भुङ्ग्रामाथि नाच – News Polar

तान्त्रिक विधिबाट भुङ्ग्रामाथि नाच
भक्तपुर । साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो । काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो ।चाँगुनारायण नगरपालिका–९ ताथली (साविक वडा नं ६) सौडोलको गिरी बस्तीका सुरेश गिरीको घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको १०८ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किदै थियो । सेतो धोती बाँधिएको, त्यसमाथि कोही सेतो गन्जी, कोही पहेँलो गन्जी त कोही गुलाबी मखमलको दौरा लगाएका एक हुल मानिस बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए ।

दुई घन्टाभन्दा बढी समय बलेको दाउरा सबै आगाका भुङ्ग्रामा परिणत भयो । त्यसपछि सेतो, पहेँलो, रातो वस्त्रधारी पुरुषहरूले तान्त्रिक विधिबाट आगाका भुङ्ग्रामा गाईको घिउ मोलिएको जौ र तीलको चरु हालेर पूजा गरी मूल घरतर्फ लागे । मध्यराति करिब ११ बजे गिरीबस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिलमा बसेर निकै कौतुहलताका साथ ‘अग्निकुण्ड’ तर्फ हेर्दै अब के हुन्छ, आगोमाथि मान्छे कसरी नाच्छन् भनी हेर्दै थिए ।

केहीबेरमा मूलको घरको पूजाकोठाभित्र गुरुदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका एक हुल मानिस काम्दै घरबाट निस्किए । अगाडि बाजा घन्किरहेको, पछिपछि दियो, कलश समातेका पञ्चकन्या र त्यसपछि देवदेवी एवं वायु चढेका सेता, पहेंला गन्जी, रातो दौरा लगाएका, रुद्राक्ष तथा घन्टीको माला शरीरमा छड्के भिरेकाहरू, काम्दै उफ्रँदै दाउराको आगोको भुड्ग्रो अगाडि पुगे । कोही देवदेवीको जयजयकार गर्दै थिए ।

हातमा थाल बजाउँदै उफ्रिरहेका लामो कपाल भएका मूलगुरु धर्मराज खड्का एकैछिनमा आगाको भर्भराउँदो भुङ्ग्रामा लात्तीले हानेर उफ्रिन थाले । त्यसलगत्तै अर्का गुरु साजन थापा आगामा होमिए र त्यसैगरी लात्तीले हाने । गुरुको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगामा होमिन थाले । उनीहरू आगाको भुङ्ग्रामा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले । मानौँ त्यो एउटा खेलकुद मैदान हो, आगाका तीन भुङ्ग्रो फुटबल हो र उनीहरू त्यही, त्यहीँ फुटबल खेलिरहेका छन् ।

नाङ्गो पैतालाले आगामाथि मानिस नाचेको र उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए । भुङ्ग्रामाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो । काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदोे आगाको भुङ्ग्रो पूर्णरूपमा निभेर कोइला नबनेसम्म नाचिरहे ।

आगोमा त्यसरी नाचेको डिलमा बसेर हेरिरहेकाहरू चकित मात्रै परेनन्, आफ्नना छोरा र श्रीमान् आगामा नाच्दा आमा र श्रीमतीहरूको मन भने कटक्क खायो । शरीरमा वायु धारण गरेर आगामा उफ्रिँदै गरेका रोजिनकी आमा शारदा गिरी डिलमा बसेर भन्दै थिइन्, “ओहो, आगाको भुङ्ग्रामा उफ्रिँदा तिनीहरुलाई कति पोल्यो होला, त्यो जिउ कति दुख्यो होला ।” हेर्नेमध्ये धेरैले जिज्ञासा राखे, यसरी भुङ्ग्रोमाथि नाच्नेको पैतालाको हालत के भयो होला रु कार्यक्रमपछि नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा भने उनीहरू चकित परे ।

आगो सबै गोलमा परिणत भएपछि त्यही तातो गोलमाथि झन्डै एक घन्टा बसेर शरीरमा देवदेवी र वायुको कम्पन आइरहेका सबैलाई गुरुले आगामा नाच्दा सुरक्षित भए नभएको एवं काँचो वायु तथा कुलदेवदेवीले पूर्णता पाए नपाएको जिज्ञासा राख्दै पालैपालो सबैलाई सोधे । पूर्णता पाएको र डाङ्ग्रेको शरीर सुरक्षित रहेको बताएपछि भने फेरि जयजयकार गर्दै खुसीको धुनसहितको बाजा बजाउँदै सबै काम्दै सुरुमा निस्किएकै घरमा पसे, बलिरहेको बत्ती मुखमा हाल्दै शरीर कम्पन छाड्दै पुरानै अवस्थामा फर्किए र बाहिर निस्किए ।

आफ्नो कूलदेवतालाई उचित स्थान दिने र अकालमा ज्यान गुमाएर भड्किएको मृतात्माको मुक्तिका लागि भनी पहिलेदेखि चल्दै आएको तान्त्रिक विधिअनुसार गरिने खली प्रथालाई गिरी परिवारले पहिलो पटक पूर्णता दिएको हो । सो प्रथालाई चमत्कार वा अन्धविश्वास भन्न नहुने जनाउँदै गुरुहरूले प्राचीन तान्त्रिक प्रक्रियामार्फत प्रेतात्माको मुक्तिका लागि खली प्रथा चल्दै आएको बताए ।

डाङ्ग्रेले पाए पूर्णता

त्यसो त यहाँको गिरी कुलमा अकालमा ज्यान गुमाएकाहरूको आत्मा मुक्तिको कर्मका लागि खली खुवाउन धेरै वर्षदेखि छलफल हुँदै आए पनि यस वर्ष पूर्णता पाएको हो । गत माघ पूर्णिमाको दिनमा कुलका सबै दाजुभाइ छलफल गरी वायुृ उतार्ने काम सुरु भएको थियो । हरेक दिन राति खाना खाएपछि कुलका सबै पुरुष शुद्ध भई जम्मा भएर प्रत्येक रात गुरुमार्फत वायु उतार्ने काम सम्पन्न गरेपछि खली खुवाएर त्यसलाई पूर्णता दिइएको ६० वर्षीय सानुभाइ गिरीले बताउनुभयो ।

वायु उतार्ने क्रममा ३२ वर्षका युवादेखि १४ वर्षका बालकसम्मको शरीरमा दैवी शक्ति प्रवेश गराई खली पूजा सम्पन्न गरिएको हो । कुलदेवताका रुपमा ३२ वर्षीय सुरेशका शरीरमा दक्षिणकाली, सत्यराजका शरीरमा भाटभटेनी, शिवका शरीरमा राता नरसिंह, १४ वर्षीय निष्छलका शरीरमा बिन्ध्यवासिनी तथा कुबेर, प्रकाश, रोजिन र कुमार गिरीका शरीरमा भने वायुधारण गरी खली पूजा सम्पन्न गरिएको छ ।

खली खाने प्रथा

आफ्नो कुलमा अकालमा ज्यान गुमाएर मोक्ष नपाएका पितृको उद्धारका लागि गरिने प्राचीन र तान्त्रिक विधिलाई खली खाने प्रथा भन्ने गरिएको गुरु गोकुल वन बताउनुहुन्छ । सुरुमा गुरुमार्फत कुलका सबै जम्मा भएर एक भाइका घरमा वायु उतार्ने कार्य गरिन्छ । वायु उतार्ने क्रममा मृतात्माले आफ्नै कुलभित्रको आफूले चाहेको व्यक्तिको शरीरमा प्रवेश गर्दै आफ्नो मृत्यु कसरी भयो, आत्माले कति दुःख पायो र अब आत्माले कसरी मोक्ष पाउँछ भन्ने गर्छन् । यसमा तान्त्रिक माध्यमबाट प्रेताात्मा ‘वायु’लाई बोलाएर आफ्नो मृत्युबारे बकाएपछि मृतकको इच्छानुसार खली प्रथा गराइन्छ ।

त्यसरी भड्किएको मृतात्माले आफ्नो कुलभित्र दुःख दिने कथन रहँदै आएको र वायु उतारेर खली खुवाएपछि वायुदेवताका रुपमा स्थान दिई हरेक वर्ष दिवालीका दिन कुलदेवता र वायुदेवताको पूजा गरेपछि कुलमा राम्रो हुने विश्वास वर्षौदेखि रहँदै आएको वन बताउनुहुन्छ । यो प्रथा हिन्दू धर्मावलम्बीमा प्राचीनकालदेखि चल्दै आएको बताउँदै उहाँ यसलाई धर्म, परम्परा, संस्कृति र तन्त्रसँग जोडेर हेर्नुपर्ने ठान्नुहुन्छ ।

वन भन्नुहुन्छ, “आगाको भुङ्ग्रामाथि नाङ्ग्रो खुट्टाले नाचेर खरानी बनाउने घटना आफ्नै आँखा अगाडि देख्न सकिन्छ, यसलाई तान्त्रिक विधि र दैवी शक्तिको अनुपम नमूनाका रूपमा लिन सकिन्छ ।” उहाँका अनुसार शरीरमा कुलदेवता र वायुदेवता चढेका व्यक्तिलाई डाङ्ग्रे भनिन्छ, उनीहरूलाई आगोको भुङ्ग्रामा नाचेर पूर्णता दिने कार्यलाई ‘खली खाने’ भन्ने गरिन्छ । डाङ्ग्रे हुन कठिन तान्त्रिक परीक्षा पूरा गर्नुपर्ने बताउँदै गुरु साजन थापा भन्नुहुन्छ, “खली खानु डाङ्ग्रे हुने प्रक्रियाको अन्तिम परीक्षा हो, त्यसपछि उनीहरूकै शरीरमा कुल र वायु देवता रहिरहन्छ, त्यसैले धेरै परीक्षणबाट सफल हुँदै खली खुवाउने बेलासम्म आइन्छ, खली खुवाउन बालिने आगो पनि तान्त्रिक विधिबाट जगाइने भएकाले डाङ्ग्रेहरू आगामा नाच्दा पोल्दैन, नत उनीहरूको खुट्टामा फोका उठ्दैन, घाउ लाग्दैन ।” आफूहरूका शरीरमा धेरै कम्पन हुने र उफ्रने भएकाले भोलिपल्ट भने शरीर निकै थाक्ने गरेको उनीहरू बताउँछन् ।

आगो बाल्ने स्थानलाई पनि तान्त्रिक विधिले शुद्ध गरिने तथा बडो निगरानीमा राखिएको हुन्छ । कुभलो चिताउने कोही व्यक्ति त्यस ठाउँमा प्रवेश गरेमा तथा सिसा, फलामका टुक्रा, किला वा अन्य अशुद्ध सामग्री राखिदिए अनिष्ट हुन सक्ने मानिन्छ ।

कठिन परीक्षा

खली खाने डाङ्ग्रे लामो प्रक्रियाबाट छनोट हुन्छन् । ‘जोसुकै व्यक्ति पनि डाङ्ग्रे हुन पाउँदैनन् । वायु उतार्ने क्रममा गुले धामी बसेर तन्त्रमन्त्रले पूजा गर्दा जसका शरीरमा कुलदेवता र वायु चढ्छ, उनीहरू मात्र डाङ्ग्रे भएर खली खानयोग्य हुने सानुभाइ बताउनुहुन्छ ।

तान्त्रिक विधिद्वारा धामीले विशेष पूजा गरेपछि कुलका मानिसका जिउमा कुलदेवता चढ्ने उहाँको भनाइ छ । कुलदेवता शरीरमा आएपछि पटकपटक विभिन्न विधिबाट हुने परीक्षण सफल भएपछि अन्तिममा मात्रै खली खुवाएर डाङ्ग्रेलाई पूर्णता दिइने धुपौरे दिनेश गिरी बताउनुहुन्छ । डाङ्ग्रे भएपछि शुद्ध भएर बस्नुपर्ने र अशुद्ध खानपान तथा व्यवहार गर्न नहुने उहाँको भनाइ छ ।

दिनेशका कक्षा ९ मा अध्ययनरत १४ वर्षीय छोरा निश्चलका शरीरमा विन्ध्यवासिनी प्रवेश गरेर आगामा नाच्दा देख्नेहरू अचम्ममा मात्रै परेनन्, स्वयं उहाँसमेत आगामा पसेर उफ्रँदा, नाच्दा, पैताला र शरीरका कुनै पनि भागमा पोलाइको अनुभूति नभएको, खुट्टामा कुनै समस्या नभएको बताउनुहुन्छ । सानै उमेरमा आफ्नो शरीरमा देवी चढेर उफ्रिँदा, शरीरमा कम्पन हुँदा, आगामा नाच्दा शरीरमा थकान भए पनि कुलको रक्षा र उद्धारमा सहभागी हुन पाउँदा भने आफूलाई खुसी लागेको उहाँको भनाइ छ ।

कठिन परीक्षा उत्तीर्ण गरिएको अनुभव सुनाउँदै रोजिनले आफ्ना शरीरमा आगाले पोल्ने, फोका उठ्ने, घाउ हुने केही नभएको तर भोलिपल्ट शरीर थाकेको बताउनुभयो । आफ्नो कूल परिवार भित्रबाट सङ्कलित रु ६ लाख खर्च गरेर खली पूजा सम्पन्न गरिए पनि अन्यत्र अवस्था हेरेर रु १६ लाखसम्म खर्च हुने गरेको पाइएको सुरेश बताउनुहुन्छ । खली खुवाएपछि कुलदेवता र वायुदेवताको शिला स्थापना गर्ने, पूजा गरेर देवता थन्क्याउने र सामूहिक रूपमा कूलका परिवारले भोज खाएपछि भने बाजागाजाका साथ विभिन्न उपहार एवं दक्षिणा दिएर गुरुहरूलाई बिदाइ गर्ने परम्परा छ । (रासस, रमेश गिरी)