रुकुमबाट प्रचण्डको गर्जनः नेपालमा दिउँसै रात पार्ने काम हुँदैछ, जागौँ जनता (भिडियो सहित)

  

काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा दिउँसै रात पार्ने काम भएकाले जनतालाई सचेत हुन आग्रह गर्नुभएको छ । रुकुमको सल्लेबजारमा बुधबार आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले मुलुकमा भइरहेका विभिन्न षड्यन्त्रविरुद्ध जनता जाग्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, 'यहाँ दिउँसै रात पार्ने जस्ता कुरा हुन थाले । जनता सबैतिर जागरुक हुनुपर्‍यो, जनता सबै उठ्नुपर्‍यो, ।' मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास र समृद्धिमा केन्द्रित हुन सकियोस् भनेर आफ्नै प्रस्तावमा कम्युनिस्ट पार्टी एकता गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति, संविधान सबैलाई कुल्चिएको उहाँको आरोप छ ।

कम्युनिष्ट एकताभंग गराई एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलाको पक्षमा आफूहरु नरहेपनि त्यसलाई मानेरै अगाडि बढ्ने उहाँको भनाई छ । यस्तै अध्यक्ष प्रचण्डले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्न धेरै ठूलो संघर्ष, बलिदानी र मेहनत गरेको भन्दै त्यसको रक्षा गर्न आफू तत्पर रहिरहने बताउनुभयो ।