमा सुर्खेत, नेपालगञ्ज-काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।” तीन सय श्ययाको प्रतिष्ठानअन्तर्गतको जुम्ला अस्पताललाई आवश्यक पर्ने र माग भइआएमा थप अक्सिजन उत्पादन गर्न सक्ने क्षमता प्लान्टको छ । अहिले अस्पतालमा दैनिक १०-१२ सिलिण्डर अक्सिजन खपत हुन्छ ।

एक सिलिण्डरमा १२० लिटर अक्सिजन हुन्छ । “हाम्रो प्लान्टको उत्पादन क्षमता ८० सिलिण्डरसम्म छ”, प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले भन्नुभयो । विशेषगरी चिसोको समयमा अस्पतालमा अक्सिजनको अत्यधिक खपत हुन्छ । विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययनका अनुसार फोक्सो, छाती तथा दमका रोगी कर्णाली प्रदेशमा धेरै छन् । 

नेपालगञ्जबाट अक्सिजन ढुवानी गर्दा यसअघि प्रतिष्ठानले धेरै दुःख र सास्ती ब्योहोर्नुपरेको थियो । अस्पतालमा अक्सिजनको अभावमा शल्यक्रियासमेत रोक्नुपथ्र्योे । अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यता पनि थियो । 

प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सीधै श्ययासम्म पु¥याउने व्यवस्था अस्पताले मिलाएको छ । कर्णाली प्रदेशमा सम्भवतः यस किसिमको प्रबन्ध पहिलो पटक गरिएको हो । प्रतिष्ठान चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तथा एमजिडिपी तहका कक्षा सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । जुम्ला अस्पताललाई कर्णाली प्रदेशकै केन्द्रीय विशेषज्ञ अस्पतालमा रुपान्तरणसमेत गरिँदैछ । 

प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्ले चिकित्सा शिक्षा र सेवाका लागि भौतिक पूर्वाधार, उपकरण तथा जनशक्ति तीनै क्षेत्रमा प्रतिष्ठान बनाउनेतर्फ बढिरहेको बताउनुहुन्छ । “अस्पतालमा विशेष गरी चिसोबाट उत्पन्न हुने छातीरोग, दमरोग, फोक्सोका रोगी धेरै सेवा लिन आउने गर्दछन् । आफ्नै प्लान्टबाट अक्सिजन उत्पादनले ती बिरामी तथा शल्यक्रिया गरेका बिरामीलाई ठूलो सहयोग पुग्छ ।” उहाँले भन्नुभयो । 

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादन शुरु भएसँगै जतिसुकै जटिल प्रकारका बिरामीको शल्यक्रिया गर्न सहज हुने भएको छ । “पहिले अक्सिजन नेपालगञ्जदेखि भरेर ल्याउनुपर्ने बाध्यता थियो”, अस्पताल निर्देशक धर्मराज गोसाईंले भन्नुभयो, “पहिला नेपालगञ्जबाट ल्याउँदा अस्पतालमा अक्सिजनको चरम अभाव हुने स्थिति आउन सक्थ्यो तर अब बिरामीलाई अक्सिजन अभाव नहुने भएको छ ।” 

कर्णाली राजमार्गमा आइरहने बाढीपहिरो तथा अन्य अवरोधका कारण समयमै अक्सिजन आपूर्ति गर्न समस्या हुन्थ्यो । “अब त्यो समस्या टरेको छ । आवश्यक परेको बेला अक्सिजन उत्पादन गरेर दिन सकिने अवस्थाको सिर्जना भइसकेको छ”, उहाँले भन्नुभयो । 

दैनिक ५० सिलिण्डरसम्म अस्पतालमा अक्सिजन आपूर्तिका साथै आठदेखि १० सिलिण्डर भर्न सकिने प्लान्ट अस्पतालमा जोडिएको छ ।

उपकरण जोड्न भारतको कानपुरदेखि आएका सञ्जीव कुमारका अनुसार प्लान्टबाट उत्पादित अक्सिजन नजीकैको जिल्लामा रहेका अस्पतालसम्म पठाउन सकिन्छ । उपकरण बिग्रेको र बिजुली नियमित आपूर्ति नभएको खण्डबाहेक अरु बेला नियमित अक्सिजन उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अक्सिजनका ८० सिलिण्डर छन् । 




भर्खरै