देवी प्याकुरेलको कविता : हामी भेडाहरु

  

हार्दिक श्रद्धाञ्जली 
बाट
हिजो आजको
हाम्रो बिहानी शुरु हुन्छ ।
अनि एकै छिनमा हार्दिक बधाई, शुभकामना ।
अनि फेरी 
समापन हुन्छ चिर्यसबाट ।

एकै दिन एउटै मान्छे अनेक भईदिन्छ ।
एउटाले शुभकामना र बधाई दिन्छ ।
हामी भेडाहरु शुभकामना दिन्छौ ।
बधाई दिन्छौ, हो हो भन्छौ,
होईन होईन भन्छौ ।
बाबुको मृत्यु छोराले भन्दा पहिले 
पार्टीले थाहा पाउछ
अनि आफ्नो असल कार्यकर्ता घोषणा गर्छ
र 
श्रद्धाञ्जली लेख्छ, हामी त्यै लेखिदिन्छौं
हामी भेडाहरु मलामी जादैनौ ।

के हामी कसैले मर्नु पर्दैन ?
के एउटा भेडा भिरबाट हाम फाल्दा
हामी सबै भिरबाटै खस्ने नै हो ?
हामी मान्छे नै हौ र ?
हामी बर्तबन्धलाई भुल्दैछौं ।
हामी न्वरानलाई हेला गर्दैछौ ।
भुमीपुजा छोडीदिऔं ।
हामी
आजका हामी
हामी गाई बेचेर
दुध किन्छौं
मकै बेचेर
पप कोर्न खान्छौ
कागती,भकिम्लो,टिमुर अमला मासेर
गमलामा बुके उर्मादैछौ ।

बरु 
भिर पाखाका भेडाहरु
अझै तितेपाती खादैछन,हर्रो बर्रो चिन्दैछन
घोप्टे युगका कोठे मान्छे साच्चै हामी भेडा हौं ।
र 
कमसेकम भेडाहरुले 
आफनै गोठालालाई
बिहान जिन्दावाद 
अनि
साँझ मुर्दावाद त भन्दैनन ।