छोरीले छाती र घुडा ढाकेर हिँड्नुपर्छ, कति आत्तिनु हुन्छ हो पुरुष दाजुभाईहरु ?

  

छोरीलाई आफ्नो तरीकाले बांच्न दिनुस्


मलाई जब स्कूल पठाउन शुरु गरिएको थियो त्यस बखत आजको जस्तो वातावरण थिएन र आज जो मुस्लिम समुदायका सरपरस्त (अभिभावक) बनेका छन् शायद तिनलाई त्यो परिवेश थाहा पनि थिएन होला किन भने विद्यालयको वातावरण निकै सौहार्द थियो ।

हामी सबै समुदायका बालबालिका एकै किसिमको स्कर्ट र सर्ट र केटाहरु हाफ (गर्मी मा) पाइन्ट वा पाइन्ट लगाएर जाने गर्दथ्यौं । कुनै अभिभावकले विद्यालयमा आई छोरी स्कर्ट भन्दा सुरुवाल कुर्ता लगाएर पठाउँछौ भनि भनेको सम्झना नै छैन । 

बांके (नेपालगंज) मा छोरी मात्रै पढाउनको लागि सरस्वती विद्यालय थियो । जहां न्यून मात्रामा मुस्लिम समुदायका बच्चीहरुलाई पठाइन्थ्यो । मलाई त्यहीको केटा केटी दुवै पढ्ने विद्यालय पढ्न पठाइयो । 

मुस्लिम समुदायमा छोरीलाई विद्यालय पठाउने चलन नै थिएन । किनकी छोरी पढिन् भने सक्षम बन्ने छिन् भन्ने ठूलो डर थियो र समुदायमा छोरी बिग्रिन्छिन् भन्ने भय र डर देखाइएको थियो । त्यसै कारणले छोरी पढाउने चलन थिएन । छोरा पढ्यो भने बाबु आमा स्याहार्छ, छोरी अर्काको घर जाने जात हो किन खर्च गर्ने, छोरी माथि “छोरी घर की निःशुल्क घरेलु कामदार थिईन” । 

छोरी माथि पनि छोरा सरह लगानी गरेको भए शायद आज यो समुदायको आर्थिक सामाजिक परिवेश अर्कै हुने थियो । तर खुशी के मान्नु पर्छ भने विस्तारै परिवेश फेरिदै गयो र अन्य समुदाय सरह छोरीलाई पनि पढाउने चलन मुस्लिम समुदायमा पनि वृद्धि भयो । र शुरु भयो नयाँ षडयन्त्र लुगालाई लिएर र यो विशुद्ध पुरुषको सोच लाद्ने क्रमको रुपमा जारी छ । 

कपडालाई लिएर मुस्लिम समुदायमा संकीर्णता थियो नै र छ पनि आफूलाई सहज लाग्ने वा जे लगाउँदा आफूमा आत्मविश्वास जाग्दछ त्यो लगाउन छुट छैन । लादिएको सोचका कारण निरन्तर बहसमा छ मुस्लिम महिलाको पोशाक यो नेपालमा मात्रै होईन विश्वमा नै यसरी चलिरहेको छ । 

“छोरीले छाती र घुँडा ढाकेर हिन्नु पर्छ” । कति आत्तिनु हुन्छ हो पुरुष दाजु भाइहरु ? बहसका विषय विश्वमा र देश भित्र अरू पनि छन् । कसरी अधिक भन्दा अधिक राजनीतिक, सामुदायिक नेता बनाउन सकिन्छ, कसरी डाक्टर ईन्जिनीयर वा कानून व्यवसायी, शिक्षक बनाउन सकिन्छ ?

कसरी हिंसामुक्त समाज बनाउन सकिन्छ ? छोरीलाई आफ्नो तरीकाले बांच्न दिनुस् । सक्षमता र आत्मविश्वासको सास फेर्न दिनुस् । कहिलेसम्म लादिएका सोचमा बांच्ने छिन् हाम्रा छोरीहरु?

 (लेखक अन्सारी मानव अधिकार आयोगका पूर्वसदस्य हुनुहुन्छ)