२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति सरकारको सम्पूर्ण प्रयास केन्द्रित’



अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताउनुभएको छ । 

विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत स्वीट्जरल्यान्डकाे डाभाेसमा जारी ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा उहाँले नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँदै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गर्नुभयो । 

नेपालले सामाजिक र आर्थिक रुपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी दिँदै छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणको मार्गमा अग्रसर भएको बताउनुभयो । 

नेपालले नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अङ्गीकार गरी नयाँ संविधानअनुसार नयाँ कानून बनाइरहेको बताउँदै संविधानलाई कार्यान्वयनका निम्ति संरचनागत परिवर्तन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालले अब विकासका लागि धेरै प्रतीक्षा गर्नसक्ने अवस्था छैन ।’’ 

‘समृद्ध नेपाल तथा सुखी नेपाली’को लक्ष्य साकार पार्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथा सुशासनमा केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले नेपाली जनताका विकासका आकाङ्क्षा कार्यान्वयन गर्न ध्यान केन्द्रित गरेको बताउनुभयो । नेपालले नयाँ नीतिका साथ आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार गरिरहेको उहाँले उल्लेख गर्नुभयो । 

महिला सशक्तीकरण, न्याय तथा समानता, सामाजिक न्यायको प्रवद्र्धनसँगसँगै समाजका सबै क्षेत्रमा सुधार गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले मानव सूचकाङ्कका दृष्टिले पछिपरेका समाजको उन्नयनलाई महत्वका साथ अघि बढाएको बताउनुभयो । “हामी नयाँ परिस्थितिमा प्रवेश गरेका छौँ जसले हामीलाई आशावादी बनाएको छ, हामीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो भूमिका बढाउन सकेसम्म प्रयास गरिहेका छौँ’’, उहाँले भन्नुभयो । 

दक्षिण एशिया महान् सभ्यता र विद्वत्वर्ग रहेको क्षेत्र हो भन्दै प्रधानमन्त्री ओलीले सगरमाथादेखि हिन्द महासागरसम्म बहुभौगोलिक एवं जैविक विविधता रहेको उल्लेख गर्नुभयो । उहाँले अति उर्वर भूमि र उत्पादनशील जनसङ्ख्या भएको नेपालले आफ्ना नागरिकको जीवनस्तर उकास्न आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको बताउनुभयो । 

उहाँले क्षेत्रीय सहयोग अभिवृद्धिका निम्ति इमान्दारी, निष्ठा र विश्वास अपरिहार्य भएकामा जोड दिँदै आपसी असमझदारी हटाउँदै क्षेत्रीय सहयोग र व्यापार विस्तारमा नेपालले सक्रिय भूमिका निर्वाह गरिरहेको बताउनुभयो । 

नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको तथा त्यसका लागि लगानी मैत्री, ऐनकानून जारी भएका बताउँदै अन्तर्राष्ट्रिय लगानीका निम्ति प्रधानमन्त्रीले आह्वान गर्नुभयो । 

नेपालले दक्षिण तथा दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको सङ्गठन (आसियान)सँग व्यापार तथा अन्य सम्बन्ध कायम गरेर क्षेत्रीय व्यापार प्रवद्र्धनलाई उच्च महत्वका साथ कार्यान्वयन गरिरहेको जानकारी दिँदै उहाँले हालै नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेको स्पष्ट पार्नुभयो । उहाँले क्षेत्रीय साझेदारी र समझदारी विकासमा पनि नेपालले उत्तिकै महत्व दिएको उल्लेख गर्नुभयो । 

देशको आर्थिक विकासमा सार्वजनिक–निजी साझेदारी महत्वपूर्ण हुने वास्तविकतालाई दृष्टिगत गरी सरकारले दुवै क्षेत्रलाई उच्च महत्व दिएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “युवालाई रोजगारी सृजनाका लागि व्यावसायिक प्रशिक्षण र बालबालिकालाई औपचारिक शिक्षामा सहभागी गराइएको छ ।” 

रोजगारीको खोजीमा धेरै बेरोजगार युवा विदेशिएकाले उनीहरुलाई स्वदेश फर्काउन आफ्नो सरकारले भरमग्दुर प्रयास गरिरहेको बताउँदै उहाँले उनीहरुको सीपको उपयोग गर्न चाहेको जानकारी पनि दिनुभयो । 

एक प्रसङ्गमा उहाँले पारदर्शिताको सुनिश्चितता, विधिको शासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण आफ्नो सरकारको मुख्य प्राथमिकता भएको बताउनुभयो । 

उक्त सत्रमा भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रघुराम जी. राजन, नर्वेको सिग्भी ब्रेक्के, अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले भाग लिनुभएको थियो । 




भर्खरै