पृथ्वीनारायण शाह र दिव्योपदेश

  

‘ के चुनी (चुनिएका) सिपाही भए, के भाइ–भारदार भए, यिनलाइ दौलथ कमाउन नदिनू । आदमी ( मानिस ) हेरी हुर्मत मात्रै राखिदिनू । किन भनौला, दौलथ भएकाले तरवारमा पसी मर्न मार्न सकोइनन् र हरिप ( शत्रु ) को चपक ( पीरपिराउ )  हुन्छ । सिपाही, भाइ भारदारहरुले सोख गरेनन् भने चारै खुट (चारै दिशा) मेरो तरवार बज्नेछ । सोखमा पसे भने  ( नाश हुनेछ ) । ’

माथिको शव्द राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको भनाइ समेटिएको दिव्योपदेशको एक अंश हो । आजभन्दा २४६ बर्षअघि बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दिनु भएको दिव्योपदेश आज पनि हामी नेपालीका लागि गिता–ज्ञान जत्तिकै मार्गदर्शक बनिरहेको छ । दिव्य–ज्ञानको अजस्र स्रोत बनिरहेको छ । 
त्यसबेला उत्तरको चीन ठुलो संख्याको सेनासहित शक्तिशाली थियो । दक्षिणतिर भारत भुमीमा बेलायति साम्राज्यको आधुनिक हातहतियार र सैन्य रणनीतिसहितको सेनाले भारतवर्षका स–साना राज्यमा बिजय गरेर इसाइ–साम्राज्य बिस्तार गरिरहेको थियो । 
आजको नेपाल त्यसबेला धेरै स–साना टुक्रा राज्यमा बांडिएको थियो । ती स–साना राज्यका धेरै कमजोर, घरेलु हतियारमात्र भएका, आधुनिक सैन्य ज्ञान नभएका, सिमित झारा सैनिकले उत्तरको चिंनिंया सेना र दक्षिणको बेलायति सेनासं“ग युद्ध लडेर, नेपाली भुमी र हिन्दु धर्म तथा संस्कृति जोगाउन सक्ने सम्भावना धेरै कम थियो । 
यसबीचमा त्यसबेला करिब ५२ वटा राज्य मध्येको एक सानो राज्य गोरखाको राजगद्दीमा पृथ्वीनारायण शाह बसे । उनले धेरै चातुर्यताका साथ नेपाल राष्ट्र निर्माण गरि छाड्ने उद्घोष गरे । बनारस गएर केहि आधुनिक बन्दुक किनेर ल्याए । बन्दुक चलाउन जान्ने मुसलमान कालीगढ ल्याएर गोरखामा घर षेत दिएर राखे । ती बाट गोरखाका युवालाइ तालिम दिए र नेपाल एकीकरण अभियान चलाए । गोरखा र आसपासमा बस्दै आएका जनताले उनको अभियानलाइ साथ दिए ।
बि.सं. १८०१ असोज १५ मा कान्तिपुर अधीनको नुवाकोट बिजय गरेर उनले नेपाल एकीकरणको श्रीगणेश गर्न सफल भए ।
त्यसपछिका दिनमा पृथ्वीनारायण शाह राजा भएर मोजमस्ती गरेर बसेनन् । उनी अहोरात्र सेना बलियो बनाउन र नेपाल एकीकरण गर्नमा लागिरहे । फलस्वरुप पृथ्वीनारायण शाह बि.सं. १८३१ मा गोरखाबाट पुर्वका कान्तिपुर, ललितपुर, भक्तपुर, मकवानपुर, बिजयपुर र चौदण्डि समेतका राज्य जितेर पुर्वमा मेचीनदीसम्म नेपालको सीमा बिस्तार गर्न सफल भए । 
त्यसपछि आजको आधुनिक नेपाल राष्ट्र निर्माणको शिलान्यास भएको थियो ।
नेपाल एकीकरण अभियानमा तन र मनले लागिरहेका बेला पृथ्वीनारायण शाहको ५२ वर्षको उमेर नुवाकोटको देवीघाटमा स्वर्गारोहण भयो । आफु स्वर्गारोहण हुनुअघि उनले यो नेपाल देश, हिन्दु धर्म र संस्कृति मान्नेले यो मर्म र यथार्थलाइ मनन् गर्दै यसरी चलाउनु र यसप्रकारको विधि अपनाउनु भनेर बिश्वासिला भारदारलाइ राखेर केहि महत्वपुर्ण कुरा बताउनु भएको थियो, त्यसलाइ आज दिव्योपदेश भनिन्छ ।
दिव्योपदेशमा उनले राष्ट्रका उच्च भाइ–भारदारलाइ धन–दौलतमा फस्न नदिन सचेत गराएका छन् । राष्ट्र–निर्माताले देशको उच्चपदमा रहेका भारदार नीजि स्वार्थमा लिप्त भएर धनदौलत आर्जनमा लागे भने देश कमजोर हुने र जनताले दुःख पाउने संकेत गरेका छन् । दिव्योपदेशमा उल्लेख भएका मर्मलाइ आत्मसात नगरेर, आज देशका उच्च–वर्गले बाटो बिराउ“ंदा देश कमजोर हुन लागेको र जनताले दुःख पाएकाले उनको भनाइ चरितार्थ हुंदै गएको कतिपय अध्येताको ठहर छ ।  
आज कतिपयले पृथ्वीनारायण शाहलाइ यदाकदा गाली पनि गर्दछन् । नेपाल एकीकरणजस्तो ऐतिहासिक सुकार्यलाइ जनता मारेको र राज्य लुटेको जस्ता स्तरहीन शव्दबाट दुत्कार्दछन् । पृथ्वीनारायण शाहले सत्ताका लागि यो काम गरेका थिएनन् । धेरै भत्ता पाउनका लागि यो काम गरेका होइनन् । केवल आफ्ना सन्तानका लागि मात्र पनि उनले यो काम गरेका थिएनन् । उनी राजा त छंदैथिए । दरबारमा मोजमस्ति गरेर सबै जीवन बिताउन सक्दथे । तर उनले आफ्नो सिंगो जीवन नेपाल एकीकरणमा समर्पण गरेर अन्ततः एक शक्तिशाली, स्वतन्त्र, हिन्दु राष्ट्र निर्माण गर्न सफल भए । पृथ्वीनारायण शाह खासमा देश–निर्माता हुन् । त्यसर्थ उनलाइ हामी सबै नेपालीले राष्ट्र–निर्माता भन्नु सान्दर्भिक हुनसक्छ ।
उनले त्यसबेला गोरखा राज्य बिस्तार नगरेका थिए भने आज हामी स्वतन्त्र नेपाल राष्ट्रका नागरिकका रुपमा बिश्वमा उभिन सक्ने हैसियतका हुने थिएनौं । आज सत्ताका भोका मानिसका लागि कार्ल–माक्र्स, लेनिन, माओ, गान्धी प्यारा छन् । तर तिनको हाम्रो नेपाल निर्माणमा कुनै योगदान छैन । तिनका शिष्य बनेका कतिपयले सत्ता–स्वार्थका लागि नेपाललाइ दीर्घकालीन अहित हुने खालका कैयौं चाल चलेका दृष्टान्त धेरै छन् । केवल सत्ता स्वार्थका लागि हिंसात्मक अभियान सन्चालन गरेका छन् । नेपालीमा बिभाजन ल्याउन पटकपटक प्रयास गरेका छन् । नेपालीबीचको एकता भत्काउन प्रयास गरेका छन् । यस कुराबाट हामीले बेलैमा सतर्क हुनु जरुरी छ ।
जर्मनी एकीकरण गर्ने बिश्मार्क र इटली एकीकरण गर्ने गैरीवाल्डी जस्तै नेपाल एकीकरण गरेर नेपाल लाइ बिश्वमा अलग र स्वतन्त्र देश बनाउने नायक पृथ्वीनारायण शाह नै हुन् । उनको दिव्यवाणी समेटिएको दिव्योपदेश आज पनि हाम्रो नेपाल र हामी नेपालीका लागि अति महत्वपुर्ण छ ।
हरेक नेपाली युवाले पृथ्वीनारायण शाहको बारेमा पढेर उनको काम र योगदानलाइ सम्मान गर्नसक्नु पर्छ । आज हरेक स्वाभिमानी नेपालीले पृथ्वीनारायण शाहको तश्वीर घरघरमा राखेर स्मरण गर्ने अभियान चलाउनु पर्दछ । उनले बताएको दिव्योपदेशको मर्मलाइ आत्मसात गर्न सक्नु पर्दछ । प्रत्येक बिद्यालयमा पृथ्वीनारायण शाहको जीवनी र उनले सम्पन्न गरेको ऐतिहासिक योगदानबारकोे पाठ अनिवार्य अध्यापन गराइनु पर्दछ । सरकारीस्तरबाटै यो अभियान चलाइनु सान्दर्भिक हुनसक्छ । 
पृथ्वीनारायण शाहको २९८  औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसमा हामी सबैले देशको समृद्धि र आपसी एकताका लागि आ–आफ्नो स्थानबाट योगदान गर्ने संकल्प गरौं । राष्ट्र–निर्माता पृथ्वीनारायण शाहलाइ सम्मान गरौ । नेपाली हुनुमा गर्व गरौं ।