कसरी मनाइन्छ थारु समुदायमा ‘माघी’ ?

  

काठमाडौं । ‘माघी’ अर्थात 'माघे सङ्क्रान्ति' थारु समुदायको एक महान पर्व हो ।  थारु समुदायमा यस पर्वको विषेश महत्व रहेको छ । यस पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

यो पर्व विषेश गरी सुदुरपश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायमा मनाइन्छ । कैलाली, कञ्चनपुरलगायतका थारु वस्तीमा माघको रमझम पुषको अन्तिम दिनदेखि शुरु हुन्छ । माघका दिनमा थारु समुदायमा महत्वपूर्ण निर्णय गरिन्छ । नयाँ वर्षकोरूपमा मनाउने यो पर्वमा थारु समुदायले सद्भाव तथा आत्मिक प्रतीकको रूपमा समेत लिने गरिन्छ । 

माघ १ गते अर्थात माघको दिन उज्यालो नहुँदै बिहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ । वर्षभरि नुहाउँदै आए पनि माघमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ । यस दिन नुहाउनुभन्दा अगाडि पानी भएको स्थान वा नदी किनारमा पैसा राख्ने थारु समुदायको परम्परा रहिआए पनि नुहाउँदा जल किन्नु पर्ने परम्परागत मान्यताका साथ पैसा छोड्ने चलन कायम रही आएको छ । 

माघ नुहाइसकेपछि समुदायका व्यक्तिले नदी किनारबाटै एक आफसमा शुभकामना आदानप्रदानका साथै ‘सेवाढोग’ गर्दछन् । नुहाइ सकेपछि एउटा ढकियामा छुट्टै राखिएको चामल, नून, बेसार जस्ता सामग्री छुने परम्परा छ । त्यसपछि घरको अग्रजबाट सबैभन्दा पहिले ढोग गर्दै आशिष थापिन्छ । पूर्खा, मान्यजन सबैलाई उमेरको वरियता अनुसार सेवाढोग गर्दै माघीको खुशीयाली तथा शुभकामना साटासाट गर्ने गरिन्छ । यसलाई ‘सेवा लग्ना’ पनि भनिन्छ । सेवाढोगको कार्य परिवार हुँदै इष्टमित्र, आफन्त, छरछिमेक, गाउँघरसम्म हुन्छ ।  

पुसको अन्तिम दिन घर(घरमा सुँगुर काट्ने चलन थारु समुदायमा छ जसलाई ‘जिता९मरना’ भनिने गरिन्छ । माघ १ गते आपसी वैमनस्यतालाई त्यागेर खुशीयाली साटासाट गर्ने गरेकाले यसलाई थारु समुदायमा मेलमिलापको दिनको रुपमा पनि हेरिएको छ । परिवार र छरछिमेकमा जस्तोसुकै वैमस्यता रहे पनि त्यसलाई बिर्सेर यो दिन सेवाढोग गर्ने, आशिष लिने र दिने चलन रहेको छ ।यो दिन देवी देवतालाई साक्षी राखेर गुनासो, मनमुटावलाई त्याग्ने गरेकाले पारिवारिक सम्बन्धमा सुधार आउने विश्वास छ । माघ १ गतेको दिन नराम्रो कुरा, कार्य, वादविवाद गर्न नहुने परम्परागत मान्यता रही आएको छ । 

माघ २ गतेलाई पश्चिममा ‘खिच्रहुवा’ पनि भन्ने गरिन्छ । यो दिनबाट घरपरिवार, टोल, गाउँको आर्थिक हरहिसावको कुरादेखि लिएर वार्षिक समीक्षा र योजना बनाउने कार्य हुने गर्दछ । यसलाई ‘खोज्नी बोज्नी’ भनिन्छ । 

यहि दिनबाट एक वर्षको लागि परिवारको घरमुली छान्ने, आर्थिक समृद्धिको लागि वार्षिक योजना बनाउने, भोजविवाह, अंशवन्डा लगायतका कार्यको थालनी गर्ने गरिन्छ । यसका साथै गाउँ टोलका लागि नेतृत्व गर्ने भलमन्सा (बडघर), अघरिया, चिराकी, गाउँ गुरु वा चयन गरिन्छ । यिनीहरुको कार्य अवधि एक वर्षको रहने गर्दछ । 

पछिल्लो समय थारु समुदायको माघ पर्व मनाउने तरिकामा थुप्रै परिवर्तन आए पनि यसको धार्मिक, सामाजिक र साँस्कृतिक महत्व भने उत्तिकै रहेको छ । 
यस पर्वमा आफ्नो चेलीबेटीलाई उपहार दिने चलन पनि रहिआएको छ । यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर ‘निसराउ’ स्वरूप चेलीबेटीलाई उपहार दिइन्छ ।