जाजरकोटमा जीप दुर्घटना, एक वडा अध्यक्षसहित पाँच जनाको मृत्यु

  

काठमाडौं । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बुधबार अपरान्ह एक जीप दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी एकजना वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।

जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका-१ औलखोलामा दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ ।

त्यस दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसमा परेका दुईजना अझै पनि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका- ११ का अध्यक्ष अमरबहादुर शाही छन् । त्यसैगरी सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेका छन् । 

त्यस दुर्घटनामा परेर बेपत्ता भएका दुईजनाको खोजी जारी रहेको छ । घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाको टोली खटिएको छ ।

उद्धारका लागि घटनास्थलमा पुगेको प्रहरीका अनुसार उक्त जिप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।