गलेका प्रचण्ड र थकाइ मारेका ओली !

  

प्रचण्ड अझै गल्दैछन्, ओलीले बिसाई फेर्न थालिसके तर अरु प्रत्यासीले चालै पाएका छैनन्


काठमाडौँ । केही महिनादेखि शक्ति संर्घषका लागि राजनीतिक रिङमा भिडिरहेका नेकपाका शीर्ष तहका नेताहरु एक सातादेखि लगभग विश्रामको अवस्थामा रहेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई जसरी पनि हटाउन भन्दै गत फाल्गनु देखि रिङमा उत्रिएका अध्यक्ष ओली अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अतिरिक्त खेलाडीका रुपमा प्रस्तुत भएका बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा  यतिबेला थकाइका क्रममा छन् । यी खेलाडीमध्ये केहीले त अध्यक्ष ओलीलाई 'वाक ओभर' नै दिइसकेको भन्दा पनि हुन्छ । 

सचिवालयको बैठक बस्दा आफ्ना पक्षका हुटिङ गर्ने समर्थकको अभाव देखेपछि राजनीतिका चतुर खेलाडी ओलीले पटक पटक रेफ्रिसँग समय माग्दै अन्ततः बहुमत खेलाडीलाई आफ्नो पक्षमा वाकओभर दिलाउन भूमिका निर्वाह गरे । झनै प्रमुख  खेलाडीमध्येका एक बामदेव गौतमले खुल्ला रुपमा नै वाक ओभर दिएपछि अन्य प्रतिद्वन्द्वी खेलाडीहरु निकै कमजोर बने । 

बलियो बन्दै गएका ओली शरीरमा उर्जा भर्नका लागि गौतम निवास नै पुगेर अर्का खेलाडी दाहाललाई कडा चुनौती दिए । लामो समयसम्म दाहालका साथमा रहेका समर्थकहरु पनि ओली बलियो हुँदै गएपछि उतै हुटिङ गर्न थालेपछि सत्ताको खेल झनै रोमाञ्चक मोडमा पुगेको छ । 

खेलको नियम हो जीत र हार त स्वाभाविक नै हुन्छ । तर दुई खेलाडी कडा टक्कर परेर गैरहेको समयमा अर्का खेलाडी कमजोर बन्दै गएपछि वैकल्पिक खेलाडीका रुपमा पालो कुरिरहेका माधव कुमार नेपाल पनि कसलाई समर्थन गरौँ भन्दै वल्लो रिङ र पल्लो रिङमा दौडिरहेका छन् । 

सुरुका समयमा दाहालको रिङपट्टि बढी देखिएका नेपाल पछिल्लो समयमा ओलीको रिङ नजिक बढी बस्न थालेको शंका दाहाललाई छ । कतै पुराना खेलाडी मिलेर मलाई एक्लै पारेर हराउने त होइनन् भन्ने चिसो पनि दाहालको मनामा पसेको देखिन्छ । जसका कारण  निकै बल गरेका रिङमा उत्रिएका दाहाल यतिबेला निकै गलेर बसेका छन् भने अर्का खेलाडी ओली प्रतिद्धन्द्धी खेलाडी कुर्दै थकाई  मारिरहेका छन् । 

खेल चरम उत्कर्षमा पुगेको समयमा रिङको उत्तर, दक्षिण तथा अलि पर बसेका प्रशिक्षकहरुले आ– आफना खेलाडीलाई सक्दो प्रशिक्षण त गराए  तर  सोचे जस्तो परिणाम  हात पार्न सकेनन् । आजको अवस्थासम्म आइपुग्दा खेल पूर्ण रुपमा सकिएको त छैन तर पनि किन खेल कमजोर भयो भन्ने जवाफ दिन गलेका खेलाडीलाई निकै कठिन भएको महसुस हुन्छ । 

दाहाललाई सुरुदेखि उर्जा भरेका नेपाल अलमलमा पर्नु, गौतमले खेलको नियम नै परिवर्तन गर्ने काममा लाग्नु, रामबहादुर थापा  टिम परिवर्तन गर्न खुट्टा उचालेर बस्नुले दाहालको साथमा रहेका झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई भ्याईनभ्याईको अवस्था रहेको छ भने ओलीलाई सुरुदेखि नै  रिङभित्र र बाहिर बसेका सहयोग गर्ने विष्णु पौडेल, ईश्वर पोखरेल उत्साहित हुँदा तत्कालका लागि ओली रिङमा बलियो देखिएका छन् । तर प्रशिक्षकहरु नयाँ नयाँ  उपायको खोजी गरी आफ्नो पक्षको खेलाडीलाई साम, दाम, दण्ड, भेद जुनसुकै उपाय लगाएर भए पनि विजयी गराउने अभियानमा रहेका कारण  फेरि कुनै पनि बेला रिङमा भिड्न सक्ने अवस्था कायम नै रहेको छ ।

यसरी हेर्दा लाग्छ अरु खेलाडी खेल्दैछन् कतिले भौतिक उपस्थितिमा त कतिको खेल दिमागी छ जसले मगज धेरै तताइदिएको छ । तर यता ओली भने अब बिसाइ फेर्ने अवस्थामा पुगेका छन् । उनी बिसाई फेरेको धेरै भयो किनभने उनका चारै दिशा सहज र खुल्ला देखिएपछि अब सुरक्षित महसुस गरेका छन् । त्यसैले अहिले उनी बिसाई फेर्दैछन् । 

तर दाहाल र उनको पक्षका सदस्यहरुले भने धाउन छोडेका छैनन् । कतिलाई यसबीचमा शक्तिवर्धक पनि दिइएको हुनसक्छ तर डोपिंग टेष्ट भने बाँकी नै छ । बरु जस्तोसुकै टेष्ट गर्नु परोस् खेलाडीले मैदान छोडेका छैनन् तर उता आफ्ना प्रत्यासीले बिसाई फेर्न थालेपछि भने अबको खेल कि त फाउल हुन्छ कि समय सकिइसकेको चाल अरुले पाएका छैनन् ।