…र अन्तत: म पोइल हिंडें

  

आक्कल झुक्कल अफिसको ढोकैमा भेटिंदा  म उसका आखा नियाल्थें l अनगिन्ति अनुहारसंग यो आँखा ठोक्किन्छ तर केहि खास अनुहारका खास आँखाहरुले मलाइ तुरुन्तै कैद गर्छन l यसरि मेरा आखालाइ  कैदी बनाउने अत्यन्त सिमित आँखामध्ये उसका ति दुइ शान्त आँखा पनि थिए l सामान्य चिनाजानी थियो हामि बीच l म त्यो सामान्य लाइ प्रगाढ बनाउने प्रयत्नमा थिएँ l एउटा नजानिँदो आकर्षणको सिर्सिरे बतासले मलाइ हल्का छोएझैं भान हुन्थ्यो जसले  उसलाई छुँदै आएको होला l

उसका बोलीको मधुरता , उसका हाउभाउका शिष्टता ओहो! केहि त छ उसमा l म अनुमानै गर्न सक्दिनथें उसका बारे l जहा त्यति चंचल हाउभाउ छ त्यहाँ भारि गम्भीरता पनि छ किन? निर्दोष ति आखाहरुमा नछोड्ने तर बुझिनसकिने रहस्य भएझैं किन? तर असहज थियो त्यसरी एकाएक कसैमाथि गहिरो चासो राख्नु l एकोहोरो हेरिदिनु l 

कसो कसो एकदिन सम्मुख पर्यौं र मैले राम्ररि नियालें ति चंचल-गम्भीर आखाहरू l तत्क्षण मैले यो पनि भुलेछु कि हामि एक अर्कालाई धेरै चिन्दैचिन्दैनौ l उसलाई पनि निकै अप्ठेरो र अचम्म लागेछ र त हठात् पछाडी फर्केर ति मेरा प्रिय आखाहरुलाई भिडतर्फ कता हो कता हुत्याइदिएको देखें मैले l म पनि एक खालको हतप्रभ भएँ र सम्हालिएँ l निकैबेर पछी कसैले पछाडी बाट बोलायो l फर्केर हेरें तिनै प्यारा दुइ आखा थिए l अलिक अत्तालिएर मैले “भनें माफ गर ! मैले त्यसरी तिमीलाई नियाल्न नहुने l अँ तिम्रो नाम बिर्सिएँ , 

सम्झाउ न !”

“मेरो नाम शुभश्री! एउटा कुरा सोधुँ तपाईलाई!”

‘सोध न!”

“तपाईं केटी मान्छे भएर केटी लाइ नै किन यसरि नियाल्नुहुन्छ कुनै नवजवान ठिटो जस्तो?” उसका प्रश्नले मलाइ थोरै लज्जित पनि बनायो l कतै मलाई सुभश्री ले समलिंगी महिला त ठानिन?

“शुभश्री! तिमि मेरो बारे धेरै जान्दिनौ र मलाइ पनि तिम्रो बारे थाहा छैन l यदि तिमीलाई अप्ठेरो लाग्दैन भने एक दिन हामि संगै बसेर चिया खाजा खाउँ न! मलाई तिम्रो बोलीचाली मन पर्छ l तिमि म जस्तै एक महिला l म संग तिमि डराउनुपर्ने त केहि छैन नि l”

एकछिन अकमक परि अनि टाउको कन्याउदै भोलिपल्ट त्यहि समयमा अलिक पर्तिर टिफिन बेकरीमा चिया खाने वाचा गरि l हेर्दा अत्यन्त सोझी र लाटी देखिने शुभश्री यथार्थमा त्यति लाटी छैन भन्ने मलाइ अनुमान भैसकेको छ l लेख्ने मान्छे न परें , कतै केहि गतिलो बिषय मिल्छ कि त्यो पनि महिलाकै बारे मा एक यथार्थ भोगाई! मेरो स्वार्थ भनेपनि जे भनेपनि त्यति नै थियो शुभश्री बारेको चासो l

भोलिपल्ट समयमै अफिस पुगें l अफिस भनेपनि प्राय फिल्डमै कुद्नु पर्ने हो तर त्यस दिन कतै नजाने तालिका मिलाएँ l हाम्रो अफिसकै फ्ल्याटमा अर्कोपट्टी एक नाम चलेको फाइनान्स छ जहा शुभश्री पियनको काम गर्छे l एसो नियालें सुभश्री झाडु लगाउदै रहिछे l “गुड मर्निंग सुभ! टिफिन बेकरी सम्झेकी छौ नि!” “हजुर! गुड मर्निंग म्याम! सम्झेकी छु  l” एकछिन यताउता काम गरें l समय कतिबेला बित्ला र टिफिन समय होला भन्ने मेरो ध्यान थियो l जब समय भयो म भने फोनमै भुलेछु l सुभश्री ले ढोका ढक्ढक गर्दा पो झसंग भएँ l हत्तपत्त ब्यागमा डायरी, पेन , र रेकर्ड टेप राखें र निस्किएँ l टिफिन बेकरी खचाखच छ l उसैपनि दिउसोको खाजाको समय l मलाइ अलिक एकान्त चाहिएको l अलिक कुनाको टेबलमा पुग्यौं र सुभश्री र म सम्मुख बस्यौं l

“के लिन्छौ शुभ!”

“अँ हजुर नै भन्नु न! एउटा कुरा भनुँ? हजुरले मलाई बोलाउँदा ‘शुभ’ मात्रै भनेको मलाई एकदम मन पर्छl मेरो बाबाले पनि मलाइ शुभ नै भन्नु हुन्थ्यो l”

भोक त थियो नै समयपनि कटाउनु थियो l हल्का गर्मि मौसमको आदेश अनुसार कोक, समोसा+तरकारीअर्डर गरें  दुइ भाग l शुभ आज अलिक बेसी नै चंचल लाग्दै थिइ l सामान्य कुराकानी भयो l कुरो कहाबाट सुरु गरौँ भन्ने अनमन्यस्क अवस्था पर्यो l एक छिन फेरी नियालें उसका ति प्यारा आखा l असाध्यै निर्दोष , असाध्यै चंचल पनि अनि गम्भीर पनि l सायद मैले जिन्दगिमा पहिलोपटक यस्ता आखा भेटें हुँला जो एकसाथ गम्भीर र चंचल छन l

एकै पल असाध्य चम्किला ति आखा उसैपल भर्खर भर्खर निर्दयी हावाको झोंकाले हठात् निभाइदिएको मैनबत्तीको शिखा जस्तो जहाँ अझै निम्स्याइलो थोरै धुवाँ फुस्स सकिंदै छ l  मैले अनुमान लगाइसकेको छु कि एक साधारण फाइनान्समा पियन को काम गर्ने साधारण शुभश्री जति साधारण देखिन्छे त्यति वास्तबमा ऊ छैन l उसभित्र केहि हुर्हुराउँदो मुस्लो, केहि उकुसमुकुसका गुम्फनहरु , केहि कहालीलाग्दा विगतहरु या त जबर्जस्ति दबाइएका उच्च आकांक्षाहरु अवस्य छन् l मेरो उद्देस्य तिनै केहि पत्र उधिन्ने र उसको मनको बोझ अलिक आफुले सुनिदिएर आफ्नो गतिलो लेख तयार पार्ने  थियो l

“शुभ! तिमीले मलाइ कसरि लिएकि छौ मलाइ थाहा छैन तर तिम्रो जानकारीको लागि, म एक साधारण तिमीजस्तै महिला हुँ l मेरो काम पत्रिकामा लेख्ने हो l खासगरी म महिलाहरुकै बारे लेख्छु, अझै जो दबिएका छन् , हेपिएकाछन् उनका बारे धेरै लेख्छु l यसो गर्दा एक त समाजभित्र महिलाहरुको यथार्थ के हो भन्ने देखिन्छ भने अर्को तिर सम्बधित महिलाहरुलाई बर्षौ देखि गुम्स्याईरहेको छटपटी भोगाई ब्यक्तागर्दा मन हलुको हुन्छ l बोझ कम्ति हुन्छ र साहस बृद्दी पनि हुन्छ भन्ने म मान्छु l तिमिलाइ कुनै दबाब होइन मेरो तर्फबाट तर यदि तिमीमा त्यस्तो केहि ब्यक्तगर्न , फुकाउन चाहिरहेको कुनै पाटो छ भने मलाइ शेयर गर l त्यसको साथै मलाइ एक राम्रो साथि मान्न सक्छ्यौ , आफ्ना दुख म संग बाँटन सक्छौ l अरु खास कुनै कारण होइन मैले तिमीलाई बोलाउनुमा l तिमि एकदम स्मार्ट छ्यौ l मलाई तिम्रो हाउभाउ तरिका मन पर्छ l”

अरु के के फत्फताएं कुन्नि शुभश्री एकाएक चंचलपनलाइ कतै थक्याएर अत्यन्त गम्भीर बनिसकेकी थिइ l “म्याम! मलाइ थाहा छ हजुर लेख्ने मान्छे भनेर l मलाई पनि हजुरले म प्रति राखेको चासोले खुसि बनाउछ l मैले नै हजुरलाई केहि कुरा भन्न खोजेको निकै भयो तर आँट आएकै थिएन l तर जब हिजो हजुरले त्यति भन्नु भयो अनि मैले साहस गरें l मेरोबारे जति हजुरलाई थाहा छ त्यति मात्रै म अवस्य होइन l म असल मा के हुँ र को हुँ भन्ने कुरो यो डायरीमा लेखेर राखेको छु l यो पढ्नुहोला l र लेख्न मन लागे लेख्नुहोला  l तर कृपया कतैपनि यो पात्र म हुँ भनेर नखुलाउनुहोला l  तर एक शर्तमा l

यदि यो डायरी पढीसकेर हजुरले मलाइ घृणा गर्नुहुन्न भने मात्र l किनकि यो पढेपछि हजुरको नजर म प्रति बदलिन पनि सक्छ जो म चाहन्न l”  त्यसबेला म अव्यक्त खुसि भएँ l मलाइ शुभश्री ले गरेको बिस्वास ले झनै भाबुक बनायो l मैले कसैगरी उसलाई घृणा नगर्ने र मेरो  लेखमा उसको प्रत्यक्ष जिकिर नगर्ने वाचा पछी अहिलेलाई यतिनै भन्दै हुत्तिएर बिदा भइ l निकै बेर त्यो याक चुरोटको पेटीको गाता  भित्र लुकेको थोत्रो डायरी मुसारिरहें मानौ कोलम्बसले लामो यात्रा पछी हठात् अमेरिका भेटाएका हुन् र त्यो कोलम्बस म आफैं हुँ l

साँझ डेरा फर्केर हात मुखै नधोई बिस्तारामा पल्टिएँ र बिस्तारै पल्टाएँ शुभश्रीको राज याने कि उसैको डायरी l डायरी खास दैनिकी लेखिएको थिएन l थियो त एक लामो न लामो संस्मरण थियो l

म शुभश्री l कस्तो राम्रो नाम! तर म कहिल्यै कसैकोलागी शुभ साबित हुनसकिन l पूर्बी नेपालको गाउँमा जन्मेर हुर्केपनि मैले पढ़नेलेखने वातावरण पाएको थिएँ l गरिब परिवारमा जन्मेपनि छोराछोरीलाइ पढाउने कुरो बाबाआमाको प्राथमिकता थियो l म आफैंलाई भाग्यमानि मान्थेl नौ कक्षा पुरा गरेकै दिनबाट मेरो जिन्दगी  बदलिन थाल्यो l मलाइ लाग्छ तब देखि म शुभश्री बाट अशुभ बनें हुँला l टाढाका आफन्तले मेरो बिहेको कुरो चलाए l

ठीकैको हुनेखाने परिवार, सभ्य र राम्रो खानदान, लायक केटो यस्तै यस्तै फतुर लाएर मेरो बिहेको लागि बाबाआमा लाइ राजि बनाएछन l एक त गरिबी अर्को हुर्केकी छोरी l हुर्केकी त के भन्ने भर्खर १५ लागेकी थिएँ तर गाउघरमा त्यो उमेर त्यसबेलाको लागि हुर्केकै हुन्थ्यो l छोरीलाई पनि पढाउनुपर्छ भन्ने मेरा बाबाआमाको आखामा आफन्तले त्यसबेला के त्यस्तो पट्टि लगाइदिए हुनन् , मेरो बिहेजस्तो कुरो मलाइ एकै वचनपनि नसोधी तय गरिदिए l म रोएँ, बिरोध गरें तर त्यसको केहि अर्थ थिएन l हतारोहतारो मै बिहे भयो र म जीवनमै पहिलोपटक त्यति टाढा काठमाण्डौ नजिकै एक गाउँमा नौली बुहारी बनेर भित्रिएँ l न त मलाइ बिहेको खुसि थियो न केहि उमंग l सुरुका केहि समय सामान्य नै बिते l

पछी थाहा लाग्यो मेरा दुलाहालाइ टीबी रहेछ l जुन कुरो मेरा माइतीलाई पनि ढाँटिएको थियो l तर समय गुज्रिसकेपछी  औषधि त बेकाम हुन्छ भने त्यो पक्रिएको झुटको के कुरा! गरिबमा मेरो घर माइतिभन्दा गरिब थियो l चार छोरा, तिन छोरी मध्ये म माहिली बुहारी l घर एक खालको कलहखाना झैँ लाग्थ्यो l सबै प्राणि कर्कस, झर्कोफर्को, बुहारी भनेको काम गर्ने मेसिन जस्तो l जिन्दगी ले सुम्पेको तितो यथार्थ संग दिन बित्त्दै थियो म गर्भवती बनें l दुखका पहाड झन् झन् चुलिंदै गयो l करकापमा जोडिएको नाता ले हो या के हो मलाई त्यो घर, परिवार र यहासम्मकि आफ्नै दुलाहाको पनि अन्तरहृदयदेखि कहिल्यै माया लागेन l यत्ति हो कि त्यो मेरो कर्म घर हो l म वफादार र जिम्मेवार हुनुपर्छ भन्ने सोच्थें बाँकी आफ्नोपन कहिल्यै कहिल्यै म मा पलाउन सकेन l

ति टीबी ले खटारो बनाइएका दुलाहा प्रति मेरो मानबिय समबेदना पक्कै थियो तर प्रेम थिएन l जुन दिन मेरो सहमति बिना मेरो बिहेको टुंगो लगाएर आफ्नो बोझ हल्का गर्दै मलाइ पराइको गाउँमा पठाइदिए त्यसदिन देखि मलाइ बाबाआमा समेत पराइ नै लाग्थ्यो l चाहेर पनि मैले त्यो अनिच्छित जिन्दगीसंग सम्झौता गर्न सकिरहेको थिइन तर त्यहि नै मेरो नियति थियो l छोरी जन्मी l केहि खुसि लाग्यो तर उसको भबिस्य आफ्नैसंगदाँजेर म संधै तर्सिन्थे l    

जीवन चल्दै थियो भनुँ चलाउने प्रयत्नमा थिएँ l त्यहि तिबिग्रस्त मेरा पति र म बीच कुनै सुमधुर सम्बन्ध स्थापित हुनैसकेन l उसलाई  आत्मग्लानी हुन्थ्यो या हिनताबोध या त जिन्दगी प्रति दिक्क ,,,तर त्यो सबैको भडास मेरो शरीरमा हिलैमैलै जुत्ता सहित लात्तीले बजाएर निकाल्ने गर्थ्यो सानो सानो निउमा l मलाइ थाहा थियो यो सब मैले सहनु जरुरि छैन l किनकि मेरो केहि दोष थिएन l ऊ गरिब थियो, रोगि थियो र थियो कर्कस सुकेको रुख जस्तो तर त्यो सबमा म कारण थिइन l सायद त्यहि नमिठो पनाले होला मैले कहिल्यै सम्बन्ध मिठो बनाउने रहर पनि गरिन l यस्तैमा एक दिन ढाँ कुट्न मेलमा जाँदा बाटोमा एक युवक भेटिए l ति अबिबाहित र शहरमा पढ्दै रहेछन l सामान्य चिनाजानी भयो l

केहि महिनाको लागि गाउँ फर्किएका ति युवक संग मेरो भेटघाट बाक्लिंदै गयो l तिनले मेरो बारे सब सोधीखोजी गरिसकेपछि पनि निक रुची र सम्मान देखाइरहे l मलाइ लाग्यो मेरो प्रेम त्यहि युवक हुन सक्छन न कि मेरो रुखो रोगि पति l तिनले एक साँझ म र मेरो छोरी लाइ लिएर शहर जाने र बाँकीको जिन्दगि संगै बिताउने भनेपछि मैले आखा चिम्लेर हुन्छ भनिदिएँ l मलाइ थाहा थियो मैले गलत गर्दैछु तर नचाहेको, कामना नगरेको , सपनै नदेखेको रुखो रोगि संग चुपचाप जिन्दगि बिताउनु भन्दा कामना र सपनाको मान्छे संग रुँदै हाँस्दै बाँच्नु उचित सम्झेर एक रात चुपचाप छोरी बोकेर तिनै मायालु संग शहर पसें l

त्यसपछि मलाइ र मेरा मायालु ‘प्रतिक’ लाइ यो गन्दे र अन्धो समाजले भयानक गालि र घृणा दियो l प्रतिक त आफ्नै परिवारबाट बहिस्कृत नै भए l तर मलाइ खास नमिठो लागेन न त पश्चाताप नै भयो l जिन्दगी मा सम्झौता या आवेग को नाममा  श्रीमती गिंडने या जलाउने यहि समाजका लोग्ने मान्छे हुन l रात दिन पिटेर कुटेर कसैको जीवनको मूल्य नदेख्नेहरुको माझमा मैले मन नपरेपनि कहिल्यै कसैलाई कुटिन , पिटिन, जलाइन l कुनै बहानामा मैले हिँसा गरिन l न त आफ्नो बाध्यतामा सन्तानको घांटी दबाउने आमाहरु जस्तो केहि गरें l आफ्नो लामो जिन्दगीको लागि स्वेच्छाले रोजेको मायालु संग आफ्नो मुटुको टुक्रा छोरी बोकेर चुपचाप हिंडीदिएँ त के अपराध गरें ?

हो मैले यस्तो सोचेर आफुलाई बलियोबनाइ रहें l

अब त प्रतीक को  पनि बढुवा भएको छ जागिरमा l छोरी कृसा स्कुल पढ्न थालि l प्रतिक कति मायालु र सहनशील छ ,,,,आज उसैको मायाले मैले र मेरी छोरीले पुनर्जीवन पाएका छौं l समय घर्किन कति बेर! अब १२ पास गर्ने बितिकै म यो भन्दा राम्रो काम गरुँला l अनि त जिन्दगी चलिहाल्छ नि ! भो अब मलाइ  पछाडी फर्केर त्यो कालो समय सम्झनु छैन l तर यत्ति याद आउँछ कि अझै पनि त्यो समाजले मलाइ ‘पोइल गएकी’ भनेर नाक खुम्च्याउन छोडेका छैनन् l र बिर्सिन सक्दिन ,,,त्यो सारा उकुसमुकुस गुम्फन  जिन्दगीबाट निस्सासिएं निस्सासिएँ र अन्तत: म पोइल हिंडें l 

अबेर साँझ डायरी पढिसकें तर मन रंथन्नीरह्यो रातभर र आखामा फ्ल्यास्ब्याक भैरह्यो  शुभश्रीको कहानी, ति शान्त तर चंख आँखाका रहस्य अनि डायरीका अन्तिम वाक्य,”…र अन्तत: म पोइल हिंडेंl”