विकासमा स्थानीय चासो : चन्द्रागिरिदेखि लुम्बिनीसम्म

  

अहिले विकासको मोडल फेरिएको छ, स्थानीय जनताले आफ्नो क्षेत्रमा बन्ने संरचनालाई आफ्नै सम्पत्ति ठान्न थालेका छन्


यही फागुन १ गते बुटवल उपमहानगरपालिका- ३ स्थित बमघाटमा लुम्बिनी केबलकारको शिलान्यास गर्दै प्रधानमन्त्री केपी ओली । साथमा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ।

 करिब ११ वर्षअघि हो, गोदामबाट चन्द्रागिरि डाँडातर्फ जाँदैथियौँ । थैलो बोकेर उक्लिँदै गरेकी एक स्थानीय महिलालाई सोधेँ– यो डाँडामा त केबलकार बन्दै छ रे, कस्तो लागेको छ तपाइँलाई ? तपाइँहरुलाई पनि फाइदा हुन्छ रे हो ? उहाँले भन्नुभयो– के फाइदा हुनु नि ! यो माथिको जंगल पूरै मासिन्छ रे, जंगल नभएपछि पानी पर्दैन, खडेरी पर्छ रे भन्छन् गाउँलेहरु । उहाँले गाउँका जान्ने बुझ्नेहरुले त्यो आयोजना बनाउन दिनु हुँदैन भनेको सुनेको पनि बताउनुभयो । भन्नुभयो– केबलकार ल्याएर के गर्नु हाम्रो चित्लाङतिर आउने होइन । हामी स्थानीयलाई त केही न केही हुन्छ रे भन्ने चर्चा छ हाम्रो गाउँतिर त । 

म चन्द्रागिरि केबलकारका संस्थापक चन्द्र ढकालसँगै थिएँ । उहाँ सुन्नुमात्र भयो, केही बोल्नुभएन । हामी डाँडोबाट चित्लाङतिर ओर्लियौँ र एउटा रेष्टुरेन्टमा पुग्यौँ । त्यहाँ होमस्टे सञ्चालनको पनि तयारी थियो । बाख्राको चिज नै बन्दोरहेछ, सञ्चालकले हामीलाई प्रचार गर्दै थिए । खाजा खायौँ । स्थानीय केही पुरुषहरु चियामा गफिँदै थिए । म पनि यसो मिसिएँ । एकछिनपछि चन्द्रागिरिमा केबलकार आउने प्रसंग कोट्याएँ । सबैको एकै स्वर आयो– हामीलाई पनि थाहा छ । स्थानीयलाइ फाइदा के छ ? मेरो प्रश्नले धेरैको निधारमा गाँठो पर्यो । उनीहरु स्थानीय सर्वसाधारण थिए । सायद उनीहरुलाई पनि कसैले पढाएको हुनुपर्छ । भन्दैथिए– हामीलाई फाइदा त के हुन्थ्यो जंगल मासिएर डाँडा भत्काउँछन् भन्ने सुनेका छौँ, कतै हाम्रो गाउँसम्म पनि पहिरो नआए हुन्थ्यो ।  

चन्द्रागिरि केबलकार सञ्चालनमा आउनुअघि कैयौँ वर्षदेखिका सर्भेदेखि प्रारम्भिक अध्ययन तथा अवलोकनका क्रममा केही पटक म पनि ढकालसँग यस आयोजनास्थल र वरपरको वस्तीमा पुगेको छु । प्रायः यस्तै हुन् स्थानीय नागरिकका भनाई । तर ती उनीहरुका आफ्नै अनुभव होइनन् भन्ने कुरा प्रस्तुतिबाट भने थाहा हुन्थ्यो । सायद कसैले उनीहरुलाई सिकाएको थियो । आयोजनाबारे समय समयमा गरिने सार्वजनिक सुनुवाईहरुमा पनि यस्तै आउँथ्यो नागरिकका माग र गुनासाहरु । सार्वजनिक सुनुवाईमा उनीहरुको एउटामात्र प्रश्न आउँथ्यो– हामीले के पाउँछौँ ? 

तर अहिले समय धेरै फेरिएको छ । यतिखेर चित्लाङका नागरिकले आफ्ना स्थानीय उत्पादनलाई चन्द्रागिरि रिसोर्टसम्म पुर्याइदिए हुन्छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने रिसोर्टको नीतिका कारण यहाँको सागपातदेखि स्थानीय अन्न अनाजले अहिले सजिलै बजार पाएको छ, किसान खुशी छन् । उनीहरुले भत्किएला भनेर डर मानेको चन्द्रागिरि डाँडा पहिलेजस्तो अँध्यारो छैन, रातिमा पनि झन् झकिझकाउ देखिन्छ । आयोजनाका लागि काटिएका रुखका ठाउँमा लगाइएका नयाँ रुख हर्लक्क भएका छन् । हरियाली झन् बढेको देखिन्छ । भालेश्वर महादेव मन्दिरको बिहानी आरती र घन्टाले गाउँलेलाई सबेरै ब्युँझाउने गर्दछ ।  

हालै चन्द्रागिरि हिल्स लिमिटेडले आयोजनाको सीमा क्षेत्र निर्धारण गरेर स्थानीयलाई सेयर पनि वितरण गरेको छ । दश कित्ता सेयर पाउँदा र नपाउँदा सामाजिक सञ्जालमा अनेक तरहका ट्रोल बने तर स्थानीयले तोकिएको सेयर पाएर खुशी छन् । अब त्यो सम्पत्ति उनीहरुको आफ्नै भएको छ । अहिले आएर यस्ता संरचनाहरु भनेका साझा मात्र नभएर स्थानीय नागरिकका आफ्नै सम्पत्ति हुन्, यीनलाई मलजल गरेर हुर्काउनुपर्छ भन्ने भावना जनतामा पलाएको छ । केबलकारकै कारण चन्द्रागिरि डाँडो कसरी चम्किएको छ अनि फेद र वरपरका वस्तीहरु कसरी गम्किएका छन् भन्ने तथ्य त्यहाँ पुग्नेले देखिहाल्छ । स्थानीयलाई रोजगारी, उनीहरुको उत्पादनको बजारदेखि जग्गाको मूल्यमै पनि देख्न सकिन्छ यो संरचनाले कसलाई फाइदा पुर्याएको छ भन्ने कुरा । 

डाँडो भत्किएर गाउँ नै पुर्ने हो कि भनिएको चित्लाङको शिरमा वर्षदिन अघि मात्र चिनियाँ विदेशमन्त्री वाङ यी स्वयं पुग्नुभयो र राजधानी नजिकको एउटा राम्रो ट्रेकिङ रुट भनी प्रशंसा पनि गर्नुभयो । चन्द्रगिरिको त्यो डाँडामा केबलकारका तार नझुण्ड्याएको भए चित्लाङको शिरसम्म पुग्न यो स्तरका विदेशी पाहुनाका लागि सायदै निहुँ भेटिन्थ्यो होला । आयोजना सुचारु भएको बल्ला पाँच वर्ष पुग्दैछ तर अहिले न जंगल मासिएको छ नत डाँडो नै भासिएको छ । बरु यहाँको जीवनस्तर उकासिएको छ अनि स्थानीय अन्न अनाज र जग्गाको मूल्य आकासिएको छ ।  

भनिन्छ बाह्र वर्षपछि खोला नै फर्किन्छ । मैले त्यस समय माथि पाएको त्यो दृश्य यही फागुन १ गते लुम्बिनी केबलकारको शिलान्यास समारोहमा उपस्थित भएका स्थानीयमा देखिन । लुम्बिनी केबलकार आयोजनाको बटम स्टेशन रुपन्देही जिल्लाको बुटबल उप–महानगरपालिका– ३, बमघाटमा र टप स्टेशन पाल्पा जिल्लाको तिनाउ गाउँपालिका– ३ वसन्तपुर डाँडामा बस्ने रहेछ । आईएमई समूहकै अगुवाइ र स्थानीय प्रवद्र्धकहरुको सहभागितामा बन्ने यो आयोजनाको शिलान्याश प्रधानमन्त्री केपी ओलीले  गर्नुभयो । त्यस कार्यक्रममा तिनाउँ गाउँपालिकादेखि मानिस साढे दुई घन्टा हिँडेरै त्यहाँ पुगेका रहेछन् । 

बाह्र वर्षअघिको अवस्था सम्झिएँ । उता कार्यक्रम चल्दै थियो, एक सहभागीलाई सोधेँ– यहाँ त केबलकार बन्न लाग्यो कस्तो लागिरहेको छ ? मुना कार्की नाम बताउने उहाँको मुहारमा चमक देखियो । भन्नुभयो– हो, आज प्रधानमन्त्रीले शिलान्यास गरिसक्नुभयो, अब यसलाई जतिसक्दो चाँडै सक्नुपर्छ, हामीले के गर्नुपर्छ गर्न तयार छौँ । उहाँको आक्रोस मिश्रित प्रतिक्रिया थियो– सरकारी अड्डाले विभिन्न बहानामा काम अघि बढ्न दिँदैनन् भन्ने पनि हामीले सुनेका छौँ, त्यसो गरेर हुन्छ ? यो केबलकारले त हामी स्थानीयलाई फाइदा हुन्छ, हामीलाई सेयर दिन्छ अनि ती कर्मचारी त भोलि कहाँ पुग्छन् पुग्छन् नि । त्यसैले यो आयोजनालाई समयमै सम्पन्न गर्न उनीहरुले सघाउनुपर्छ । माथि आफूले तरकारी खेती गरिरहेको बताउने उहाँले यहाँ आयोजना आयो, होटल खुल्यो भने आफ्नो उत्पादन बिक्ने आशा पनि व्यक्त गर्नुभयो । 

अर्का बुटवलबासी मनोहर पौडेलको भनाई थियो– अघिल्लो हप्तामात्र चन्द्रागिरि केबलकारले स्थानीय नागरिकलाई सेयर दियो रे भन्ने हामीले समाचारमा पढेका हौँ, हामीलाई पनि भोलि यो आयोजना बनेपछि सेयर दिने भनेका छन्, अनि स्थानीयलाई रोजगारी पनि दिने भनेका छन्, त्यसैले यो आयोजना त जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्छ । 

चन्द्रागिरिले सेयरको यतिचाँडै यहाँसम्म यस्तो प्रभाव परेको रहेछ । विकासका संरचनाहरुमा स्थानीयलाई सहभागी गराउँदा यसले पार्ने प्रभावको यो एउटा नमूना हुनसक्छ । नागरिकमा पहिले विकासको चेतना थिएन, आफ्नो गाउँठाउँमा आउने विकासले आफैलाई फाइदा पुग्छ भन्ने जानकारी जनताको यो तहमा देखिँदैनथ्यो । अनि थाहा पाएका एकाध मानिसहरु भने आफ्ना फाइदाका लागि जनता भड्काउने गर्दथे । तर अब त्यस्तो अवस्था देखिँदैन, जनता आफै जान्ने भएका छन् । आफ्ना ठाउँमा बनेका विकासका संरचनाले आखिर आफूहरुलाई नै फाइदा पुग्छ भन्ने कुरा जनतालाई अब थाहा भएको छ, अनि जनता विकासमा आफै लाग्ने अवस्था देखिएको छ । संसारमा विकास भएका विविध विकासका मोडेलहरुमध्ये जनसहभागितामूलक विकासको मोडेल भनेको पनि यही नै हो ।     

यो लुम्बिनी केबलकारको संस्थापक एवं अध्यक्ष पनि चन्द्र ढकाल नै हुनुहुन्छ । प्रधानमन्त्री उपस्थित समारोहलाई सम्बोधन गर्दै उहाँ भन्दै हुनुहुन्थ्यो– “प्राकृतिक सौन्दर्यले समेत सुशोभित यस सुन्दर पुण्यभूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय साझेदारीको माध्यमबाट यहाँका नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत् देशको समृद्धि हासिल गर्ने काममा हामी लाग्ने छौं, यो हाम्रो प्रतिबद्धता हो ।” 

उहाँको भनाई थियो “मलाई लाग्छ यस्ता संरचनाहरु राष्ट्रका एवं स्थानीय नागरिकका आफ्नै सम्पत्ति  हुन् । छोटै समयमा आज चन्द्रागिरि केबलकार काठमाडौँबासीको मात्र नभएर नेपाल भ्रमणमा आउने विदेशी विशिष्ट व्यक्तित्वहरुको पनि एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको कुरा यहाँहरु सबैलाई अवगत नै छ । यसले देशको अर्थतन्त्रका साथै स्थानीयको जीवनस्तर उकास्न पनि उत्तिकै योगदान गरको छ ।” 

उहाँले लुम्बिनी केबलकार पनि नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारहरुसहित यहाँका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरुको सामुहिक प्रयासबाट जति धेरै छिटो निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउँछौँ त्यति नै हामी सबै लाभान्वित हुनसक्छौँ– उहाँले भन्नुभयो । 

उहाँले भनेजस्तै आज चन्द्रागिरि ५० लाख काठमाडौंबासीको उकुसमुकुसको निकास मात्र होइन नेपाल आउने विदेशी पाहुनालाई देखाउने एउटा गन्तव्य पनि बनेको छ । नेपालमा बिमस्टेक बैठकमा आएका विदेशमन्त्रीहरुदेखि चिनियाँ विदेशमन्त्रीसम्मलाई नेपाल सरकारले रिट्रिटका लागि त्यहाँ पुर्याएको थियो । सायद संसारलाई कोरोनाको कहरले यसरी नछोएको भए नेपाल भ्रमण वर्ष सफल बनाउन आयोजना गरिएको ‘सगरमाथा सम्वाद’का केही कार्यक्रम यही चन्द्रागिरि रिसोर्टमा हुनेथिए, जहाँ विश्वका कैयौँ देशका पर्यटन मन्त्रीहरु उपस्थित हुने कार्यक्रम थियो ।   

सम्बोधनका क्रममा ढकाल भन्दै हुनुहुन्थ्यो “सम्माननीय प्रधानमन्त्रीज्यू, आज यस समारोहमा केही कुरा राखिरहँदा मलाई २०७१ साल बैशाख ५ गतेको सम्झना आएको छ । हामीले त्यस दिन चन्द्रागिरि केबलकारको शिलान्यास गरेपछिको केही समयभित्र नै देशले भूकम्पदेखि नाकाबन्दीसम्मका विपद् व्यहोर्नु परेको थियो । देशमा संरचना निर्माण एवम् विकासका कामहरु लगभग ठप्प भएको त्यो कठिन परिस्थितिमा पनि हामीले हामीले आफ्नो मनोबल अझै दृढ बनायौं र आयोजना समयमा नै सम्पन्न ग¥यौं । चन्द्रागिरि डाँडामा केबलकारका टावरहरु ठड्याइरहँदा २०७२ सालको विनाशकारी भूकम्पको त्रासले देशवासीका मन, मस्तिष्कहरु हल्लाइरहेको भए पनि हामीले निजी क्षेत्रको मन हल्लिन दिएनौँ, त्यस्तो अवस्थामा त निर्माणका काम हुनसक्छन् भन्ने उदाहरण प्रस्तुत गर्यौँ र सबै क्षेत्रलाई आफ्ना कर्ममा जुट्न प्रेरित गर्यौँ जस्तो हामीलाई लाग्दछ । तर हामीले १२ त्यसका लागि व्यहोरेका कथा व्यथाहरु भने म यहाँ पोख्न सक्दिन, ती व्यथा हामीलाई मात्र थाहा छ ।” 

स्वागत मन्तव्यका क्रममा ढकालले त्यसो भनिरहँदा यता प्रधानमन्त्रीले अर्थमन्त्री विष्णु पौडेललाई कोट्याउँदै सोध्नुभयो– अब यहाँका समस्या के छन् सरकारका तर्फबाट गर्नुपर्ने ? उहाँहरु मञ्चमा सँगै बस्नुभएको थियो । पौडेलले भन्नुभयो– अब त्यस्तो केही छैन होला, हामीले सहजीकरण गरेकै छौँ, अब त्यही बनको काम होला ।  

मन्तव्य सकेपछि ढकाललाई प्रधानमन्त्रीले फेरि सोध्नुभयो– सरकारले अब बाँकी काम आवश्यक रुपमा सहजीकरण गरिदिँदा तपाईंहरुलाई निर्माण गर्न ठ्याक्कै कति समय लाग्छ ? वर्ष दिनमा सकिन्छ नि ? ढकालले भन्नुभयो– हामीलाई कुनै अप्ठेरो अवस्था आएन भने, अब सरकारका निकायले आवश्यक काममा सहजीकरण गरिदिने हो भने हामी वर्ष दिनमा सक्छौँ प्रधानमन्त्रीज्यू । 

मञ्चमा बसिरहँदा प्रधानमन्त्रीलाई यो प्रारम्भिक अनुसन्धानको दरकार लुम्बिनी केबलकारका एकजना प्रमोटर रमेश शर्माको अभिव्यक्तिले पनि परेको हुनसक्छ । नेपालको निर्माणका क्षेत्रमा ख्याति कमाएको शर्मा कन्स्ट्रक्सनका सञ्चालक शर्माले भन्नुभएको थियो– १२ वर्षमा त खोला पनि फर्किन्छ भनिन्थ्यो, हामीले १२ वर्ष भोगेका अनेकन अप्ठेराहरुपछि आज शिलान्याशको यो चरणसम्म त आउन सक्यौँ, तर अबका दिनमा भने हामीलाई त्यस्तो अप्ठेरो नपरोस् भन्ने कामना म आज यहाँ गर्न चाहन्छु । 

यी सुझाव र अभिव्यक्ति सुनेपछि प्रधानमन्त्री ओलीको सम्बोधनमा व्यक्त आसय थियो– के आवश्यक पर्छ सरकार सबै सहयोग र सहजीकरणका लागि तयार छ, तर यो आयोजना वर्षदिनमा सम्पन्न हुनुपर्यो । उहाँले भन्नुभयो– मैले अघि चन्द्र ढकालजीलाई सोधेँ कि तपाईंले यो आयोजना वर्षदिनमा सक्नुहुन्छ ? उहाँले सक्छौँ भन्नुभयो । त्यसैले हामीलाई अरु केही थाहा छैन, अब अर्काे वर्षको फागुन १ गते हामी यहाँ आउने हो, टिकट काटेर केबलकार चढेरै माथि वशन्तपुरमा शीतल ताप्न जाने हो । उहाँले यो आयोजना वर्षदिनमा सक्नुपर्छ भनेर जोड गरिरहँदा यता सो आयोजनाको शिलान्यासमा उपस्थित भएका स्थानीय नागरिकले भने ठूलो आवाजमा ताली ठोकेका थिए । उनीहरु आपसमा कुरा गर्दैथिए कि यो जसरी पनि वर्ष दिनमै सक्नुपर्छ, यदि आयोजनाका प्रमोटरहरुलाई कसैले असहयोग गरे भने बरु हामी स्थानीय उठेरै भए पनि सहयोग गर्नुपर्छ । 

त्यहाँ उपस्थित सबै स्थानीयको यो जोश देख्दा लाग्छ अहिले देशमा विकासको मोडेल र परिभाषा दुवै फेरिएको छ । जब कुनै विकासमा जनताको सहभागिताको मात्रा र माध्यममा परिवर्तन आउँछ त्यसपछिको विकासको मोडेल पनि फरक हुन्छ । चन्द्रागिरि केवलकारको निर्माणका कथा व्यथाहरुको पोको उहाँकै शब्दमा शिलान्याशको त्यस शुभ साइतको दिनमा प्रधानमन्त्रीको अघिल्तिर फुकाउन नचाहेका चन्द्र ढकालका मनमा रहेका धेरै कुराहरुमध्येका केहीको साक्षी म पनि छु । त्यो आयोजनाको सर्वेक्षणदेखि त्यो आयोजना सञ्चालनका दिनसम्म आइपुग्दा लाग्छ उहाँहरुका साना दुःखले चन्द्रागिरि केबलकार आर्जेको होइन । चन्द्रागिरि डाँडामा केबलकारका तार झुण्डिएपछि सरर बाकस चढेर यात्रा गर्दा ती पीडा विर्सिन पाउने अवसर पनि उहाँहरुका लागि उपलब्ध किन हुन सकेन भने पछिसम्म पनि केही समाचारहरुले उहाँहरुलाई पछ्याइरहेका थिए । 

हो, नेपालमा अहिले विकासका लागि आफै लाग्नुपर्छ, आफ्ना क्षेत्रमा लगानी भित्र्याउनुपर्छ भन्नेमा प्रदेश सरकार र नागरिक लागेको देखिन्छ । लगानीका लागि तीनवटै तह (स्थानीय, प्रदेश र केन्द्र) सरकारको तर्फबाट निजी क्षेत्रलाई सहजीकरण गरिदिने प्रयत्न गर्न पनि खोजेको देखिन्छ । नयाँ संविधान जारी भएसँगै मुलुक प्रादेशिक संरचनामा गएपछि लगानीको वातावरणमा केही सुधार ल्याउन खोजिएको पनि देखिन्छ । तर तीन तहका सरकार बीचमा हुनुपर्ने आपसी समन्वयको भने ठूलो खाडल छ । यसैकारण देशमा जति तहका सरकार भए पनि अझै पनि लगानीमैत्री वातावरण बनाउने र सहजै आफ्ना क्षेत्रमा लगानी भित्र्याउन कता कता के नमिलेजस्तो भएको व्यवसायीहरुको ठूलो गुनासो छ । 

यतिखेर देश झन् ठूलो समस्यामा छ । नेपाल भ्रमण वर्ष २०२० आयोजना गर्न नपाउँदा सरकार र निजी क्षेत्रले त्यसमा गरेको अरबौ लगानी खेर गएको छ । देशका धेरै क्षेत्र र अझ बढी पर्यटन क्षेत्र लगभग थला नै परेको अवस्थामा छ । तर अहिले भने भर्खरै यो क्षेत्र बामे सर्न लागेको छ । 

लुम्बिनी केबलकारजस्ता संरचना जतिधेरै र समयमै बन्छन् त्यति नै विकासको मूल फुट्दै जाने हो । यो आयोजना यति रणनैतिक छ कि लुम्बिनी विश्वका लगभग आधाआधी मानिसको अध्यात्मिक गन्तव्य हो भने यता हाम्रो छिमेकी भारतबाट पनि बढीमा आधा घन्टामात्रको ड्राइभमा पुगिन्छ । 

हाम्रो देशको प्रमुख पर्यटन बजार हाम्रा दुई छिमेकी मुलुक भारत र चीन नै हुन् । यो क्षेत्र भारतको बोर्डरबाट ३० मिनेट मात्रको ड्राइभमा पर्छ भने चीनको धार्मिक पर्यटकीय गन्तव्य लुम्बिनी हो । यी दुई छिमेकीको जनसंख्या विश्वकै एक तिहाइभन्दा बढी छ । यसको शुन्य दशमलव पाँच प्रतिशतमात्र जनसंख्यालाई हामीले पर्यटकका रुपमा नेपाल भित्र्याउन सक्यौँ भने त्यसले नेपालमा ल्याउने समृद्धिको मात्रा कति होला ? 

त्यसैले पनि मैले यहाँ बन्ने भौतिक पूर्वाधार र पर्यटकीय संरचना जतिधेरै बने पनि थोरै नै हुने भएकोले आफूहरुले यही पयैटन बजारमा सेव ागर्न चाहेको अध्यक्ष ढकालले बताउनुभयो । देशभित्र लगानीका सम्भावना प्रसस्त रहेपनि राष्ट्रिय रुपमा गम्भीर अर्थ राख्नेगरी लगानीको अभियानको शुरुवात हुन भने अझै पनि सकेको छैन । त्यसैले यो अभियान नेपालमा शुरु गर्न ढिला गर्नुहुदैन र विकासको यो मूलधारमा स्थानीय जनतालाई समाहित गर्न कदापि छुटाउनुहुदैन । तबमात्र देशमा समृद्धि सम्भव छ, नत्र यो समृद्धि भन्ने शब्द भाषणमा प्रयोग हुने विषयमा मात्र सीमित रहने निश्चित छ । 

नेपालको आन्तरिक तथा बाह्य पर्यटनको विकास र विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्ने लुम्बिनी केबलकार आयोजनाको बटम स्टेशन रुपन्देही जिल्लाको बुटबल उप–महानगरपालिका– ३, बमघाटमा छ । यसको टप स्टेशन पाल्पा जिल्लाको तिनाउ गाउँपालिका– ३ वसन्तपुर डाँडामा रहने छ । उक्त स्थानमा पाँचतारे होटल कम्प्लेक्स रहने आयोजनाको अग्रता गरिरहेको आईएमई समूहले जनाएको छ । केबलकारको लम्बाइ ३ किलोमिटरको र यात्रा समय (बटम स्टेसनदेखि टप स्टेसनसम्म पुग्न लाग्ने समय) १० मिनेटको हुने र प्रतिदिन ६ हजार यात्रु बोक्ने क्षमतको रहने पनि बताइएको छ ।

बटम स्टेसनबाट ९४० मिटर उचाइमा रहेको टप स्टेसनसम्म पुग्न ९ वटा टावर निर्माण हुनेछन् भने गोन्डोलाको संख्या २४ रहने छ । लुम्बिनी र भारतको सीमा क्षेत्रबाट नजिक भएकाले भारतीय पयर्टक तान्न यसले भूमिका खेल्ने तथा औद्योगिक केन्द्रका रुपमा रहेको लुम्बिनी प्रदेशको आर्थिक विकास गर्न यस आयोजनाले थप लगानीको वातावरण बनाउने विश्वास लगानीकर्ताहरुको छ ।

उता आयोजनाले स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने घोषणा गरेबाट पनि स्थानीयको उत्साह थप बढेको पाइएको छ । यो क्षेत्रमा मनोरन्जको लागि पार्क, पिकनिक स्पट र बाल उद्यान निर्माण गरिनु त छँदैछ यो १० मिनेटको केबलकार यात्राका क्रममा तराई, पहाड र हिमालको अनुभव र दृश्यावलोकनले पनि त्यो यात्रा थप रोमाञ्चक बनाउने देखिन्छ ।  केबलकारको शिलान्यास भएपछि स्थानीयमा उत्साह देखिएको छ । आर्थिक गतिविधि बढ्ने त छँदैछ यसले थप रोजगारीको अवसर सिर्जना हुने भएकाले पनि स्थानीयमा उत्साह थपिनु स्वभाविक हो । 

पर्यटन नेपालको आर्थिक विकासको आधार नै हो । फेरि पहाड र तराईको सम्मिश्रित बस्ती बुटबल क्षेत्रमा प्रदेशको मात्र होइन देशको विकासका धेरै आधारहरु जेडिएका छन् । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल अब लगभग तयार हुदैछ । त्यसो हुँदा अहिले चाहेर पनि लुम्बिनी आउन नसकेका विश्वका बौद्धमार्गी जनताको लुम्बिनी आगमनको बाटो सहजै खुल्ने छ । जीवनमा एक पटक लुम्बिनी पुग्ने इच्छा भएका विश्वका बौद्धमार्गीहरुलाई यो विमानस्थल जसरी एक सहज मार्ग बन्न सक्छ ठीक त्यसैगरी यहाँ पुग्ने उनीहरुको आरामदायी बसोबास र पर्यटनको लागि लुम्बिनी केबलकार र माथि वशन्तपुर डाँडाको रिसोर्ट पनि एक आकर्षक गन्तव्य बन्न सक्छ । बुटवलबाट एकराज पाठकको रिपोर्ट