पृथ्वीको वातावरणसँग तालमेल मिलाएर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री राई

  

मोहम्मद सदरुल

विराटनगरः प्रदेश न.१ का मुख्यमन्त्री शेरधन राईले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) द्वारा मानव विकास प्रतिवेदन–२०२० तथा नेपाल मानव विकास प्रतिवेदन– २०२० प्रकाशनमा ल्याइएकोमा खुशी व्यक्त गर्नु भएको छ ।

प्रदेश नं. १ मा हालै आयोजित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) द्वारा प्रकाशित मानव विकास प्रतिवेदन–२०२० को सार्वजनिकीकरण कार्यक्रममा उहाँले  विश्वको मानव विकासको ताजा स्थिति, साथै नेपालमा मानव विकासको ताजा स्थिति दर्शाउने यी अति महत्वपूर्ण प्रतिवेदनहरुको तयारीमा जुट्नु भएका तमाम विदेश र स्वदेशका विज्ञ, विशेषज्ञहरु र यस कार्यको मुख्य संयोजक युएनडिपीलाई  हार्दिक बधाई दिनुभएको छ ।

साथै, यसरी मानव विकास प्रतिवेदन प्रकाशनको श्रृङ्खलाले तीन दशक लामो गौरवशाली यात्रा पूरा गरेकोमा पनि नेपालस्थित युएनडिपीका आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबे र उहाँ मार्फत सम्पूर्ण युएनडिपी परिवारप्रति प्रदेश सरकार र म स्वयमको तर्फबाट मुख्यमन्त्री राईले हार्दिक बधाई दिनुभएको छ ।

नेपालका बिभिन्न विकासका कार्यक्रमहरुमा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) को संलग्नताको इतिहास पाँच दशकभन्दा लामो छ । आजभन्दा ५७ वर्षअघि नेपालमा आवासीय कार्यालय खुलेपछी युएनडिपीले नेपालको मानव विकास, विपद् व्यवस्थापन, मानव अधिकार तथा विकास कार्यक्रम कार्यान्वयनहरुमा उल्लेख्य सहयोग पुर्याउँदै आएको मुख्यमन्त्री राईले स्मरण गर्नुभएको छ ।

तथापी यी सबै सहयोगहरु र योगदानहरुमध्ये दिगो विकासका १७ वटा लक्ष्यहरु निर्धारण गरेर विश्वसमक्ष जसरी मानव विकासको सोच र योजनातर्जुमालाई फरक दृष्टि र रुपान्तरणकारी ढङ्गबाट दिगो विकासका लक्ष्यहरु प्रस्तुत गरियो, मानव विकास र मानवताकालागि त्यो सबैभन्दा श्रेष्ठ महत्वको हो भन्ने मलाई लाग्छ । यही मानव विकासका प्रयत्नहरु, उपलव्धिहरु, चुनौतीहरु र फेरि कोरिनु पर्ने अगाडिका मार्गचित्रहरुलाई पाँच वर्षको अन्तरालमा विश्व परिवेश र देश तथा विशेष परिवेशमा मानव विकास प्रतिवेदन प्रकाशित गरी युएनडिपीले निरन्तर गरिने प्रयत्नहरुलाई ठिक बाटोमा र सही दिशामा मूलप्रवाहीकरण गर्ने काम पनि गरेको छ आफ्ना वक्तव्य मुख्यमन्त्री राईले भन्दै नेपालमा पाचौँ संस्करणको रुपमा प्रकाशित यो नेपाल मानव विकास प्रतिवेदन सन् २०२० ले नेपालले अहिले गरिरहेको विकास प्रयास र बोकेको राष्ट्रीय आकांक्षालाई समेत समेट्ने गरी “स्तरोन्नतिपश्चात् ः उत्पादनशील रुपान्तरण र समृद्धि” को विषयलाई मूल ध्येय बनाएको देखिन्छ। मानव विकास प्रतिवेदन प्रकाशनको निरन्तरता आफैमा खुशीको विषय छ नै, तर यस पटक युनएनडिपी ले प्रतिवेदन प्रकाशनको ३० वर्ष पुगेको अवसर पारेर यो मानव विकास प्रतिवेदन सन् २०२० लाई प्रदेशबाट समेत सार्वजनिकीकरण गर्ने जुन कार्यक्रम आयोजना गरेको छ, मेरो विचारमा यसको ठूलो महत्व छ र यसले विशेष अर्थ राख्द छ भन्ने विचार मुख्यमन्त्री राईले राख्नुभएको छ ।

यस कार्यक्रमबाट देशले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक व्यवस्थाप्रतिको नैतिक समर्थन मात्र होइन हामी प्रदेश र स्थानीय तहका सरकारहरुले जनताप्रतिको आफ्नो अभिभारालाई हामीले जे जति पूरा गर्दै आएका छौँ त्यो अन्तर्राष्ट्रीय जगतका लागि पनि अभिरुचिको विषय रहेको छ भन्ने देखिन्छ । यसलाई म सकरात्मक रुपमा ग्रहण गर्दै सम्मान गर्न चाहन्छु ।

मुख्यमन्त्री राईले नेपाल मानव विकास प्रतिवेदन सन् २०२० मङ्सिर २८ गतेका दिन राष्ट्रीय योजना आयोगको आयोजनामा सङ्घीय सरकारका माननीय अर्थमन्त्री तथा राष्ट्रीय योजना आयोगका माननीय उपाध्यक्षबाट संयुक्तरुपमा सार्वजनिक भैसकेको स्मरण गर्दै  आज मानव विकास प्रतिवेदन सन् २०२० सबै सात प्रदेशहरुमा एकै दिन सार्वजनिकीकरण भएकोले यसले  विशेष महत्व बोकेको छ भन्ने मैले ठानेको महसुस गर्नुभएको छ । युएनडिपीद्वारा प्रकाशित यो मानव विकास प्रतिवेदनको कुरा गर्दा म अलिकति पहिलो अर्थात् बिश्व प्रतिवेदनका बारेमा केही कुरा राख्छु र त्यसपछी नेपाल प्रतिवेदनका कुरा राख्दै प्रदेश नं. १ को सन्दर्भको चर्चा गर्न चाहन्छु । विश्व मानव विकास प्रतिवेदनले उल्लेख गरेको छ, यो धरती र मानिसबीच सम्बन्ध स्थापित भएको लगभग तीन लाख वर्ष भएको छ ।

यस दौरानमा जीव उत्पत्तिदेखि अहिलेसम्म यो धरतीले वा भनौ वातावरणले वा समग्रमा यो प्रकृतिले मानव जीवनको शैलीलाई, सभ्यतालाई वा भनौ समग्रतामा मानवतालाई दिशानिर्देश गर्दै आयो ।

तर विज्ञान, प्रविधि र मानवको विकासका  आकांक्षाका कारण जसरी भूमण्डलको वातावरणमा परिवर्तन आइरहेको छ र बिस्तारै मानवअस्तित्वको सुरक्षामाथि समेत ध्यान पुर्याउनु पर्ने स्थितिले हाम्रो चेतनाको ढोकामा आवाज दिन थालेको छ, सोच्ने समय आएको छ कि अब हामी हाम्रो पृथ्वीलाई कस्तो राख्न चाहन्छौं । त्यसतर्फ योजना बनाउनुपर्ने, काम गर्नुपर्ने अवस्था टड्कारो बनेको छ ।

मुख्यमन्त्री राईले भन्नु भएको छ –‘  यो नवयुग पृथ्वीले हामीलाई बनाउने युग होइन, हामीले हाम्रो पृथ्वीलाई बनाउने, सपार्ने युग हो ।’ यसैलाई यो प्रतिवेदनले मानव विकास र मनुष्यकाललाई हामी सबैको अर्को सामुहिक अग्रदस्ताका रुपमा निर्धारण गरेको छ।

मुख्यमन्त्री राईले आफ्नो लामो वक्तव्यमा मलाई लाग्छ यो अत्यन्त सामयिक निस्कर्ष हो । कोभिड–१९ को महामारीले जसरी विश्वव्यापी रुप लिएको छ र मानव विकासमा अपूर्व असर पु¥याएको  छ, यसले यदि हामीले गर्ने क्रिया प्रतिक्रियाको यस पृथ्वीमा, यसको वातावरणमा कस्तो असर पर्दैछ भन्ने बारेमा सावधानी नअपनाउने हो भने आगामी दिनहरुमा कति गम्भीर र संकटापन्न चुनौतीको सामना गर्नु पर्ने हुन सक्छ भन्ने बारेमा स्पष्ट संकेत दिएको छ, सचेत तुल्याएको छ । त्यसैले हामी नीति निर्माता र योजनाकारहरुले अब मानिसले आफ्नो स्वतन्त्रताको उडानलाई फैलाउँदै जाँदा आफु बसेको यो ग्रह अर्थात् पृथ्वीको वातावरणसँंग तालमेल मिलाएर, सन्तुलन कायम राखेर नै अगाडी बढनु पर्दछ । यसमा देश र प्रदेशको आआफ्नै हैसियत अनुरुपको भूमिका रहन्छ । यसप्रति प्रदेश नं. १ सचेत रहेको कुरा निवेदन गर्न चाहन्छु ।

नेपालको लागि नेपाल मानव विकास प्रतिवेदन– २०२० एउटा सन्तोषजनक प्रतिवेदन रहेको छ । मानव विकास सूचाङ्कमा सामान्य सुधार भएकोले मात्र होइन, कोभिड–१९को महामारी र बन्दाबन्दी, र त्यसले आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा पारेको व्यापक असरका बावजूद पनि नेपालको संघ, प्रदेश र स्थानीय सरकारले गरेका अथक परिश्रम र जनताबाट गरिएको सहयोग समर्थनलाई यस नेपाल प्रतिवेदनमा यथोचित रुपमा अङ्कमा मुखरित भएको छ । यो हाम्रो लागि खुशीको विषय हो । यस्तो विषम परिस्थितिमा पनि नेपालले सन् २०२२ मा आफूलाई ‘अतिकमविकसित’ देशबाट ‘विकासशील’ देशको तहमा स्तरोन्नति गर्ने पूर्वतयारीलाई कायम राखेको छ। साथै सन् २०३० सम्ममा संयुक्तराष्ट्रसंघ विकास कार्यक्रमद्वारा प्रतिपादित दिगो विकास लक्ष्यले आह्वान गरेको ‘कोही पछाडि नछुटून’ भन्ने नारा अनुरुप प्रदेशमा सबै प्रकारका गरिबी र देशमा असमानताको अन्त्य गर्न प्रदेश सरकार प्रतिवद्धता रहेको कुरा स्पष्ट पार्न चाहन्छु ।

उहाँले यस प्रतिवेदनमा मानव विकासलाई मापन गर्न आधारभूत रुपमा तीन वटा कारकतत्वलाई लिइएको पाईन्छ,  स्वस्थ जीवन, ज्ञान र उन्नत जीवनस्तर  यी तीन वटा कारकतत्वहरुलाई सूचाङ्कहरु तोकिएका छन् । यसमा ज्ञान तत्वलाई दुईवटा सूचाङ्क तोकिएका छन ्। यसरी मानव विकासलाई स्वास्थ्य, शिक्षा र अर्थ गरी तीनवटा आधारभूत तत्वहरुबाट परिभाषित गर्ने प्रयत्न गरिएको छ । नेपाल सरकारले मूलतः यिनै कारकतत्वहरुको महत्वलाई बुझी ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रीय आकांक्षासहित १५औँ योजना तथा वार्षिक नीति तथा कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ ।

यसै दिशामा दिगो विकासका लक्ष्यहरु समेत हासिल गर्न नेपाल सरकारले ४७९ वटा सूचाङ्क लक्ष्यहरु तय गरेको छ। देशको राष्ट्रीय आकांक्षालाई आत्मसात गर्दै प्रदेश नं. १ को सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने दूरगामी लक्ष्य राखेको छ। यसका लागि मानव विकासका तीन आयाम स्वच्छता, सुख र समुन्नतिका लागि क्रमशः २५, १० र ३१ गरी जम्मा ६६ वटा सूचाङ्क लक्ष्यहरु तय गरेको छ । कोभिड–१९ को महामारीबाट जनतालाई सुरक्षित पार्न र यसपछिका विषम परिस्थितिको सामना गर्न प्रदेश सरकारले चालु आ.व. २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको छ। यस्तो असहज अवस्थामा खाद्यान्नको सङ्कट कतै कसैले भोग्न नपरोस् भनेर कृषिलाई उचित प्राथमिकता दिइएको मुख्यमन्त्रीले आफ्ना सन्देशमा सार्वजनिक गर्नुभएको छ ।

यसैगरी प्रदेश सरकारले रोजगारी, उद्यमशिलता र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । कोरोना भाइरसबाट जनतालाई सुरक्षित राख्ने हेतुले सरकारले करिब ६ महिना लामो कडा बन्दाबन्दी लागु गर्यो, जसमा जनताको प्रशंसनीय सहयोग रह्यो । पछि बन्दाबन्दी मात्र यसको उपाय होइन भन्ने महसुस गरेपश्चात् सुरक्षाका उपायका साथ अनुशासित जीवन पद्धति अपनाउँदै दैनिकीलाई सहजीकरण गरेपछी अर्थतन्त्र फेरि चलायमान भएको छ।

प्रदेश नं. १ को मानव विकासका कारकतत्वहरुको कुरा गर्दा स्वास्थ्यतर्फ यहाँ तीन वटा शिक्षण अस्पताल, १८ वटा सरकारी अस्पताल, १९८ वटा प्राथमिक स्वास्थ्यकेन्द्रहरु तथा ६४८ वटा स्वास्थ्यचौकी रहेका छन् ।

यहाँ ६२ प्रतिशत जनताले आधा घण्टाभित्रको दूरिमा स्वास्थ्य सम्बन्धी सेवा प्राप्त गर्न सक्ने स्थिति रहनु निकै खुशीको कुरा हो र उहाँेले भन्नुभयो –‘ यहाँ औसत आयु दर ७०.७१ वर्ष रहेको छ जुन राष्ट्रीय औसतभन्दा राम्रो छ, यस प्रदेशमा सामुदायिक र संस्थागत गरी छ हजार ७२१ विद्यालयहरु रहेका छन् भने सरकारी निजी गरी १९३ क्याम्पसहरु रहेका छन् ।’

यस प्रदेशमा स्थापित पूर्वाञ्चल विश्वविद्यालयसहित छ वटा विश्वविद्यालयको उपस्थिति रहेको छ भने केही खुल्ने अवस्थामा रहेका छन् । यसैगरी ११३ वटा प्राविधिक महाविद्यालयहरु रहेका छन्। यहाँको कुल साक्षरता ७१दशमलव दुई प्रतिशत रहेको छ, प्रदेशको अर्थतन्त्रको आकार ५८६ अर्व बराबरको रहेको छ, र राष्ट्रीय अर्थतन्त्रमा १५.७३ प्रतिशतको योगदान रहेको छ। उद्योगहरुको उद्गमस्थल मानिने यस प्रदेशमा अहिले विकासका पूर्वाधारहरुको निर्माण कार्यलाई व्यापक बनाइएको छ । गत आर्थिक वर्ष २०७६÷७७ मा कोभिड–१९ को असहज अवस्थामा पनि पूर्वाधार विकासमा ८५ दशमलव पाँच प्रतिशत भौतिक प्रगति हासिल गर्न सरकार सफल भएको  मुख्यमन्त्री राईले आफ्नो सन्देशमा जानकारी दिनुभएको छ ।

प्रदेशको गरिबी दर सात दशमलव ४५ प्रतिशत रहनुले यहाँ रोजगारमा वृद्धि भएको आभास गर्न सकिन्छ । यो हिसाबले प्रदेश नं १ केही सामान्य स्थितिमा रहेको छ ,तर हामी यो स्थितिमा सन्तोष महसुस गरिरहेका छैनौँ । म र मेरो सरकार हामीसँग कतिपय कमी कमजोरीहरु विद्यमान छन्, सुधार गर्नु पर्ने र स्तरोन्नति गर्दै जानु पर्ने क्षेत्रहरु धेरै छन् भन्ने हामीले ती कुराहरुलाई महसुस गरेका छौं । र यही सिकाईबाट हामीले अगाडि बढ्दै जानु पर्ने छ भन्नेमा पनि हामी स्पष्ट छँैं। यहाँनिर म नेपालका लागि लेखिएको पहिलो मानव विकास प्रतिवेदन– सन् १९९८ को एउटा पङ्कति उललेख गर्न चाहन्छु। प्रतिवेदनले लेखेको छ ,विकास जनताको आय आर्जन बढाउने लक्ष्यभन्दा पर जान जरुरी छ, र यसले शिक्षा, स्वास्थ्य, राजनीतिक स्वतन्त्रता, साँस्कृतिक पहिचान र मानव समृधिका त्यस्तै अरु थुप्रै क्षेत्रहरुमा जनताका लागि अवसर बढाउनमा केन्द्रित गर्नु पर्दछ। मानव विकासका लागि यी कुराहरु आवश्यक अङ्गहरु हुन् भनेर महसुस गरी हामीले प्रदेशको विकासका प्रक्रियाहरुलाई आर्थिक, सामाजिक, पूर्वाधार विकास, वातावरणीय र सुशासनको परिप्रेक्ष्यमा हेर्ने र सोही अनुरुप अनुगमन मूल्याङ्कन पनि गर्दै दिगो विकासका लक्ष्यहरुसँग तादात्म्य मिलाउँदै जाने वैज्ञानिक परम्परा बसालेका छौं।

दिगो विकास लक्ष्यको बूँदा नं. १३ ले जलवायु परिवर्तनसँग जुध्न तुरुन्त कामकार्वाही गर्नु पर्ने आवश्यकता औँल्याएको छ। नेपालसँग समुद्र छैन । तर नेपालमा र अझ प्रदेश नं १ मा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित आठ हजार मी. भन्दा अग्ला चार वटा हीमशिखर र श्रृङ्खला छन्, चार वटा वन संरक्षण क्षेत्रहरु छन् । यहाँबाट बग्ने वार्षिक २२५ अर्व घनमीटर पानी दक्षिण एशियाको अरवौँ जनताका लागि जीवनदायिनी शक्ति बनेको छ। त्यसैले, दिगो विकास लक्ष्यको बूँदा नं. १७ को प्रावधान अनुरुप यी हीम श्रृङ्खलाहरुको संरक्षण गर्नका लागि साधनहरुको उच्चतम उपयोग गर्न र विश्व साझेदारी अति आवश्यक महसुस गरिएको छ र सहयोगका लागि यसतर्फ विश्व समुदायको ध्यान आकृष्ट गर्न चाहन्छु ।

विकासका रणनीतिहरुमा संरचनागत र आमूल परिवर्तन गरेर नै मानव विकासको गतिलाई तीव्र बनाउनका साथै यसलाई समतामूलक र दिगो बनाउन सकिन्छ । र यसले नै अतिकमविकसित तहबाट देशलाई स्तरोन्नति गर्नमा कारकको भूमिका खेल्न सक्दछ।

यही उपायबाट हामी हाम्रो जनताको जीवन ‘स्वच्छ, सुखी र समुन्नत’ बनाउन समर्थ हुनेछौं भन्ने मलाई लाग्छ । प्रदेश सरकार यसैतर्फ प्रयत्नरत छ भन्ने सन्देश अन्त्यमा मुख्यमन्त्री राईले व्यक्त गर्नुभएको छ ।