‘मृत्युको अघिल्तिर’ मा जीवनको उज्यालो

  

कविता पढ्न रुचाउने पाठकहरुलाई यस कृतिले कविताको आनन्दमात्र दिदैन कविताले झंकृत भएको मन र मष्तिष्कले समग्र जीवनको उज्यालोलाई महशुश गर्न वाध्य पनि पार्छ


जीवन त सबैले बाँचेका हुन्छन् । तर जिउन सबैले जानेका हुदैनन् । चुपचाप पनि बिति जान्छ समय र उमेर । जीवनलाई उर्जावान, सृजनशील र आनन्ददायक बनाउन सक्नु नै साँचोमा जिउनु हो । त्यसका लागि तपाईले सर्वाङग आफुलाई बुझ्नु पर्छ । आफुलाई बुझ्न तपाईले जीवनसंगै जोडिएर आएको मृत्युको सत्यलाई आत्मसात गर्नै पर्छ । मृत्युसंग भयभित होइन, यसको सत्यसंग एकाकार हुन सकियो भने जीवन पुरै उज्यालोमा बित्नेछ । जीवनको शाश्वत शौन्दर्य मृत्युको स्वीकारोक्तिमा छ । मृत्युलाई स्वीकार गर्नु भनेको मर्नु होइन – ‘एक दिन अवश्य मरिन्छ ।’ भनेर बुझ्नु हो । र यही बुझाइले तपाई हाम्रो सिङगो जीवन सहज बनाइ दिन्छ ।

कवि मणि लोहनीको नविनतम् कविताकृति ‘मृत्युको अघिल्तिर’ पढेपछि मैले बुझेको यत्ति हो । अझ यसो भनौं ‘मृत्युको अघिल्तिर’ मा जीवनको उज्यालोमा आलोकित कविताहरु छन् । 
मणिका कविताहरु पढिरहँदा मृत्युको भयजस्तो भनौ की शाश्वत मृत्युको आहतजस्तो कता कता महशुश हुन्छ । तर तपाई रत्तिभर डराउनु हुदैन । उनका शब्दहरुले जीवनको सामथ्र्यलाई फराकिलो मात्र बनाउँदैन, यसको आनन्दलाई अनुभूत पनि गराउछ । 
लाग्छ कविता लेखेकै कारण मारिनेछु म 
प्रेम गरेकै कारण रोकिनेछ मुटुको चाल 
सोच्नु काफी छ, 
यस्तै केही सोच्दासोच्दै एक दिन मारिनेछु म
जसरी मारिन्छन् मानिसहरु । 
 ‘मृत्युको अघिल्तिर’ पेज नं. ७६
कविताको यो किताव मेरो हातमा पर्दा मलाई भिन्न अनुभूति भयो । जीवनलाई सजिलोसंग स्वीकार्न सकियो भने मृत्युको डर कम हुने रहेछ भन्ने लाग्यो । मृत्युको सत्यलाई नभुल्ने हो भने जीवन यति प्रताडित हुदैन जति आजकालका अधिकांश मानिसलाई हुने गरेको छ । ‘मृत्युको अघिल्तिर’ मा रहेका मसिना र छोटा कविताहरुमा मृत्युको डरभन्दा बढि जीवनको उज्यालो भेटिन्छ । जीवन जिउने क्रममा मानिसले भुलिरहेका कयौं सत्यहरुसंग आत्मसात गरिन्छ । कविताका माध्यमबाट जीवन जीउने कलासंग साक्षात्कार भइन्छ । मृत्युका कुरा गरेर कवि मणि लोहनीले जीवनका गीत गाएका छन् । 
जीवनमा निश्चित भनेकै जन्म र मृत्यु हो । अरु सब अनिश्चित । तर हरेक मानिस मृत्युप्रति लगभग बेखरजस्तै बनेर बाँचिदिन्छ । त्यसो त पलपलमा मृत्युको भय लिएर बाँच्न पनि सकिदैन । तर मृत्युको भयबाट ग्रसित भएर होइन मृत्युको सत्यसंग आत्मसाथ गरेर जिउन कवि मणि लोहनीले सुझाएका छन् आफ्नो पछिल्लो कविता कृति – ‘मृत्युको अघिल्तिर’मा । 
नेपाली कविताका लागि मणि लोहनी नयाँ नाम होइन । तीन वटा कविता संग्रहले उनलाई नेपाली कवितामा स्थापित गरिसकेको छ । छोटा र गंभीर कविताका लागि उनी परिचित छन् । उनका कविताहरु सरल र मनलाई झंकार दिने खालका छन् । नयाँ कवितासंग्रह ‘मृत्युको अघिल्तिर’ उनले आफ्ना पुराना परिचय र विशेषतालाई कायमै राख्दै मृत्युमाथिको चिन्तनलाई विशेष जोड दिएको देखिन्छ । आफ्ना कविताका माध्यमबाट उनले जीवनका सत्यहरुलाई उजागर गरेका छन् । उनी कवितामार्फत पाठकको मन र मष्तिष्कमा प्रवेश गर्छन् र सजिलोसंग जीवन जगतका सांसारिकताबाट पाठकलाई आध्यात्मको गहिराईमा डुवाउँछन् । उनी कुनै अमुक जात वा धर्मको पक्षमा छैनन् । समग्र चराचर जगतको हितमा रहेर उनको सृजनशीलता अघि बढेको छ । 
नभएको भए मानिस 
कहाँ हुन्थे होलान् ईश्वरहरु !
म सोचिरहेछु, 
मानिस आफु चोइटिएर जोगाइरहेछ इश्वर 
नभएको भए मानिस 
के संभव छ ईश्वरको अस्थित्व ? 
    ‘धर्मध्वनी’ पेज नं. ८७ 
देशका नाममा, प्रेमको लय र जीवनको उज्यालो गरेर तीन खण्डमा विभाजन गरिएका ३२ वटै कविता समग्र जीवनको चिन्तन र जीवनको श्वाशत आवाजमा केन्द्रीत छन् । मानिस मानिसका सम्वन्ध, उनीहरुले देख्ने सपना र त्यसको प्राप्तिका लागि राज्यले गरेको असयोगप्रति कवि आक्रामक छन् । उनी कवितामा राज्यसंग अधिकारका लागि विद्रोह गर्छन् । समग्र देशको नेतृत्व गर्नेले आम मानिसका पक्षमा बोल्नुपर्ने र उनीहरुका खुशी र सपनाका लागि प्रतिवद्ध रहनु पर्ने जिकिर गर्छन् । 
‘अँध्यारोका विरुद्धमा’, ‘सम्वन्धको पाठशाला’, ‘जीवनको रित’, ‘दर्शन ढुंगा’, ‘मृत्युको अघिल्तिर’, ‘प्रेमशास्त्र’, ‘धर्मध्वनि’, ‘इच्छामृत्यु’ यी संग्रहका सर्वोत्कृष्ट कविताहरु हुन् । त्यसो त हरेक कविता मनमस्तिष्कमा झंकार दिने खालका छन् । केही कविताले राजनीतिक विसंगतिमाथि प्रहार गरेका छन् भने केहीले प्रेम र जीवनको उज्यालोलाई मुखरित गरेका छन् । तर यहाँनेर भन्नै पर्छ, जीवनको गहिराई र आध्यात्मका कुरा गर्न रुचाउने कविले केही कवितामा राजनीतिको लेप लगाएर समाजिक विसंगतिमाथि प्रहार गर्न खोजेका छन् । ती कविताहरुले उनका अन्य कविताहरु जस्तो शक्तिशाली भने बन्न सकेको छैन ।

तत्कालका प्रतिक्रियता जस्ता ती केही थान कविताले कहिकतै पाठकलाई किरकिरा गराउन नसक्ला भन्न सकिदैन । संग्रहमा रहेका प्रेमको लय र जीवनको उज्यालो दुई खण्डभित्र रहेका सबै कविता अब्बल छन् भने देशको नाममाभित्र रहेका कविताले नेपालको पछिल्लो राजनीतिक चित्र त देखाउँछ तर कविताको आनन्द अघिका दुई खण्डले जस्तो दिदैन । 
जीवनजगत, प्रेम र आध्यात्मका कुरामा नै मणि प्रख्खर देखिएका छन् । त्यसमा उनी शान्त र सरल भावले बगेका छन् र जीवनको गहिराईलाई उजागर गरेका छन् । त्यसो त संग्रहका अघिकांश कविताले जीवनको शक्ति र शौन्दर्य देखाउन मृत्युको चिन्तन गरेका छन् । अवश्यभांवी मृत्युलाई नदेखेझै गरेर होइन, यसको सत्यलाई स्वीकारे अघि बढ्न यस संग्रहभित्रका कविताहरुले प्रेरित गर्छन् ।
कविताले मानिसका सपनाहरुको मात्र होइन सिंगो जीवनको सम्मान गर्नुपर्छ भन्ने ठम्याईका साथ मणि कविता लेखिरहेका छन् । उनी जीवनलाई प्रेम गर्छन् । जीवन जिउने क्रममा मानिसले गर्ने संघर्षलाई प्रेम गर्छन् । मृत्यु अनिवार्य सत्य हो भन्ने मानिसहरुले भुलिरहेकोमा उनी चिन्तित छन् । मृत्युको सम्मुख रहेर पनि मानिस किन यति धेरै लोभिपापी छ भनेर उनी हैरान छन् । मृत्युको अघिल्तिर उभिएर मानिस किन अरुमाथि अन्याय गर्न उद्धत छ ? हरकोही आफ्नो दुनो सोझ्याउन व्यस्त छन् – भनेर उनी हैरान छन् । 
हैरान र भयभीत छन् मानिसहरु 
सम्वन्धको गहिरो घाउ छ सबैसंग
नयाँनयाँ आविस्कारसंगै बढ्दै गएको दुःखको आकार 
  ‘डिलिट दुःख’ पेज नं. ९१
यस कवितासंग्रहमार्फत मणिले आफ्नो समयको आवाजलाई मुखरित गरेका छन् । कविता पढ्न रुचाउने पाठकहरुलाई यस कृतिले कविताको आनन्दमात्र दिदैन कविताले झंकृत भएको मन र मष्तिष्कले समग्र जीवनको उज्यालोलाई महशुश गर्न वाध्य पनि पार्छ ।