पृथ्वीनारायणमाथि किन हुन्छ हमला ?

  

डा. के. बी रोकाया

पृथ्वीनारायण शाहले नेपालको एकीकरण नुवाकोटबाट प्रारम्भ गरे जतिबेला उनी २० वर्षका थिए । शासनसत्ता सम्हालेको भर्खर वर्षदिन पुग्दै थियो । नेपालको पुनः एकीकरण गर्न उनी लागि हाले र आफ्ना भाइभारदार र सैनिकलाई त्यहीअनुसार प्रशिक्षित गरे । उमेरले युवा भए पनि उनको चिन्तन र दृष्टिकोेण प्रौढ भएको यस कार्यबाट पनि प्रष्ट हुन्छ । वर्तमान समयमा हामीले २० वर्षमा प्रवेश गरेका कस्ता युवा तयार गरेका छौँ, कस्तो प्रशिक्षण दिएका छौँ ? फर्केर हेर्नुपर्छ । पृथ्वीनारायणको योगदानलाई अहिलेका युवापुस्ताले बुझ्न र चिन्तन गर्न आवश्यक छ किनकि उनी २० वर्षमा राजा भए र नेपाल एकीकरणको श्रीगणेश गरे । नेपाल आजभन्दा झण्डै तीन सय वर्षपूर्वका युवाहरूको बलिदान, योजना, पसिनाबाट निर्माण गरिएको हो । प्रविधि र ज्ञानका युगमा जन्मिएका गणतान्त्रिक नेपालका हाम्रा युवाहरूले के गर्दैछन् ? ध्यान दिन आवश्यक छ । पृथ्वीनारायणले देखेको सपना विचित्रको थियो । उनको कल्पना शक्ति, युद्ध गर्ने साहस र नेपाल निर्माण गर्ने दूरदर्शीपन कहाँबाट आयो होला ? आश्चर्य लाग्छ उनको समयमा उनीजस्ता अद्वितीय व्यक्ति संसारमा थिएनन् जस्तो लाग्छ । गोरखा एक पहाडी राज्य हो, जसले आर्थिक विपन्नतालाई त स्वीकार गर्नै परेको थियो । जनसंख्याको अभावमा विशाल नेपाल एकीकरण गर्ने योद्धा कसरी उत्पादन गरेका थिए होला भन्नुपर्छ ? अहिलेको गोरखास्थित पृथ्वीनारायण शाहको दरबारअगाडि उभिएर त्यतिबेलाको इतिहास पढ्ने र सोच्ने हो भने यो त एकादेशको कथाजस्तो पो लाग्छ ।

नेपाल एकीकरणमा सेना, हातहतियार र कुटनीतिको मात्र होइन अलौकिक दैवीशक्तिको ठूलो भूमिका थियो भन्ने अनुमान सजिलै लगाउन सकिन्छ । यो बाहुबल, तरबारको धार एवं व्यक्तिगत प्रयासबाट मात्र एकीकरण सफल हुन सक्ने अवस्था थिएन भन्ने तथ्यलाई अहिलेको गोरखाले पनि मौनरूपमा स्वीकारेको सहजै थाहा हुन्छ । दैवी हस्तक्षेपका साथै पृथ्वीनारायण शाहको सबल र कुशल नेतृत्वले एकीकरण कार्य सम्पन्न भएका हुन् । आजभन्दा झण्डै तीन सयवर्षअगाडि भएका ती घटनाक्रममा दैवीशक्तिलाई चर्चा नगर्ने हो भने इतिहासको एउटा पाटो सधैँ ओझेलमा पर्दछ । प्रत्यक्षवाद अझ भनौँ प्राविधिक युगमा दैवीशक्तिको बारेमा सोच्न पनि सक्दैनौँ । अहिलेको परिस्थितिबाट होइन त्यतिबेलाको समय र सन्दर्भ हेरेर मूल्याड्ढन गर्नुपर्छ पृथ्वीनारायण शाहको इतिहास र हाम्रा वीर पुर्खाहरूको योगदानलाई ।

पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमात्र होइन धर्मको रक्षाका लागि पनि नेपालको एकीकरण गरेको हो जस्तो लाग्छ । उपनिवेशका कÐममा पाश्चाŒय जगत्बाट भारतमा वैदिक संस्कृति, सभ्यता र धर्ममाथि जुन आक्रमण हुन लागेको थियो, त्यसलाई बचाउनका अर्थात् पौरस्त्य दर्शन जोगाउन उनको ठूलो भूमिका थियो । अङ्ग्रेजहरूको विस्तारवादी नीतिबाट हातहतियार खरिद गर्न बनारस पुगेका बेला उनले अङ्ग्रेजको गतिविधिबारे प्रत्यक्ष देखेसुनेका थिए । हिन्दूधर्मको शुद्ध अस्तित्व नेपालबाहेक अन्यत्र छँदैछैन ।

भारतमा कहिले मुसलमान त कहिले अङ्ग्रेजले आक्रमण गरेर आफ्नो आधिपत्य जमाएका थिए । पृथ्वीनारायणको दूरदर्शीकै कारण नेपालले त्यो दशा भोग्नु परेन । त्यसकारण मैले भन्ने गरेको छु– “शाहवंशीय राजसंस्था र नेपाली सेनाको वैदिक सनातन हिन्दूधर्मसँग नङ र मासुको सम्बन्ध रहेको छ ।”

निःसन्देह एकीकरणमा आफ्नो हैशियतअनुसार जनताको भूमिका अतुलनीय थियो । त्यसबेलाको परिस्थिति र सन्दर्भलाई हेर्दा तीन खम्बामा नेपालको पहिचान र अस्तित्व अडिएको छ ।

पहिलो–राजसंस्था,
दोस्रो–नेपाली जनता र सेना,
तेस्रो–हिन्दूराष्ट्र ।

यी हाम्रा पहिचान र परिचय हुन् । पहिचान हरायो भने राष्ट्रको अस्मिता विलीन हुन्छ । राष्ट्रै रहेन भने हामी कहाँ हुन्छौँ सोच्न आवश्यक छ ।

राजसंस्था र हिन्दूधर्मलाई कानुनीरूपमा हटाए पनि जनताको मनमस्तिष्कबाट विचलित बनाउन सकेका छैनन् । राजसंस्थाबारे अन्तिम निर्णय गर्ने अधिकार जनतालाई दिइएन । यो न त लोकतान्त्रिक अभ्यास हो, न त प्रजातन्त्रिक मूल्यमान्यता । नेपालमा गैरसंवैधानिक तरिकाले हिन्दूधर्म र राजसंस्थालाई उठ्न नसक्ने तुल्याए । सेनालाई ठेगेदार वा व्यापारीजस्ता बनाउन थाले । दुईवटा खम्बा ढालिसकेका र एउटा खम्बालाई पनि धरासायी बनाउँदैछन् । तीन खम्बामध्ये बाँकी रहेको एक खम्बा नेपाली सेनालाई सबल बनाएर हिन्दूराष्ट्र र राजसंंस्था नामका दुई खम्बालाई उठाउनुपर्छ । नेपाली सेनाको गौरवमा शाहवंशीय राजाको तागत र हिन्दूधर्मको रगत छ । यो सेना गणतन्त्र नेपालको सेना बनाउन खोजिएको छ । जुन कुरा शब्दमा हुन सक्ला व्यवहारमा सम्भव छैन । पूर्वजर्नेलहरूको घरमा गयौँ भने पृथ्वीनारायण शाहको फोटो सजाएर राखेका छन्, उनीहरूको ह्दयमा पृथ्वीनारायण शाहले स्थान जमाइसकेका छन् अझ भनौँ शाहवंशीय राजाको नेतृत्वलाई उनीहरूको मनमस्तिष्कबाट हटाउन सकिएको छैन । नेपाली सेनाको झण्डामा त्रिशूल र डमरुको चिì छ । यो महादेवको अस्त्र हो । लामो समयको अभ्यास र संस्कारले गर्दा नेपाली सेना राजाको सेना हो । अहिले लोकतान्त्रिक गणतन्त्रको सेना बनाउन खोजिएको छ तर त्यो करबलपूर्वकको अभ्यास पनि पूर्णरूपमा असफल भएको छ । यो कुरालाई बुझ्न नेपाली सेनाका जनरलहरूको विचारलाई सुन्नु र हेर्नुपर्छ, उनीहरूको भाव र भावनालाई छाम्नुपर्छ आफैं थाहा लाग्छ । भर्खरैमात्र अवकास प्राप्त पूर्वसेनापतिले निर्माण गर्न लगाएको पृथ्वीनारायण शाहको शालिकलाई वर्तमान सेनापतिज्यूले अनावरण गराए । सरकार प्रमुख र राष्ट्रप्रमुखले यसमा कुनै विरोध जनाएनन् बरु मौन सम्मति दिए । गणतन्त्रको अभ्यास भएको बेलामा यति ठूलो चुनौती सेनाले मोलेको छ भने यसले कुन विषयलाई सङ्गेत गर्दछ बुझ्न जरुरी छ । पश्चिमीहरूले पृथ्वीनारायणको बारेमा सुन्नै नचाहने बेलामा नेपाली सेनाबाट आफ्ना संस्थापकबारे यस्ता कार्यहरू सम्प; भइरहेका छन् । नेपाली सेनाले खुल्लारूपमा भनेको छ “पृथ्वीनारायण नेपाली सेनाका कल्पनाकार र संस्थापक हुन्, त्यसैले पृथ्वीनारायणको सम्मान गर्नु नेपाली सेनाको कर्तव्य र दायित्व हो ।”

अहिलेका प्रधानसेनापतिले लमजुङमा पनि द्रव्य शाहको शालिक स्थापना गराएका छन् । चन्द्रागिरिमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण राष्ट्रपतिबाट नै भएको छ । मकवानपुरगढीमा पनि केही समयअगाडि सेनाको एउटा कार्यक्रममा राष्ट्रपतिले पृथ्वीनारायण शाहको गुनगान गाएको कुरा मिडियाहरूले प्रसारण गरेकै थियो ।

सेनाको जग राख्नेमात्र होइन तिनीहरूको गाँस, बासको व्यवस्थापनमा समेत पृथ्वीनारायणको महत्वपूर्ण भूमिका छ । ५ वटा गणको स्थापनाबाट प्रारम्भ गरिएको सेनाले लामो इतिहास तय गरेको छ । युद्ध गर्दागर्दै मरेमा मरवट दिने एवं तिनीहरूको सन्तान तरबार हा; नसक्दासम्म दरबारले पाल्ने नियम पृथ्वीनारायणले बसालेको विषयलाई दिव्योपदेशले पनि प्रकाश पारेको छ । उनीहरूमा राष्ट्रियताको बीज रोप्ने काम र देशभक्तिको भाव जगाउने काम पृथ्वीनारायणले नै गराए । यहीकारण उनीहरूमा वीरता र धीरताले बास गरेको थियो । पृथ्वीनारायणजस्ता दूरदर्शी, राष्ट्र र प्रजावत्सल राजाले स्थापना गरेको सेना नेपालको गौरव हो । प्रथम विश्वयुद्धमा विदेशीलाई नेपाली सेना किन आवश्यक परेको रहेछ ? चिन्तन गर्न आवश्यक छ । पृथ्वीनारायण शाह र त्यसपछिको सेना प्रभावशाली नभएको भए बेलायती र जर्मनीहरूले विश्वयुद्धमा गोरखाली सेनाबाट किन यति धेरै अपेक्षा गरे ? हाम्रो बहादुरी र इमान्दारीमाथि उनीहरूलाई शङ्का थिएन । पृथ्वीनारायणकै पथ प्रदर्शनबाट यस्तो वैभव र विश्वास प्राप्त गर्न सकेको थियो नेपाली सेनाले विश्वजगत्मा । यी मर्मलाई हामीले आत्मसात् गर्न सक्नुपर्छ । अहिले पनि शान्ति सुरक्षा कायम गराउन यु.एन्. बाट विभिन्न देश गएका नेपाली सेनाको महत्वपूर्ण भूमिका रहिआएको छ । सेनामा यो भाव र शक्तिको बीजारोपण पृथ्वीनारायणबाट नै भएको थियो ।

कुनै पनि दृष्टिकोण र दर्शनबाट हेर्दा पृथ्वीनारायण राष्ट्रनिर्माता नै हुन् । अहिले विभिन्न धर्म, जात, संस्कृतिका नाममा उत्सव मनाउने निहुँमा बिदा दिन्छन् तर राष्ट्रनिर्माताको जन्मदिनमा बिदा दिन के विषयले रोक्यो ? शङ्का र संकाेच कहाँनिर गर्नुपर्यो ? सरकारको यो रबैयाका बाबजूद पनि वि. सं. २०७५ मा जनताले देशभरि स्वतः स्फूर्तरूपमा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाए । राष्ट्रपति, रक्षामन्त्री र सेनापति त सिंहदरबारअगाडि रहेको पृथ्वीनारायणको शालिकमा नै पुगे । प्रधानमन्त्रीज्यू पनि प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा सहभागी बनेर गुणगान गाए तर बिदा दिएनन् । प्रधानमन्त्रीले बिदा दिन किन सकेनन् ? उनी कुन परिस्थिति र शक्तिको दबावमा यो काम गर्दैछन् भन्ने तथ्य आफैं प्रष्ट हुन्छ । यहाँ पश्चिमा अर्थात् युरोपियन युनियनहरूका अगाडि उनीहरू निरीह छन् । बाह्य दबाब कति रहेछ भन्ने ज्वलन्त उदाहरणका रूपमा पृथ्वीको जन्मजयन्ती प्रकरणले प्रष्ट पार्छ ।

राष्ट्रको संवृद्धि र कल्याण होला भनेर नै मैले माओवादीलाई पश्चिमीजगतमा चिनाउने काम गरेँ । म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडोे भनेझैं यिनीहरू राष्ट्रिय स्वार्थभन्दा नितान्त व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबे । राष्ट्रभन्दा ठूलो वाद, नीति र मार्ग अर्को केही हुँदैन । उनीहरूबाट मैले ठूलो अपेक्षा गरेको थिएँ । फेरि म आस्थाले क्रिश्चियन भए तापनि राष्ट्र रहे सबै रहन्छ भन्ने तथ्यमा विश्वस्त छु । एकपछि अर्को गर्दै पार्टीहरू सत्तामुखी र पदलोलुप हुँदै गए । ४ वर्षअगाडि मात्र यिनीहरूको भित्री भाव र लक्ष्य थाहा पाएँ । यिनीहरूबाट मेरो राष्ट्रको कल्यण हुँदैन भन्ने तथ्य मेरो दिमागमा आयो । नेपाल सिध्याउने खेल बुझेपछि मेरो धैर्यको बाँध फुट्यो । म राष्ट्रमाथिको अपमान सहन नसकी विभिन्न माध्यमबाट यस्ता विषयमा प्रकाश पार्दै सबैलाई सत्यतथ्य जानकारी गराउँदै आएको छु । पश्चिमाहरूले नेपाल केमा अडेको छ, यसको पहिचान केमा छ ? कसरी यसलाई सर्वनाश गर्न सकिन्छ भन्ने बारेमा राम्ररी बुझेका रहेछन् । यहाँ सबै बिक्रीमा छन् तर मूल्य तथा दरमा फरक छ भन्ने विषयलाई उनीहरूले राम्ररी थाहा पाएका छन् । यहीकारण उनीहरूका एजेण्डा बोक्ने काम हाम्रा नेताले गरे ।

मलाई दुई वर्षअगाडिको एउटा कार्यक्रममा भएको घटनाले आफैंलाई लज्जित र अचम्मित तुल्याइरहेको छ । मानवाधिकारकर्मीका नामले परिचित पद्मरत्न तुलाधर एवं पूर्वसभामुखसमेत हुनुभएका दमननाथ ढुङ्गानाज्यू संलग्न भएकाे NTTPI संस्थाले तात्कालिक सरकार र माओवादीबीच बृहद् शान्ति सम्झैता भएको एक दशक पुगेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गर्नुभएको थियो । त्यहाँ राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तिहरूका साथै विदेशी कुटनीतिज्ञ र राजदूतहरू थिए । कार्यक्रम सकिने बेला धन्यवाद ज्ञापन गर्ने क्रममा NTTPI का कार्यकारी निर्देशक सुमित शर्मा समीरले पृथ्वीनारायण शाहको नाममात्र उच्चारण गर्दा पश्चिमा कुटनीतिज्ञहरूले आपत्ति जनाए । हाम्रा राष्ट्रनिर्माताका बारेमा हाम्रै भूमिमा विदेशी राजदूतहरूले प्रतिकृया दिइरहँदा त्यहाँ उपस्थित नेपाली काँग्रेसका पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री अर्जुननरसिंह के. सी., पूर्वगृहमन्त्री भीम रावल, प्रभावशाली नेता योगेश भट्टराई मौन बसेको सो लेख पढ्दा थाहा पाइयो । यस कार्यक्रमका बारेमा २१ नोबेम्बर २०१६ को रिपब्लिक दैनिकमा Diplomats question Prithvi Narayan's role in nation building शीर्षकमा लेख छापिएको थियो । वास्तवमा त्यस विषयले देशमा जति हंगामा मच्चाउनुपर्ने थियो त्यो त परै जाओस् कसैले चासो पनि दिएनन् । तिनीहरूलाई नेपालबाट बिदा गर्नुपर्ने र ती देशका राजदूतका बारेमा प्रश्न उठाउनुपर्ने थियो । राज्यसञ्चालन गर्नेहरूका यस्ता कैयौँ गैरजिम्मेवारीपूर्ण कार्यले गर्दा दिन प्रतिदिन राष्ट्रियता कमजोर र हामी परमुखी हुँदै गएका छौँ । जसले हामीलाई यो देश दिए, उनको नाम हामीले हाम्रै भूमिमा बसेर लिन नपाउने कस्तो विडम्बना ? धार्मिक, आर्थिक, सांस्कृतिक, भाषिक अनेक कोणबाट नेपालमा बाह्य आक्रमण भइरहेको छ । हाम्रा इमारत, राष्ट्रियता, पुर्खा, धर्म, संस्कृति, परम्परागत मूल्यमान्यता र पहिचानप्रति वितृष्णा फैलाउने काममा विशेष गरी युरोपियन युनियन जोडतोडका साथ लागि रहेको देखिन्छ । यसरी छानीछानी प्रहार गरी रहँदा यहाँ जातीयता, क्षेत्रीयका नाममा हामी आपसमा लडेर रुग्ण भइरहेका छौँ, चेत कहिले आउने हो थाहा छैन ।

विविधता नै विविधताले भरिएको नेपाल राष्ट्रको एकता शाहवंशीय राजसंस्थाले मात्र कायम गर्न सक्छ भन्ने कुरा पश्चिमाहरूलाई राम्रोसँग थाहा छ । त्यसैले उनीहरू पृथ्वीनारायण शाहको नामसम्म पनि सुन्नै मान्दैनन् । हाम्रा योद्धा, वीरहरूमाथि भ्रामक प्रचारबाजी भइरहेको छ । काल्पनिक लाञ्छनाका आधारमा आरोप प्रत्यारोप गरिन्छ । यथार्थ के हो भन्ने तिर कसैको ध्यान जाँदैन । विगतका कैयौँ कठिन मोडहरूमा राजसंस्थाले नेपाललाई बचाएको छ । जसका पुर्खाले यसको एकीकरण गरेको थियो उसैलाई यो भूमिको माया लाग्नु स्वाभाविकै हो । युरोपियनहरूलाई आजका नेताहरूले भन्दा पृथ्वीनारायण शाहले धेरै पहिले निकै राम्रोसँग चिनेका र बुझेका रहेछन् । त्यसैले पृथ्वीनारायण र उनका सन्तति एवं तिनीहरूले नेतृत्व गरेको सेना तथा अपनाएको धर्मलाई पश्चिमाहरू देखिसहँदैनन् ।

१६ औँ शताब्दीदेखि केपुचिन पादरीहरू नेपाल आएका थिए । उनीहरू यहाँ व्यापार गर्न मात्र आएका थिएनन् । उनीहरूको उद्देश्य तिब्बत र चीनमा आफ्नो हैकम कसरी जमाउन सकिन्छ भन्ने तयारी गर्न आएका थिए । यहाँ बसे पनि उनीहरूको ध्यान भने चीन र तिब्बतमा नै थियो । दूरदर्शी पृथ्वीनारायणले उनीहरूलाई उत्तर जानबाट रोके अनि धर्मका माध्यमबाट राज्य हत्याउने लक्ष्यलाई माटोमा मिलाइदिए । पृथ्वीनारायणले नरोकेको भए तिब्बत र चीनको भूगोल धरासायी अवस्थामा पुग्ने थियो । यस विषम परिस्थितिको आँधी उत्तरतिर जानै दिएनन् । पृथ्वीनारायणको यो योगदानप्रति चीन पनि कृतज्ञ हुन जरुरी छ । हैदरावादमा भएको विद्रोहलाई साम्य बनाउनका लागि पनि नेपाली सेनाले ठूलो भूमिका खेलेको थियो । त्यसैले भारतले पनि पृथ्वीनारायणप्रति क¯तज्ञता ज्ञापन गर्नु उचित हुनेछ ।

इतिहासतिर निहाल्ने हो भने पश्चिमाहरूको काम अरूलाई विभाजित गर्ने र कमजोर बनाउनेमा नै बढी केन्द्रित भएको देखिन्छ । प्रथम र द्वितीय विश्वयुद्ध पश्चिमाहरूकै कारणले भयो । यदि तेस्रो विश्वयुद्ध हुन्छ भने त्यो पनि पश्चिमाहरूकै कारणले हुनेछ । पछिल्लाकालमा अन्तरदेशीय वा आन्तरिक जति पनि युद्ध भइरहेका छन्, धेरथोर त्यसमा पश्चिमाकै भूमिका रहेको छ । यो हाम्रो युद्ध होइन । पौरस्य धर्म, संस्कृति, सभ्यता, भाषा धेरै प्राचीन र वैज्ञानिक छ । दुर्भाग्य नै भनौँ यसलाई हामीले तिनीहरूलाई सिकाउन र पढाउन सकेनौँ । पश्चिमाहरू चरणबद्धरूपमा अगाडि नबढी सिधै प्राविधिक र वैज्ञानिकयुगमा गए । कुनै पनि धर्म, संस्कृति, सभ्यता पश्चिमा मुलुकमा जन्मिएन, हुर्किएन र पलाएन । जिससको जन्मथलो एशिया नै हो तर क्रिश्चियानिटीलाई पश्चिमा धर्म भनेर हामीले पश्चिमाहरूलाई श्रेय दिएका छौँ । जति पनि धर्म, संस्कृति जन्मिए ती सबै एशियामा नै जन्मे, हुर्के र फैलिए । संसार वास्तवमा पौरस्यदर्शनअनुसार चलेको भए प्रथम, द्वितीय विश्वयुद्ध र अनेक राष्ट्रले गृहयुद्धको मुख देख्नुपर्ने थिएन । यसैलाई बुझेर पृथ्वीनारायणले कुलधर्म नछोड्नु भनेका हुन् । संसारमा आजको जस्तो आणविक हतियारहरूको भण्डारन हुने थिएन । संसार नै ध्वस्त गराउने खाले हतियारको होडबाजी पनि हुने थिएन । मानिसले अकालमा ज्यान गुमाउनुपर्ने हाहाकार हुने थिएन । अब पनि युद्धको डर पश्चिमाबाटै छ । पश्चिमाहरूको नाडी पृथ्वीनारायणले राम्रोसँग छामेकै कारण उनीहरूलाई उपत्यकाबाट बिदा गरे । यसबाट चीन र तिब्बत जोगियो । वास्तवमा पृथ्वीनारायणको दूरदर्शीमा सम्पूर्ण एशियाले आभारी, अनुग्रहीत हुनुपर्छ ।

विदेशीहरूको जन्मदिन मनाउन बिदा दिने, सामान्य सांस्कृति पर्व र जात्रामा बिदा दिने तर राष्ट्रनिर्माताको जन्मदिनमा बिदा नदिने ? योभन्दा दुःखद कुरा अरू के हुन सक्छ ? स्वार्थसिद्धिका लागि यसमाथि तर्क र बहस गर्न सकिएला तर इतिहासमाथि कति अन्याय गरियो एवं भावी पुस्ताले यसलाई के भन्लान् भन्नेतर्फ ध्यान दिनु पनि जरुरी छ । देश गम्भीर मोडमा पुगेको हुनाले शाहवंशीय योगदानलाई कदर गर्दै सबैका बीच सद्भाव, सहअस्तित्व, सहकार्यका वातावरण सृजना गर्दै राष्ट्रनिर्माताको जन्मजयन्ती स्वतः स्फूर्तरूपमा मनाऊँ । प्रजा मोटा भया दरबार बलियो रहन्छ । दरबार बलियो रहे नेपाल र नेपाली बलिया रहन्छन् र नेपालको राष्ट्रियता मजबुत हुन्छ । नेपालको सार्वभौम अक्षुण्ण राखी राष्ट्रको स्वाभिमान र पहिचान जोगाई राख्नका लागि पुर्खा र इतिहासमाथि गौरव गरौँ । उनीहरूको योगदानलाई सदा स्मरण गरौँ ।