२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोह्र वर्षदेखि अलपत्र राष्ट्रिय शहीद स्मारक



अ+ अ-

– पूर्णप्रसाद मिश्र
काठमाडौँ । सरकारले गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी जग्गामा निर्माण सुरु गरेको राष्ट्रिय शहीद स्मारकको काम १६ वर्षदेखि अलपत्र छ । विसं २०६२/६३ को जनआन्दोलन सफल भएसँगै तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले पूर्ण लोकतन्त्र स्थापनाका लागि योगदान गर्ने शहीदको सम्झनामा स्मारक बनाउने निर्णय २०६४ जेठ ११ गते गरेको थियो ।

तीन वर्षमा विस्तृत परियोजना प्रस्ताव निर्माण गरी २०६७ मा काम सुरु भएको आयोजना २०७० मा सक्ने लक्ष्य राखिएको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत सुरु भएको काम अझै सम्पन्न भएको छैन । स्मारकको निर्माण घोषणा गरिएको १६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमका वक्ताले अहिलेसम्म भएका कामको समीक्षा गरी रोकिएको काम छिटो सम्पन्न गरिनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा सांसद कृष्ण राईले स्मारकमा सबै दल राजनीतिभन्दा माथि उठेर काम भए पनि निर्माण व्यवसायीका कारण काम समयमै नसकिएको बताउनुभयो । स्मारक निर्माणका काम अलपत्र रहँदा शहीद परिवारले सम्मान पाउन नसकेको अनुभव भएको उहाँले बताउनुभयो । उहाँले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई दलभन्दा माथि उठेर साझा व्यक्तित्वका रुपमा काम गर्नुपर्ने बताउनुभयो । जनताले पनि निर्वाचित जनप्रतिनिधिले खराब काम गर्लान् कि भनी निरन्तर खबरदारी गरिरहनुपर्ने सांसद राईको भनाइ थियो ।

वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले स्मारकको निर्माणका काममा समीक्षा गरी अघि बढ्नुपर्ने बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीपक रिसालले शहीदकै योगदानले स्थानीय तहको संरचना तयार भई स्थानीय सरकार पनि बनेको उल्लेख गर्दै शहीदको सपना पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नगर क्षेत्रका पर्ती जग्गामा राष्ट्रिय फूल लालीगुराँस फुलाउने उहाँको प्रतिबद्धता छ । पर्ती जग्गा मास्न नदिइ खाली डाँडामा लालीगुराँस फुलाउन नगरपालिकाले बजेट विनियोजन गर्ने उहाँको भनाइ थियो । स्मारक निर्माणस्थलको ६५० रोपनी जग्गामा एउटा नमूना वनभोजस्थल निर्माणका लागि नगरपालिकाले सबै खर्च व्यहोर्ने पनि नगर प्रमुख रिसालले बताउनुभयो ।

गोकर्णेश्वरका पूर्व नगर प्रमुख सन्तोष चालिसेले नवनिर्वाचित नगरपालिकाको समूहले जनताले देख्ने गरी काम गर्न सुझाव दिनुभयो । आफ्नो नेतृत्वको नगरपालिकाले बनाएको कार्यविधि अनुसार नै स्मारकले पुनर्जीवन पाएको उहाँले सुनाउनुभयो । शान्ति मन्त्रालय खारेजीसँगै अलपत्र बनेको आयोजनालाई २०७४ सालमा निर्वाचित नगरपालिकाका जनप्रतिनिधिको समूहले अघि बढाएको थियो ।

नगर उपप्रमुख सान्नानी लामाले पटक–पटक सरकार फेरिँदा पनि स्मारकको काममा ढिलाइ भएको भनाइ राख्नुभयो । उहाँले विसं २०७० मै सकिने गरी तयारी भएको आयोजना २०८० साल आउन लाग्दा पनि अलपत्र रहनु दुःखद् भएको बताउनुभयो । काम छिटो गर्न नगरपालिकाका तर्फबाट सक्दो पहल गर्ने उहाँको भनाइ थियो ।

स्मारक उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले शान्ति मन्त्रालयबाट सहरी विकास मन्त्रालयमा पुगेको आयोजनालाई बजेट नदिँदा काम गर्न ढिलाइ भएको बताउनुभयो । उहाँले आगामी वर्षका लागि भने रु पाँच करोड बजेट विनियोजन गर्ने गरी तयारी भएको सूचना प्राप्त गरेको सुनाउनुभयो । वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट पनि आगामी वर्ष रु पाँच करोड बजेट वचन पाएको उहाँले सुनाउनुभयो । स्मारक निर्माण क्षेत्रमा युनेस्को ग्रामका लागि रु २४ करोड बजेट माग गरिएको अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।

कार्यक्रममा शहीद परिवारका सदस्य द्रोण लामिछानेले आगामी स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार नजित्ने गरी काम गर्न दलका नेता कार्यकर्तालाई सुझाव दिनुभयो । सो अवसरमा हास्य कलाकार श्रीकृष्ण सिम्खडा, सामुदायिक वन उपभोक्ता समूहका सचिव देवी बजगाइँ, स्मारक उद्यान व्यवस्थापन समितिका सचिव राजकुमार केसीलगायतले स्मारकको काम छिटो सम्पन्न गर्न तीनै तहका सरकारकाबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख रिसाल, उपप्रमुख लामा, नगरपालिका–४ का अध्यक्ष जयराम महत र वडा नं ३ का अध्यक्ष मुरारी कुइँकेललाई व्यवस्थापन समितिको सदस्यका रुपमा पदेन काम गर्ने व्यवस्था कार्ययोजनामा रहेको जानकारी गराइएको थियो । नगरपालिकाका सबै निर्वाचित जनप्रतिनिधिलाई सो अवसरमा बधाईसहित कार्यकालको सफलताका लागि शुभकामना दिइएको थियो । स्मारक निर्माणस्थलमा तीनै तहका जनप्रतिनिधिले पाँच फिट अग्ला वृक्षरोपण गर्नुभएको थियो ।